Pokharapatra National Daily

प्राकृतिक स्रोत र साधन सबैैको साझा सम्पत्ति हो – सचिव शर्मा

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव केदारनाथ शर्माले प्राकृतिक स्रोत र साधन सबैैको साझा सम्पत्ति भएकाले यसको संरक्षणमा साझा धारणा हुनुपर्ने बताउनुभएको छ ।
सञ्चारिका समूह नेपालको आयोजनामा पोखरामा भएको वातावरणीय संरक्षण तथा लैगिंक समानता र सामाजिक समावेशीकरण विषयक एक दिने अभिमुखीकरण कार्यक्रममा उहाँले पृथ्वी सबैको साझा भएकाले यसको पर्यावरण जोगाउने जिम्मेवारी पनि सबैको साझा हुने बताउनुभएको हो । उहाँले पछिल्लो समय जलवायु परिवर्तनले वातावरणमा विभिन्न समस्या देखिएको उल्लेख गर्दै पृथ्वीलाई दिगो रुपमा बचाउन लागि बनेका ऐन नियमहरुको कार्यान्वयन महत्वपूर्ण हुने धारणा राख्नुभयो । उहाँले सामुदायिक वनको अवधारणा आएदेखि नै संरक्षणमा महिलाको सक्रियता रहेपनि नेतृत्वमा महिलाको गर्विलो उपस्थितीमा अझै जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख वक्ता उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालयका गण्डकी प्रदेशका सचिव डा. महेश्वर ढकालले वातावरण संरक्षण तथा वन्यजन्तु संरक्षणको विषयमा प्राकृतिक स्रोत र साधनको रुपमा निकै धनी भएपनि त्यसको सहि प्रयोग र व्यवस्थापन गरेर आर्थिक उपार्जनमा लगाउन नसकिएको बताउनुभयो ।
उहाँले महिलाको आर्थिक सशक्तिकरणका लागि वातावरणीय स्रोत साधनको सही सदुपयोग गरेर आर्थिक उपार्जनमा जोड्न नितीगत खाँचो औल्याउनुभयो । कार्यक्रमका अर्का वक्ता कोपिला नेपालका कार्यकारी निर्देशक एवम् महिला अधिकारकर्मी विना सिलवालले प्राकृतिक स्रोत र साधन माथि महिलाको पहुँच र नियन्त्रण हुन नसक्दा संरक्षकको भूमिकामा मात्र महिला रहेको बताउनुभयो । उहाँले २०५२ सालमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गठन भएपछि विधानमा ५० प्रतिशत महिलाको सहभागिता अनिवार्य गरेर सकारात्मक सन्देश दिएको बताउनुभयो । उहाँले निर्णायक तहका महिलाको सहभागिता नभएसम्म लैगिक समानता व्यवहारमा लागू हुन नसक्ने उहाँको भनाइ थियो । वन तथा वातावरणसँग महिलाको सामिप्ता धेरै हुनुका साथै जडिबुडिका विषयमा समेत महिलाहरु जानकार रहेपनि उनीहरुको ज्ञान सीप र क्षमताले कहिकतै स्थान पाउन नसकेको गुनासो गर्नुभयो । सामुदायिक वन उपभोक्ता महासंघ स्याङ्जाका अध्यक्ष दोव बहादुर कार्कीले वन वातावरण संरक्षणमा महिलाको भूमिका अतुलनीय रहेको र महासंघ महिला नेतृ जन्माउने संस्था भएको बताउनुभयो । उहाँले २०५२ सालबाटै महिलाको समान सहभागितामा जोड दिएको जनाउँदै लैङ्गिक समानता र सामाजिक समावेशीताको विषयमा विभिन्न जिल्लामा कार्यक्रम गरेर महिला सशक्तिकरणमा जोड दिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारीले प्राकृतिक स्रोत साधन पहुँचमा महिलाको सहभागिता बढाउन स्पष्ट निति नियमको खाँचो औल्याउनुभयो ।
नेपाल पत्रकार महासंघका कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले वातावरणीय मुद्दामा पत्रकारहरुले उजागार गर्दै वन वातावरण पर्यावरण भित्रका गहन विषयको खोजी जरुरी रहेको बताउनुभयो ।
सञ्चारिका समुह नेपालका केन्द्रिय सदस्य विमला भण्डारीले सञ्चारिका समूह निरन्तर महिलाको मुद्दामा वकालत गर्दै लैङ्गिक सहभागिता र समानताका विषयलाई जोड दिदै आएको जानकारी दिनुभयो । कार्यक्रममा सञ्चारिका गण्डकी प्रदेशका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक राधिका कँडेलले स्थानीय स्तरमा महिलाको निर्णायक भूमिका तथा स्रोत बाँडफाँडमा महिलाको अवस्था र सामाजिक समावेशीकरणको क्षेत्रमा भएका प्रयासहरुको बारेमा अन्तक्र्रियात्मक कार्यक्रम गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा सञ्चार क्षेत्र र सामुदायिक वन, वातावरण लगायतका क्षेत्रमा क्रियाशिल ३५ जना सहभागी रहेको सञ्चारिका समूह गण्डकीका महासचिव कविता श्रेष्ठ जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्