
गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले गाउँहरू रित्याउनुको प्रमुख कारण शिक्षा र स्वास्थ्यको कमजोर अवस्था भएको उल्लेख गर्दै, गुणस्तरीय शिक्षा मार्फत गाउँहरूलाई पुनः जीवन्त बनाउन सकिने धारणा व्यक्त गरेका छन् ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले कास्कीको कृषि अनुसन्धान निर्देशनालय, लुम्लेमा आयोजना गरेको ‘हाम्रो खुसी’ पाठ्यक्रम दृष्टिकोण निर्माण सम्बन्धी पाँच दिने कार्यशालाको आइतबार समापन कार्यक्रममा बोल्दै मन्त्री बस्यालले ग्रामीण क्षेत्रको समृद्धिको मूल आधार शिक्षा प्रमुख रहेको दाबी गरेका हुन् ।
“गाउँमा गुणस्तरीय शिक्षा दिने वातावरण बनेमा बजार र विदेशिएका युवाहरूलाई पनि गाउँ फर्काउन सकिन्छ,” उनले भने, “गाउँ बस्ने वातावरण बनाउन शिक्षकहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्न आवश्यक छ ।” शिक्षा र स्वास्थ्यलाई जीवनको जग मान्दै मन्त्री बस्यालले संघीय सरकारसँगै स्थानीय तहलाई शिक्षा सम्बन्धी पाठ्यक्रम निर्माणको अधिकार प्राप्त भएकाले त्यस अनुरूप काम भइरहेको जानकारी समेत दिए । कार्यक्रममा भारतीय शिक्षा बोर्डका सल्लाहकार श्रवण कुमार शुक्लाले प्रशिक्षण गराएका थिए । मानव जीवनको बारेमा र शिक्षकको आचरणको बारेमा बुझाउनुका साथै आत्मपरिचय र मूल्यमा आधारित जीवन शैलीतर्फ सोच्न उनले आग्रह गरे । लाभ वा सुविधा भन्दा पनि जीवनको उद्देश्य र सकारात्मक सोचले भरिएको शिक्षाले समाजमा परिवर्तन ल्याउन सक्ने उनले जनाए । कार्यक्रमका अध्यक्ष तथा गाउँपालिका प्रमुख खिम बहादुर थापाले शिक्षालाई व्यवहारिक, जीवनमुखी, सकारात्मक र परिवर्तनमुखी बनाउने उद्देश्य सहित कार्यक्रम सञ्चालन गरिएको जानकारी गराए । पलिकाका बिद्यालयहरुलाई अब पाठ्यक्रम मात्र सिमित नगरी जीवन उपयोगी शिक्षा दिन कास्कीबाटै उनले शिक्षकहरुलाई निर्देशन दिए । कालीगण्डकीका उपाध्यक्ष सावित्रा कोईरालाले विद्यालयको प्रभाव घरघरमा पु¥याउने उद्देश्यले यस्तो तालिम आयोजना गरिएको बताइन् ।
मध्यबिन्दु नगरपालिकाका शिक्षा महाशाखा प्रमुख पदमराज आचार्य, तालिम सहभागी शिक्षिका शान्ता ज्ञवाली, शिक्षक कमलप्रसाद न्यौपाने, कालीगण्डकी गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बिर्मा विष्ट लगायतले तालिमले विद्यालयलाई अझ जीवन उपयोगी बनाउने विश्वास व्यक्त गरे । कार्यक्रममा कालीगण्डकी गाउँपालिकाका माध्यमिक तथा आधारभूत विद्यालयका प्रधानाध्यापक, शिक्षक, पालिका प्रमुख–उपप्रमुख, शिक्षा महाशाखा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। साथै, कावासोती नगरपालिका र बिन्दु नगरपालिकाबाट समेत प्रतिनिधिहरू कार्यशालामा सहभागी थिए ।