Pokharapatra National Daily

‘ड्रागन बोट रेस फेस्टिभल’ नेपाल–चीन सम्बन्धमा नयाँ सुत्रपातः पर्यटनमन्त्री किराती

संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किराँतीले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको बताउनुभएको छ । फेस्टिभलले दुई देशबीचको सम्बन्धमा थप इट्टा थपेको उहाँले बताउनुभयो ।
नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दुतावास र पोखरा महानगरको आयोजनामा पोखरामा आजदेखि सुरु भएको नेपाल—चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’को उद्घाटन गर्दै उहाँले दशकौँदेखिको सम्बन्ध हालसम्म सुमधुर रहँदै आएको बताउनुभयो । पर्यटकीय नगरी पोखरामा आयोजित मैत्रीपूर्ण यस महोत्सवले दुई देशबीचको सांस्कृतिक र जनस्तरको सम्बन्धलाई समेत थप प्रगाढ बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले चीनसँग सम्बन्ध बलियो बनाउन फेस्टिभलले नयाँ सुत्रपात निर्माण गरेको भन्दै चिनियाँ नागरिकलाई नेपाल घुम्न आउन आग्रह गर्नुभयो ।
“आदरणीय चिनियाँ नागरिकलाई म नेपाल घुम्न आउन निम्तो गर्न चाहन्छु, नेपालमा तपाईहरूलाई स्वागत र सम्मान गर्न हामी आतुर छौँ”, मन्त्री किरातीले भन्नुभयो, “तपाईंहरू नेपाल घुम्न आइदिनुहोस् ।” मन्त्री किरातीले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको समेत स्पष्ट पार्नुभयो । इतिहासमा चीन र भारतको व्यापारिक नाका रूपमा स्थापित पोखरामा भव्यरूपमा महोत्सवमा ड्रागन बोट फेस्टिभल सम्पन्न हुन लागेको उहाँको भनाइ छ । नेपालका लागि चिनियाँ राजदुत छन् सोङले नेपाल र चीनबीच लामो समयदेखि आर्थिक सामाजिक तथा सांस्कृति सम्बन्ध रहेको बताउँदै ‘ड्रागन बोट रेस फेस्टिभल’ दुईदेशबीचको आपसी सम्बन्ध एवं जनस्तरको सम्बन्ध अझै बलियो बन्ने विश्वास व्यक्त गर्नुभयो । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले ‘ड्रागन बोट रेस फेस्टिभल’ पोखरामा हुनुलाई आफूहरूले महत्वपूर्ण रूपमा लिएको बताउँदै यसले आगामी दिनमा पोखरामा चिनियाँ पयर्टकको आगमन बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा समेत महोत्सवलाई निरन्तरता दिने जानकारी गराउनुभयो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले फेस्टिभलले पोखरा मात्र नभई समग्र नेपालकै पर्यटनमा टेवा पुग्ने बताउनुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले नेपालमा पहिलोपटक आयोजना गरिएको यस प्रकारको कार्यक्रमले समग्रमा पर्यटनमा नयाँ आयाम थप्ने तथा पोखराको पर्यटनलाई थप चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो । दक्षिण एशियामा पहिलो पटक आयोजना गरिएको यो महोत्सवले नेपालको विश्वभर प्रवद्र्धन एवं यसबाट भविश्यमा अझै बढी चिनियाँ पाहुना ल्याउन सहयोग पुग्ने उहाँको भनाइ छ । नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आज र भोलि दुई दिन बोट रेस तथा फेस्टिभलको आयोजना गरिएको हो ।
यसैगरी पहिलो दिनको खेलबाट ४ टोली फाइनल चरणमा प्रबेश गरेका छन् । नेपालका ४ र विदेशका ४ गरी ८ टिम बिच शुक्रबार भएको दुई चरणको प्रतिष्प्रर्धाबाट २ टोली नेपालका र २ टोली चाइनाको फाइनल चरणमा प्रबेश गरेका हुन् । सिचुवाङ ड्रागन समुह, युनान ड्रागन समुह र नेपालको नेपाल र्याफ्टीङ एण्ड क्यानोइङ एशोसियसन (एनआरसीए) र नेपाल एसोसियसन अफ र्याफ्टीङ एजेन्सिज (नारा) फाइनल चरणमा प्रबेश गरेको प्रतियोगिताका प्राविधिक प्रमुख मिन बहादुर मगरले बताउनु भयो । आज २ सय र ५ सय मिटरको दुई÷दुई चरणको प्रतिष्प्रर्धा भए पनि दुबै तर्फको विधामा ४ टोली नै छनौट भएको उहाँले बताउनु भयो । २ सय मिटरमा सिचुवाङले १ मिनेट ४८ सेकेण्ड र ५ सय मिटरमा भने ४ मिनेट ३८ सेकेण्डमा उक्त दुरी पार गर्दै फाइनल चरणमा यात्रा बनाएको हो । त्यसै गरी नाराकोले २ सय मिटरको दुरी १ मिनेट ५३ सेकेण्डमा पार गरेको थियो भने ४ मिनेट ४७ सेकेण्डमा ५ सय मिटरको दुरी पार गर्दै फाइनल चरणमा यात्रा सुनिश्चित गरेको हो । यूनानको टोलीले २ सय मिटरको दुरी १ मिनेट ५५ सेकेण्डमा र ५ सय मिटरको दुरी भने ४ मिनेट ५३ सेकेण्डमा पार गर्दै फाइनल चरणा यात्रा पक्का गरेको हो । एनआरसीएले २ सय मिटरको दुरी १ मिनेट ५६ सेकेण्डमा र ५ सय मिटरको दुरी ५ मिनेट २ सेकेण्डमा पुरा गरी फाइनल चरणमा प्रबेश गरेको हो । चाइना नेपाल फ्रेण्डसिप, पोखरा महानगरपालिका, सिंगापुरको जि.एस.ड्रागन समुह र फेवा डुंगा व्यवसायी संगठनको टिम पहिलो दिनको प्रतिष्प्रर्धाबाट बाहिरिएका हुन् । प्रतियोगितामा विजेता हुने टिमलाई जनही ५ लाख ५० हजार पुरस्कार प्रदान गरिने भएको पोखरा महानगरका पर्यटन बिकास समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलले बताउनु भयो । उक्त प्रतियोगितामा पुरस्कारको लागि मात्र नगद ३० लाख खर्च हुनेछ । प्रतियोगितामा सहभागि सबै प्रतिष्प्रर्धी टिमलाई पुस्कारको व्यबस्था गरिएको उहाँले बताउनु भयो । ‘ड्रागन बोट रेस’ मा ड्रागनजस्तै देखिनेगरी बनाइएको डुङ्गा अगाडि बसेर एक जनाले ड्रम बजाउँछन् । सोही ड्रमको तालमा १० जनाले डुङ्गा खियाउँछन् र पुछारमा बस्ने एक जनाले डुङ्गाको दिशा मिलाउँछन् ।

प्रतिकृया दिनुहोस्