Pokharapatra National Daily

फागुन ६ गतेदेखि पोखरामा केवलकार संचालनमा आउने

पोखरामा नयाँ पर्यटकीय गन्तव्य थपिएको छ । पछिल्लो समयमा पुम्दीकोट बिशाल महादेवको मुर्तिले चर्चा पाएको अबस्थामा पोखरामा मानव निर्मित अर्को नयाँ पर्यटकीय गन्तव्य केवलकार संचालनमा आएको छ ।
अन्नपूर्ण केवलकार व्यवसायीक रुपमा यही फागुन ६ गतेदेखि संचालनमा आउने भएको मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अन्नपूर्ण केवलकारका निर्देशक एवं संचालक तिर्थराज त्रिपाठीले जनाए । यही फागुन ६ गते देखि उक्त केवलकारको सफ्ट ओपनिङ हुने भएको बताएका उनले फेवातालको किनार सेदीबगरबाट ८ देखि ९ मिनेटमै सराङकोट डाडाँमा पुग्न जनाए ।
नेपालीहरुको लागि केवलकारमा जाने र आउने शुल्कः ७ सय रुपैया निर्धारण गरिएको कम्पनीले जनाएको छ । त्यसै गरी सार्क राष्ट्रका पर्यटकलाई ८ सय र अन्य विदेशीहरुलाई भने ८ डलर शुल्क निर्धारण गरिएको त्रिपाठीले जनाए । अहिले फेवाताल क्षेत्रबाट सराङकोट जान गाडीबाट करिब ४५ मिनेट लाग्छ । ज्येष्ठ नागरिकको लागि ५० प्रतिशत र बिद्यार्थीहरुको लागि २५ प्रतिशत छुटको व्यबस्था गरिएको निर्देशक त्रिपाठीले जनाए । केही दिन अघिको सफल परिक्षण पछि फागुन ६ देखि व्यवसायीक रुपमा उक्त केवलकार संचालन गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ । १३ बर्षको आफ्नो सपना हाल सहाकार भएको बताउदै त्रिपाठीले जग्गा बिबाद, कोरोना सहितको प्राविधिक कारणले गर्दा उक्त केवलकार संचालनमा आउन समय लागेको बताए ।
जापानीज निपुन केवलका टिम लिडर ओचीआईको नेतृत्वमा ७ सदस्य टोली हालै उक्त केवलकारको सफल परिक्षण गरेसंगै व्यवसायीक रुपमा संचालन गर्न लागेको त्रिपाठीले जनाए । उक्त परियोजनाका प्राविधिक इन्चार्ज डि.एन.कायस्थले उक्त केवलकार अत्याधुनिक प्रविधि जडान भएकोले सुरक्षाको दृष्टिले निकै मजबुद भएको दाबी गरे । उक्त परियोजनामा हाल करिब २ अर्ब लगानी भएको निर्देशक त्रिपाठीले बताए । २.४ किलोमिटर दुरीमा हाल १८ वटा टावर रहेकाछन भने एक सामान वोक्ने सहित १८ वटै गुण्डला (डिब्बा) जडान भएको जनरल म्यानेजर दिनेश पौडेलले बताए । प्रति डिब्बामा ८ जनाको सिट क्षेमता रहेको छ भने प्रति घण्टा ५ सय जना यात्रु ओहोर दोहोर गर्न सकिने भएको उनले जनाए ।
उक्त कम्पनीले पूर्ण व्यावसायीक रुपमा केवलकार संचालन भएसंगै ८० जनालाई प्रत्यक्ष रुपमा रोजगार दिने भएको छ । पोखराको फेवाताल किनारा र सराङकोटलाई जोड्ने गरी पोखरामा पर्यटनको नयाँ प्रोडक्टको रुपमा आफुहरुले विकसित गर्न खोजिएको त्रिपाठीले बताए । उक्त केवलकारमा करिब ३६ वटा भन्दा बढी डिब्बा क्षेमताको भएको उनले जनाए । केबलकारमा युवा व्यवसायि कालु गुरुङ सहितका नेपाली व्यवसायी, पूर्व जापानी नागरिक टाकासी मियाहारा र स्थानीयको लगानी रहेको प्रालिले जनाएको छ । अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष कालु गुरुङ रहेका छन्। केबलकार निर्माणको जिम्मा चितवन कोई समूहले पाएको हो । नेपालमा सञ्चालनमा रहेका मनकामना र चन्द्रागिरी केबलकार जस्तै भएपनि यो केबलबार नयाँ प्रविधि प्रयोग भएको अध्यक्ष गुरुङले बताउदै आएका छन् ।
माथिल्लो स्टेशन भवन सहित स्काई हेवन वेलुन रेष्टुरेन्ट, भ्यु टावर निमार्ण भएको छ भने तल्लो स्टेशनमा पार्किङ, गार्डेन सहितको संरचना निमार्ण भएको छ । स्टेशन निर्माण गर्ने बिषयमा पहिला स्टिल फेब्रिकेशन मोडल निमार्ण गर्ने लक्ष्य राखे पनि पछि आएर आरसिसि (कंक्रिट) मोडलमा निमार्ण गरेकोले लागत बढ्न गएको त्रिपाठीले बताए । उनका अनुसार तल्लो तथा माथिल्लो स्टेशनमा १५÷१५ रोपनी सहित करिब ७५ रोपनी जग्गा खरिद गरिएको छ । केबलकारमा यात्रा गर्दा हिमाल, फेवाताल, हरियो वन जंगल तथा पोखराको मनोरम दृश्यावलोकन गर्न सकिने त्रिपाठीले बताए ।

प्रतिकृया दिनुहोस्