Pokharapatra National Daily

स्याङ्जा डेंगु रोगको जोखिममा, २० जनामा देखियो डेंगुको लक्षण

-श्रीकृष्ण सिग्देल, २७ भदौ, स्याङ्जा
विभिन्न जिल्लामा देखिदै आएको डेंगु रोगको लक्षण स्याङ्जामा पनि देखिन थालेको छ । स्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार अहिले सम्म डेंगु रोगको लक्षण २० जनामा देखिएको छ । यसको संख्या बढ्न सक्ने अनुमान स्वास्थ्यकर्मीहरुले लगाएका छन् ।
डेंगु रोगको लक्षण सबैभन्दा बढी गल्याङ् नगरपालिकामा देखिएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख बसुन्धरा शर्माले बताईन् । उनका अनुसार गल्याङ्मा १५, चापाकोटमा ३ र वालिङमा २ गरी २० जनामा डेंगुका लक्षण भएका बिरामी भेटिएको जानकारी दिइन् । पालिकाहरुमा डेंगु रोगका लक्षणहरु देखिन थालेपछि स्याङ्जाबासीलाई यसबाट बच्न सचेतना अभियान शुरु गर्न लागिएको शर्माको भनाई छ । परिक्षणका लागि किटको अभाव छ शर्माले भनिन्,‘विगतका बर्षहरुमा झै बजेट यो पटक प्राप्त हुन सकेन, आर्थिक अभावले किट खरिदमा समस्या भएको छ ।’ प्रयाप्त सहयोग विभागबाट नहुँदा कार्यालयलाई सेवा प्रवाहमा अलि कठिनाई भएको शर्माले बताईन् । केही किटको केन्द्रीय तवरबाट सहयोग भएको छ तर त्यो पनि प्रयाप्त छैन शर्माले भनिन् । जुन पालिका समस्या देखिएको सोही पालिकालाई अनुरोध गरेर किटको व्यवस्थापन गर्न अनुरोध गरेको उनको भनाई छ । डराईहाल्नु पर्ने अवस्था नभएपनि सर्तक भने रहनुपर्ने प्रमुख शर्माले सुझाईन् । यसबाट सबै भन्दा बढी बालबच्चा, दिर्घरोगी, रोगप्रतिरक्षा शक्ति कमजोर भएकालाई अलि जटिल हुने स्वास्थ्य कार्यालयले जनाएको छ । टाउको दुख्ने, एक्कासी ज्वरो आउने, आँखाको पछाडीको भाग दुख्ने, मांसपेशी हाडजोर्नी दुख्ने, बिमिरा आउने जस्ता देखिएमा डेंगु रोगको लक्षण हुनसक्ने स्वास्थ्य कार्यालयको भनाई छ । यस्तो देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा पुग्नुपर्ने कार्यालयको भनाई छ । डेंगु रोग देखिएका बिरामीहरुको केही पोखरा, काठमाण्डौ उपचार भएपनि अधिकांशको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । जिल्लामै सबैभन्दा बढी उच्च बिरामी गल्याङ्मा देखिएकाले गल्याङ् नगरपालिका र स्वास्थ्य कार्यालयको सहकार्यमा ठाँउ ठाँउमा सचेतना अभियान शुरु गरिएको नगर प्रमुख गुरुप्रसाद भट्टराईले बताए । जहाँ बढी जोखिम देखिएको छ त्यस्तो ठाँउमा संघिय र प्रदेश सरकारले सहयोग नगरेको गुनासो नगर प्रमुख भट्टराईको छ । नगरपालिकाकै खर्चमा डाक्टर राखेर सेवा दिइरहेका छौं नगर प्रमुख भट्टराईले भने,‘अहिले सम्म संघिय र प्रदेश सरकारले एक जनापनि डाक्टर पठाउन सकेका छैनन् ।’ अन्य पालिकामा डाक्टर पठाईदिने विभागले गल्याङ् नगरपालिकामा अहिले सम्म डाक्टर नखटाईदिनु दुखद पक्ष रहेको उनले बताए । पटक पटक स्वास्थ्य विभाग सगँ डाक्टर पठाईदिन अनुरोध गर्दै नगरपालिकाको सिमित साधनश्रोत परिचालन गरि यो रोग विरुद्धको अभियानमा नगरपालिका लागिरहेको उनले बताए । नगरको स्वास्थ्य शाखाको अगुवाईमा टोल—टोलमा सरसफाई देखि सचेतना फैलाउदै आएको उनले जानकारी दिए ।
ग्रामिण क्षेत्रमा भन्दा बढी यो शहरी बजार क्षेत्रमा डेंगु देखिएको तथ्याङ्क स्वास्थ्य सगँ छ । शहरी क्षेत्रमा एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको बृद्धिविकासको लागि अनुकुल बातावरण हुनेहुदा बढी जोखिम हुने वालिङ नगर स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए । पानी जम्ने ठाँउ जस्तै टायर, फुटेका सिसा, खाल्डाखुल्डी यस्ता ठाउँहरु घरवरपर छन् भने तुरुन्तै सरसफाई गर्न पाण्डेले सुझाए ।

प्रतिकृया दिनुहोस्