Pokharapatra National Daily

पोखरामा तरकारीको मूल्य प्रायः स्थिर

हिजोआज दैनिक उपभोग्य बस्तु अन्र्तगत किरानाका सामानमा मुल्य बृद्धि भए पनि हरियो साग—सव्जी सहितको तरकारीमा भने मूल्य स्थिर रहेको छ ।
कोरोनाका कारण हाल बजार प्राय ठप्प भएकोले तरकारीको मुल्य प्रयाः स्थिर जस्तै भएकोे शान्ति वनवाटिका स्थित कृषि उपज थोक बजार (मण्डी) कार्यालयका योजना शाखा सहायक रुपा दाहालले बताइन् ।
अब ३÷४ दिनको पानी परेसंगै तरकारीको मुल्य बृद्धि हुन सक्ने उनको भनाई छ । नयाँ सिजनका फलफुल तरकारी पनुःबजारमा आउने हुदा बिचको केही समयमा उत्पादन कम हुदा मुल्य बढ्न सक्ने दाहालको बुझाई छ । पोखरा क्षेत्रमा हाल पनि कोरोनाको कारण निषेधाज्ञा जारी रहेको अबस्थामा हिजोआज दैनिक जसो करिब एक सय ४० मेट्रिक्टन हरियो साग सब्जी सहितको तरकारी खपत हुने गरेको योजना शाखा सहायक दाहालले बताइन् । अन्य सिजनमा पोखरामा करिब दैनिक जसो १ सय ६० देखि एक सय ८० मेट्रिक्टनसम्म तरकारी खपत हुने गरेको उनको दाबी छ ।
पोखरा क्षेत्रमा अहिले पनि फलफुल तरकारी आउने गरेको दाहालले जनाइन्। उनले भनिन “बजारको माग अनुसार मुल्य घटबढ हुने हो, यतिवेला खासै तरकारीको माग धेरै छैन, मूल्य स्थिर रहेको छ । ” पोखरामा हिजोआज करिब ७० प्रतिशत भन्दा बढी हरियो साग सव्जी देखि तरकारी भने यस क्षेत्रकै भएको उनले जनाइन् ।
कोरोनाको समयमा फलफुल तरकारी किन्ने उपभोक्ताहरुले भने भौतिक दुरी कम्तिमा दुई मिटर टाडा कायम गर्नुपर्नेमा खासै पालना नगरेको तरकारी बिक्रेताहरुको गुनासो छ । फलफुल तरकारी बिक्रेताको भने हात हातमा तथा खल्तीमा सेनिटाइजर सहित फलफुल तरकारी बिक्रि गरेका छन्। पोखराको शान्तिवन वाटिका, पोखराको श्री कम्प्लेक्स बजार लगायतका ठाँउमा विहान ५ बजे देखि ९ बजेसम्म उपभोक्ताहरुको अध्याधिक भिडभाड हुने गरेको छ । पोखराको शान्ति वनवाटिका स्थित कृषि उपज थोक बजार (मण्डी) को मुल्य सूचि अनुसार आइतबार गोलभेडा ४५ देखि ५० प्रति केजी, फर्सी पाकेको प्रति केजी ३५ देखि ४०, भिण्डी प्रति केजी ५० देखि ६०, लौका प्रति केजी ४० देखि ५०, बन्दा प्रति केजी १५ देखि २५, काउली प्रति केजी ४० देखि ५०, मुला प्रति केजी ३० देखि ३५, करेला प्रति केजी ४० देखि ६०, घिरौला प्रति केजी ५० देखि ६० रुपैया मूल्य निर्धारण गरिएको छ । यद्यपी आम उपाभोक्ताहरुले खुद्रा पसलेहरुसंग भने करिब दोब्बर मुल्य तिर्नुपर्ने अबस्था रहेको एक सेवाग्राही शम्भु प्रसाद जैसवालले गुनासो गरे ।
कोरोनाले गर्दा पनि धेरै आम उपभोक्ताहरुले खुलेर तरकारी फलफुल कम खाने गरेको केही खुद्रा पसलेहरुको गुनासो समेत रहेको छ । दिनभरी जसो कोठा बन्द गरेर राख्दा धेरै तरकारी कुहिने गरेको पसलेहरु बताउछन् ।

प्रतिकृया दिनुहोस्