Pokharapatra National Daily

पोखरामा ‘ल्याण्डफिल साइट’ पुर्न सुरु

पोखरा महानगरपालिकाले पोखरा—१४ बाच्छेबढुवामा रहेको ‘ल्याण्डफिल साइट’मा फोहरमैला फाल्न आइतबारदेखि बन्द गरेको छ ।
अङ्ग्रेजी नयाँ वर्ष अर्थात् आगामी पुस १७ देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि महानगरले विमानस्थल नजिकै रहेको ल्याण्डफिल साइटमा फोहरमैला लैजान बन्द गरेको हो । अहिले ल्याण्डफिल साइट पुर्ने काम सुरु भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि एयरपोर्ट नजिकैको सो ल्याण्डफिल साइट मुख्य बाधक बनेको थियो ।
ल्याण्डफिल साइटका कारण विमानस्थल सञ्चालनमा ढिलाइ भएपछि महानगरले लामो समयदेखि फोहरमैला व्यवस्थापनका लागि वैकल्पिक स्थानको खोजी गरे पनि सफल हुनसकेको छैन ।
विमानस्थलको अर्को अवरोधका रुपमा रहेको रिठेपानीडाँडा कटानको कामसमेत अहिले भइरहेको छ । सोही डाँडा कटानको माटो ल्याएर अहिले ल्याडफिल साइट पुर्न सुरु गरिएको हो ।
महानगरले ल्याण्डफिल साइटमा फोहर लैजान बन्द गरेर त्यसलाई पुर्न सुरु गरिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार महानगरको फोहरमैला व्यवस्थापनका लागि तत्कालका लागि वडामानै अल्पकालीन व्यवस्था मिलाइएको छ ।
“ल्याण्डफिल्ड साइटमा आजदेखि फोहर फालिने छैन । तत्कालका लागि फोहर व्यवस्थापनका गर्न महानगरका विभिन्न वडामा अल्पकालीन व्यवस्था मिलाइएको छ”, प्रमुख आचार्यले भन्नुभयो, “फोहरमैला व्यवस्थानका लागि केही ठाउँ हेरिएको छ भने त्यसपछि प्रशोधन केन्द्रसहितको व्यवस्थित ल्याण्डफिल साइट निर्माण गरिनेछ ।”
प्रशोधन केन्द्र स्थापनाका लागि हाल विभिन्न विकल्पमा छलफल भइरहेको महानगरले जनाएको छ । महानगरले छिमेकीमूलुक भारतसहित देशभित्रका विभिन्न स्थानमा पुगेर फोहर व्यवस्थापनका उपायका बारेमा जानकारी लिएको थियो ।
लामो समयदेखि विमानस्थल सञ्चालनका अवरोधका रुपमा रहेका रिठ्ठेपानीडाँडा कटान र ल्याण्डफिल साइट हटाउने काम भएपछि तोकिएकै मितिमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने विश्वास गरिएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयका प्रवक्ता अनुप जोशीले विमानस्थल सञ्चालनका लागि आवश्यक काम भइरहेको जानकारी दिनुभयो । उहाँले ४० मिटर अग्लो रिठ्ठेपानीडाँडा १४ मिटर काटिसकिएको र बाँकी अवधिमा सबै काम सम्पन्न हुने र ल्याण्डफिल साइट हटेसँगै उडानमा थप सुनिश्चितता भएको बताउनुभयो ।
पोखरा विमानस्थल चिनियाँ कम्पनी सिएएमसिईले निर्माण गरेको हो । यसअघि गतवर्ष चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यसबेलमा विमानस्थलको केही काम सम्पन्न हुन बाँकी थियो ।
चीनको एक्जिम बैंकको रु २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । विमानस्थलका लागि विसं २०३२ मा जमिन अधिग्रहण गरिए पनि चार दशकपछि निर्माण सुरु भएको थियो । विसं २०७३ मा विमानस्थलको शिलान्यास गरिएकोमा विसं २०७४ देखि निर्माणकार्य सुरु भएको हो ।
पोखरा महानगरपालिकाले तत्कालका लागि फोहोरको व्यवस्थापन गर्न विभिन्न वडाहरूमा अल्पकालीन व्यवस्था मिलाइएको जनाएको छ ।
पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमिल्सीनाका अनुसार तत्कालका लागि क्षेत्रगत रुपमा फोहोर व्यवस्थापन गर्ने निर्णय महानगरले गरेको छ । महानगर कार्यपालिकोे गरेको निर्णयमा लेखनाथ क्षेत्र हेम्जाको लागि हेम्जा, विरौटाको लागि छोरेपाटन लगायत पोखरामा फाल्न मिल्ने खोल्सा खोल्सी रहेका छन् ।
दिर्घकालीन समयको लागि सम्भावित ठाउँमा वातावरण अध्ययनको लागि प्राविधिक समिति गठन गरिएको प्रवक्ता तिमिल्सिनाले जानकारी दिनुभयो । त्यसैगरी वडा नं ३३ का अध्यक्ष रामचन्द्र अधिकारी र दलका नेता तथा प्राविधिक रहेको समिति चयन गरिएको छ जसले दिर्घकालीन रुपमा ल्याण्ड फिल्ड साइडको खोजी गर्ने छ ।
सो समितिले प्रशोधन केन्द्र स्थापनाका लागि समेत विभिन्न विकल्पहरूमा अध्ययन गर्ने छ । विभिन्न मुलुकहरूमा फोहोरबाट बायो ग्याँस, विद्युत्, प्राङ्गारिक मल, पाइपजन्य उत्पादन, फर्निचर लगायत विभिन्न सामाग्रीहरू समेत उत्पादन गरिरहेको पाइएकाले पोखरामा पनि यी मध्ये कुनै न कुनै विकल्पलाई व्यवहारिक रूपमा प्रयोगमा ल्याउने तयारी महानगरले गरिरहेको छ ।
महानगरले तत्कालका लागि राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भैसकेको र सञ्चालनका लागि अन्तिम तयारी भइरहेको भन्दै यस अवस्थामा फोहोर व्यवस्थापनका लागि चालेका कदमहरूमा आवश्यक सहजीकरण सहित सहयोगका लागि आम नगरवासी सहित सम्बन्धित सरोकारवालाहरूमा अनुरोध समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्