
संगीत केवल मनोरञ्जनको माध्यम होइन, समाज रुपान्तरणको शक्तिशाली आवाज पनि हो । यस्तै सन्देश बोकेर सत्य युवा क्लब बि १३ले पोखरा महानगरपालिका वडा नं १३ स्थित भद्रकाली चोकमा आगमी १९ गते म्युजिकल फेस्ट २०२५ गर्ने भएको छ । क्लबको यो प्रयास केवल मञ्चमा गुञ्जिने स्वर होइन, जीवनमा परिवर्तन ल्याउने स्वर हो । शिक्षा, स्वास्थ्य र खेलकुदको विकासका लागि यो ताल र स्वरको यात्रा सुरु सागीतिक कार्यक्रमवाट गर्न लागेको हो ।
वि.स.२०४६ सालमा स्थापना भएदेखि नै सामाजिक उत्तरदायित्वमा सक्रिय क्लबले बुधवार २० औं म्युजिकल फेस्ट प्रस्तुत गर्दै छ । १९ औं पटकसम्म कालरात्रीको दिनलाई छोपेर भव्य र सव्य कार्यक्रम गरिसकेको छ । यस पटक देशको परिस्थिति अनुकुल नभएको कारण तीहार पछिको पुर्णिमाको दिन मिति तय भएको हो । ‘संगीतमा समाज’ नाम दिइएको कार्यक्रममा चर्चित कलाकारहरूका प्रस्तुति, युवाहरूको जोश र सहयोगी मनहरूको सहभागितामा पोखरा नै गुञ्जिने छ । क्लवका अध्यक्ष हितमान गुरुङ भन्छन्– “हामीले मनोरञ्जनका नाममा होइन, योगदानका नाममा कार्यक्रम गर्दैछौं । हाम्रो सानो प्रयासले धेरै बालबालिकाको भविष्य उज्यालो बनाउन सक्छौं भन्ने विश्वास छ ।”कार्यक्रमको खर्च कटाएर बचत रकम विद्यालयमा छात्रवृत्तिदेखि खेल मैदान सुधार, स्वास्थ्य शिविर सञ्चालन, सल्लाघारी डाँडामा पार्क निर्माण लगायत आवश्यकता अनुसार समाजमा आइ पर्ने हरेक समस्यामा मलाम लगाइने छ । क्लव स्थापनादेखी युवाहरूको जोश, स्वर र सामाजिक चेतनाको लयमा यो क्लबको यात्रा अघि बढ्दै आज २० औं फेस्ट गर्न लागिएको अध्यक्ष हितमानले पोखरापत्रलाई वताए ।
क्लवको यो सांगीतिक अभियानले प्रमाणित गरिदिएको छ– जव स्वरमा भावना मिसिन्छ, तव गीत पनि परिवर्तनको शक्ति बन्छ । अध्यक्ष गुरुङका अनुसार सांगीतिक साँझमा जोन एण्ड दि लोकल्स ड्रिर्मज, शैलु राई लगायतको प्रस्तुती रहने छ । उक्त कार्यक्रमका लागि टिकट शुल्क प्रि–सेल एक हजार र डोर–सेल एक हजार पाँच सय रुपैयाँ तोकिएको छ । उक्त कार्यक्रमका लागि बाझापाटन (बि १३) हङकङ, युके, युएसए, फ्रान्स, पोर्चुगल, युएई, क्रोशिया, पोल्याण्ड, मकाउ र जापानको सहयोग रहेको छ । रोजगारको शिलशिलामा विदेश पुगेका युवाहरुले आफ्नो ठाउँको विकासका लागि विदेशमा समेत शाखा स्थापना गरि हरेक वर्ष विभिन्न सामाजिक कार्य गर्दै आइरहेको अध्यक्ष गुरुङले पोखरापत्रलाई बताए । उता पोखराका समाजसेवी देखी विभिन्न संघसंस्थाहरुवाट स्वतस्फुर्त सहयोग आइरहेको अध्यक्ष गुरुङले पोखरापत्रलाई भने । पहिलो सागीतिक कार्यक्रम साथीहरुको सहयोगमा दिपक गुरुङ मइलाले भद्रकाली स्कुल अगाडिको खुल्ला चौरमा काठको मोडा पन्छाएर सुरु गरिएको कार्यक्रमको स्मरण गर्दै आज प्रविधि मैत्री तरिकाले गर्न लागिएकोमा पोखरापत्रलाई खुशी साटे । गीतको लयमा झुमेको त्यो साँझ केवल मनोरञ्जनका लागि मात्र होइन, त्यो साँझले एउटा सन्देश दिने माइलाले भने । मनोरञ्जन पनि समाज परिवर्तनको उत्तम माध्यम बन्नेमा माइलाको जोड छ । गत वर्षका सागीतिक साँझ भन्दा अझ यस वर्ष प्रविधिको धेरै प्रयोग सँगै शन्ति सुरक्षाको राम्रो व्यवस्था गरिएको क्लवका अध्यक्ष गुरुङले पोखरापत्रलाई बताए ।
 





