Pokharapatra National Daily

प्रगतिशील लेखकले जनताको पक्षमा लेखौंः प्रा.डा.गिरी

प्रगतिशील लेखक संघ (प्रलेस) नेपालका अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीले प्रगतिशील लेखक संघ (प्रलेस)लाई व्यवस्थित रुपमा अघि बढाउन आ–आफ्नो ठाउँमा प्रगतिशील लेखकहरूलाई जुट्न अपिल गर्नुभएको छ ।
प्रलेस, गण्डकी प्रदेशले शनिबार आयोजना गरेको आफ्नो मुखपत्र “गण्डक आलोक”को सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रा.डा. गिरीले आलोचनात्मक चेतका साथ कलम चलाउन प्रगतिशील लेखकहरूलाई आग्रह गर्नुभयो । सो अवसरमा उहाँले राज्यका गलत रवैयाको विरोध गर्दै न्यायका पक्षमा र जनताका पक्षमा कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।
पृथ्वीनारायण क्याम्पस, पोखराका पूर्व क्याम्पस प्रमुख गेहेन्द्रेश्वर कोइरालाले प्रगतिशील साहित्यको विकासमा लेखकहरूको एकताबद्ध प्रयास जरुरी रहेको बताउनुभयो । त्यस्तै, प्रगतिशील समालोचक प्रा.डा. भवानीप्रसाद पाण्डे “भाष्कर”ले दलाली साहित्यको कुनै अर्थ नरहेको भन्दै आलोचनात्मक चेतसहितको साहित्यले मात्र समाजलाई प्रगतिशील बाटोमा लैजान सक्ने धारणा राख्नुभयो ।
मुखपत्र “गण्डक आलोक” माथि प्रलेसका पूर्व केन्द्रीय उपाध्यक्ष डा. कृष्णराज अधिकारी, प्रा.डा. यदुनन्दन उपाध्याय र मुक्तिनाथ घिमिरेले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा ज्योति भट्टचन, नन्दप्रसाद महतो, हनिफ मियाँलगायतले क्रमशः थकाली, थारू, उर्दू, मगरलगायतका मातृभाषामा रचना वाचन समेत गर्नुभएको थियो ।
सो अवसरमा गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेश समन्वय परिषद्का मुख्य सचिव सुजनकुमार लामा, पुष्पकमल सुवेदी स्मृति प्रतिष्ठानका सह–सचिव प्रदीप सुवेदी, संगम सांस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँले, नारायण परिश्रमी, लक्ष्मण गौतम “हिमाली”, नेपाल मगर लेखक संघका पूर्व महासचिव उजीर रानामगर, अग्रज पत्रकार उदयबहादुर अमात्यलगायतको उपस्थिति रहेको थियो ।
प्रगतिशील लेखक संघ (प्रलेस) नेपाल, गण्डकी प्रदेशका अध्यक्ष लोकबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव यादवराज उपाध्याय र उपाध्यक्ष विजया सुवेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रलेस, गण्डकी प्रदेशद्वारा प्रकाशित मुखपत्र “गण्डक आलोक”मा यसअघि, आयोजित बहुभाषिक कवि गोष्ठीमा सहभागी विभिन्न मातृभाषाका कविता समावेश गरिएका छन् । त्यस्तै, साहित्यका भौतिकवादी आधार, सांस्कृतिक रुपान्तरण र भाषा, संस्कृतिकेन्द्रित विभिन्न शोधमा आधारित लेखहरू समेत मुखपत्रमा समावेश छन् ।

प्रतिकृया दिनुहोस्