Pokharapatra National Daily

पोखरामा केवलकार संचालन हुनु पूर्व परीक्षण हुदै

६ सयमा फेवाताल किनाराबाट सराङकोटमा

पोखरामा केवलकार संचालन हुने अन्तिम चरणमा पुगेको छ । अन्नपूर्ण केवलकार प्रा.लि.ले अबको केही दिनमा परिक्षण गरी नयाँ अग्रेजी महिना जनवरीदेखि केवलकार संचालनमा ल्याउने तयारी गरेको अन्नपूर्ण केवलकारका निर्देशक एवं संचालक तिर्थराज त्रिपाठीले बताए ।
केवलकारमा जडान भएका डिब्बा(गुण्डला) र टावरहरुको फिटिङ सहितको परीक्षण गर्नको लागि जापानबाट ७ सदस्य एक प्राविधिक टोलीले हाल धमाधम काम गर्दैै गरेको निर्देशक त्रिपाठीले बताए । जापानीज निपुन केवलका टिम लिडर ओचीआईको नेतृत्वमा ७ सदस्य टोली विगत एक साता देखि अन्नपूर्ण केवलकार संचालनको लागि हाल फिनिसिङको काम सहित अब परिक्षण गर्ने गरी तयारी सुरु गरेको उनले जनाए । निर्माण कम्पनीले म्याद थपेकोले र कोरोनाको कारणले गर्दा निर्धारित मिति भन्दा करिब ४ बर्ष ढिलो गरी हाल उक्त केवलकार संचालन हुने गरी केही दिनमै परिक्षण सुरु हुने भएको निर्देशक त्रिपाठीले बताए । उनले भने “अब हामीले अग्रेंजी नयाँ बर्ष जनवरीदेखि अनौपचारिक रुपमा केवलकार संचालन गर्ने छौं, फेब्रुअरी देखि व्यवसायीक रुपमै केवलकार संचालन हुने गरी तयारी समेत हामीले गरेका छौं ।” केबलकारमा यात्रा गर्दा हिमाल, ताल, हरियो वन जंगल तथा पोखराको मनोरम दृश्यावलोकन गर्न सकिने त्रिपाठीले बताए । केबलकार निमार्ण भए पछि फेवातालको किनार सेदीबगरबाट ८ देखि ९ मिनेटमै सराङकोट पुग्न सकिने उनले जनाए । अहिले फेवाताल क्षेत्रबाट सराङकोट जान गाडीबाट करिब ३० मिनेट लाग्छ । नेपालीहरुको लागि केवलकारमा जाने र आउने शुल्कः ६ सय रुपैया निर्धारण गरिएको कम्पनीले जनाएको छ । विदेशीहरुलाई १५ देखि २० प्रतिशतसम्म बढी शुल्क लिने र स्थानीय, विद्यार्थीहरु लगायतका लागि विषेश छुटको समेत व्यबस्था गनिरे भएको निर्देशक त्रिपाठीले जनाए । उक्त परियोजनाका प्राविधिक इन्चार्ज डिएन कायस्थले केही दिन पछि लोड परिक्षण गरी छिटै व्यवसायीक रुपमा संचालन गर्ने तयारी गरिएको बताए । अन्तराष्ट्रिय मापदण्ड अनुसार सवै प्रकारको चरण पार गरे पछि मात्र व्यवसायीक रुपमा संचालन गर्ने उनले जनाए । अत्याधुनिक प्रविधिमा आधारित इकुपमेन्टहरु जडान भएकोले पूर्ण सुरक्षित हुने प्राविधिक इन्चार्ज कायस्थले दाबी गरे । करिब डेढ बर्षमा निर्माण कार्य सकिने भनि उक्त केवलकारको शिलान्यास गरिए पनि पहिलाको डिजाइनमा स्टेशन सहितको भवन संरचना परिवर्तन हुनु, जग्गा खरिद गर्दा लगायतका कारणले उक्त परियोजनामा लगानी हाल करिब २ अर्ब पुग्ने भएको निर्देशक त्रिपाठीले बताए । २.४ किलोमिटर दुरीमा हाल १८ वटा टावर रहेकाछन भने एक सामान वोक्ने सहित १८ वटै गुण्डला (डिब्बा) रहेका छन् । प्रति डिब्बामा ८ जनाको सिट क्षेमता रहने छ । उक्त कम्पनीले हाल करिब २५ जनालाई रोजगार दिदै आएको छ भने व्यावसायीक रुपमा केवलकार संचालन भएसंगै ८० जनालाई प्रत्यक्ष रुपमा रोजगार दिने भएको छ । पोखराको फेवाताल किनारा र सराङकोटलाई जोड्ने गरी पोखरामा पर्यटनको नयाँ प्रोडक्टको रुपमा आफुहरुले विकसित गर्न खोजिएको त्रिपाठीले बताए । उक्त केवलकारमा करिब ३६ वटा भन्दा बढी डिब्बा क्षमताको भएको उनले जनाए । केबलकारमा युवा व्यवसायी कालु गुरुङ सहितका नेपाली व्यवसायी ७५ प्रतिशत, पूर्व जापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीय को १० प्रतिशत लगानी रहेको प्रालिले जनाएको छ ।
अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष कालु गुरुङ रहेका छन् । केबलकार निर्माणको जिम्मा चितवन कोई समूहले पाएको हो । नेपालमा सञ्चालनमा रहेका मनकामना र चन्द्रागिरी केबलकार जस्तै भएपनि यो केबलबार नयाँ प्रविधि प्रयोग भएको अध्यक्ष गुरुङले बताउदै आएका छन् ।
माथिल्लो स्टेशन भवन सहित स्काई हेवन वेलुन रेष्टुरेन्ट, भ्यु टावर निमार्ण भएको छ भने तल्लो स्टेशनमा पार्किङ, गार्डेन सहितको संरचना निमार्ण भएको छ । स्टेशन निर्माण गर्ने बिषयमा पहिला स्टिल फेब्रिकेशन मोडल निमार्ण गर्ने लक्ष्य राखे पनि पछि आएर आरसिसि (कंक्रिट) मोडलमा निमार्ण गरेकोले लागत बढ्न गएको त्रिपाठीले बताए ।

प्रतिकृया दिनुहोस्