Pokharapatra National Daily

बौद्धिक अपांगता भएकाहरूलाई रोजगार एवं सामाजिक सुरक्षा अनिवार्य दिनुपर्छः अध्यक्ष श्रेष्ठ

बौद्धिक अपांगता भएकाहरूलाई रोजगार एवं सामाजिक सुरक्षा अनिवार्य दिनुपर्ने बौद्धिक अपांगता अभिभावक संघ, कास्कीका अध्यक्ष राम नारायण श्रेष्ठले बताउनुभएको छ ।
मंगलबार संघको आयोजनामा भएको पत्रकार सम्मेलनमा श्रेष्ठले सो कुरा बताउनुभएको हो । उहाँले बौद्धिक अपांगता भएका व्यक्तिहरू स्वयं निर्णय लिन नसक्ने हुँदा सहयोगीको आवश्यकता पर्ने भन्दै सकेसम्म सरकारी पक्षबाट सुरक्षा दिओस् भन्ने अपेक्षा रहेको बताउनुभयो । सरकारले बौद्धिक अपांगता भएकाहरूलाई स्वरोजगारको लागि ऋण उपलब्ध गराउनको साथै विभिन्न सिपमुलक तालिमको व्यवस्था गरिदिएको खण्डमा जिविकोपार्जन गर्न सहज हुने भनाइ श्रेष्ठले राख्नुभयो । ‘सरकार बौद्धिक अपांगतामा जानकार छैन भन्न नै मिल्दैन,’ उहाँले भन्नुभयो,‘आवाज उठाउने कार्य भैराखेको र आश्वासन पनि पाइराखेका छौँ तर कार्यान्वयन भने भएको छैन् ।’ निम्नआय भएकाहरूको स्थिती निकै दयनीय रहेको भन्दै कोभिड–१९ को कारणले झन् दोहोरो मारमा परेको संघका उपाध्यक्ष प्रमिला श्रेष्ठ जोशीले बताउनुभयो । उहाँले सरकारबाट गरिएका निर्णयहरू कार्यान्वयनमा ल्याएपनि मात्र हामीलाई राहत पुग्ने भन्दै सामाजिक सुरक्षा भत्ता अत्यन्तै न्यून रहेको हुँदा सामान्य जिवनयापन गर्न पुग्ने भत्ता उपलब्ध गराउनुपर्ने बताउनुभयो । संघका सचिव कपिल प्रसाद अधिकारीले समाजमा बौद्धिक अपांगतासँग सम्बन्धित बिषयमा जनचेतना हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले यस्ता अपांगता भएकाहरूलाई बाहिर ल्याउने परम्परा कमै रहेको कारणले सबैलाई सम्पर्कमा ल्याउन कठिन रहेको तर पैरवी गर्ने कार्य भइरहेकोले यसलाई निरन्तरता पनि दिईराखेको बताउनुभयो । राज्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने अपांगता भएका व्यक्तिहरूको अधिकार सम्बन्धि महासन्धिहरूमा हस्ताक्षर गरेको तर कार्यान्वयन पक्ष भने फितलो रहेको संघले जनाएको छ ।
कास्की जिल्लामा बौद्धिक अपांगता भएकाहरूको भरपर्दाे तथ्यांक नभए पनि सि.वि.आर. स्थानीय नेटवर्क–कास्कीको अगुवाईमा जिल्ला बिकास समिति–कास्की, पोखरा उपमहानगरपालिका, महिला बिकास कार्यालय, कास्की लगायतको सहयोग एवं समन्वयमा यस बिषयमा अध्ययन गर्दा आ.व २०६६÷६७ मा कास्कीमा ७ सय १४ जना रहेका थिए ।

प्रतिकृया दिनुहोस्