Pokharapatra National Daily

लेखनाथ खानेपानी आयोजनाको स्रोत वृद्धि गरिने

पोखरा महानगरपालिकाका पाँच वडामा ‘एक घर एक धारा’मार्फत २४ औं घण्टा खानेपानी पु¥याइने भएको छ ।
लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सञ्चालन गरिरहेको लेखनाथ सहलगानी खानेपानी आयोजनामार्फत वडा नं २६, २७, २९, ३० र ३२ का प्रत्येक घरमा खानेपानीको धारा पु¥याइने र पानी अभाव हुन नदिन नेपाल सरकार र संस्थाको लगानीमा स्रोत वृद्धि गर्न लागिएको संस्थाले जनाएको छ ।
विसं २०५८ मा स्थापना भएको संस्थाले ‘मुहानदेखि मुखसम्म शुद्ध पानी, हामी उपभोक्ताको सरोकार र निगरानी’को नारासहित १३ हजार धारा जडान गरी लेखनाथ क्षेत्रका एक लाख ५० हजार जनसंख्यालाई पानी वितरण गर्दै आएकामा बढ्दो शहरीकरणसँगै पानीको माग बढेको र अभावपूर्ति गर्न स्रोतको क्षमता वृद्धि गर्न लागेको हो ।
सबै उपभोक्ताको घरमा पर्याप्त पानी पु¥याउनका लागि आयोजनाले हाल पोखरा महानगरपालिका–२० र मादी गाउँपालिका–७ को सीमा गिउँजे खोलाबाट आइरहेको पानीको क्षमता तेब्बर बढाउने योजना अघि बढाएको संस्थाका अध्यक्ष विष्णुप्रसाद बरालले बताए । उनका अनुसार गिउँजेबाट हाल प्रतिसेकेण्ड ४८ दशमलव नौ लिटर पानी ल्याइरहेको आयोजनाले त्यसको क्षमता विस्तार गरेर तेब्बर अर्थात १५० लिटर प्रतिसेकेण्ड बनाउने र बोरिङको पानी प्रतिस्थापन गरेर खोलाको स्वच्छ पानी वितरण गर्नेछ । गिउँजेसहित लेखनाथका अन्य छ ठाउँबाट बोरिङ गरेर आयोजनाले दैनिक नौ हजार ७७४ घनमिटर पानी लेखनाथवासीलाई वितरण गर्ने गरेको अध्यक्ष बरालले बताए । बोरिङको पानी उत्पादन महङ्गो पर्ने भएकाले समेत बगेको पानीको क्षमता र स्रोत वृद्धि गर्ने कार्यलाई प्राथमिकता दिइएको बताइएको छ । उनले भने, ‘हामी कहाँ ग्राभिटी खानेपानी र भूमिगत गरी दुई थरीको खानेपानी प्रणाली रहेकामा बढ्दो शहरीकरणका कारणले पानीको माग दिनहुँ वृद्धि भएपछि क्षमता वृद्धि गर्ने योजना अघि बढाएका हौँ ।
नेपाल सरकार र संस्थाको लगानीमा क्षमता वृद्धि गरी एक वर्षभित्रमा हालको भन्दा तेब्बर क्षमतामा पानी ल्याएर अभाव हुन दिँदैनौँ ।’ सो आयोजनाका लागि रु एक अर्व लगानी हुने प्रारम्भिक नापजाँच रहेको बताइएको छ । आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) आगामी फागुनभित्रमा तयार हुने भएकाले यसै आर्थिक वर्षमा बोलपत्र आह्वान गरिने आयोजनाले जनाएको छ ।
आयोजनाले गिउँजे खोलाको पानीको मुहानमा ‘सेडिमेन्टेसन टंकी’ र ‘रफिङ् फिल्टर’बाट शुद्ध गरी १३ किमी पाइपलाइनबाट वडा नं २६ को लप्सीडाडाँमा रहेको दुई लाख लिटर क्षमताका दुई वटा टंकीमा जडान गरी उपभोक्ताका घर घरमा पु¥याउने गरेको छ । आयोजनाले २४ औं घण्टा प्रतिव्यक्ति दैनिक १०० लिटर नेपाल खानेपानी गुणस्तर मापदण्ड अनुसारको पानी विवरण गर्ने लक्ष्य राखेको संस्थाका कोषाध्यक्ष नारायणी भट्टराईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्