Pokharapatra National Daily

गण्डकी प्रदेशमा १७ हजार ६७ जनालाई कोरोना भ्याक्सिन

कोरोना बिरुद्धको भ्याक्सिन (खोप) लगाउन पहिलो चरणमा छु्टेकालाई शनिबारसम्मको समय सिमा थपिएको छ । स्वास्थ्य मन्त्रालयले सम्बन्धित स्वास्थ्य निर्देशनालयहरुमा सूचना जारी गर्दै शनिबारसम्म पहिलो चरणमा छ्ुटेकाहरुलाई खोप केन्द्रमा पुगेर खोप लगाउन आग्रह गरेको हो ।
यसैबिच पहिलो चरणमा परेका तर खोप लगाउन छुटेकाहरुलाई गण्डकी प्रदेशमा पनि स्वास्थ्य कार्यालयहरु र प्रदेशको सरुवा रोग शंक्रामण अस्पताल (लेखनाथ) बाट उक्त खोप लगाउने व्यबस्था मिलाएको शुक्रबार पत्रकारलाई जानकारी गराउदै गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले बताए ।
गण्डकी प्रदेशमा कोरोना बिरुद्धको भ्याक्सिन (खोप) को ९९.३१ प्रतिशत लक्ष्य हासिल गरेको उनले दाबी गरे । प्रदेशमा पहिलो चरणमा १७ हजार १ सय ९६ जना स्वास्थ्यकर्मी तथा सफाईकर्मीलाई उक्त भ्याक्सीन लगाउने तयारी गरिए पनि १ सय २९ जना छुटेको उनले जनाए । हालसम्म १७ हजार ६७ जनामा उक्त खोप लगाइएको उनको दाबी छ । अन्य प्रदेशमा भने ७० देखी ७५ प्रतिशतमा खोप लगाइएको भए पनि गण्डकी प्रदेशमा धेरै राम्रो भएको निर्देशक डा.शर्माले जनाए । स्वास्थ्यकर्मीको टोलीले हेलिकोप्टर मार्फत गोर्खाको दुर्गम क्षेत्रमा पुगेर उत्त खोप दिएको उनले जनाए । उनका अनुसार गोर्खाको चुमनुब्री गाँउपालिकाका लिई, छेकमपार्क (कुल्चिन) र फिलिङ भन्ने ठाँउमा हेलिकोप्टर मार्फत पुगेको स्वास्थ्यकर्मीको टोलीले १७, ३० र अर्को २० जनालाई उक्त खोप लगाएको हो । गोर्खा सदरमुकाम देखि चार दिन सम्म लाग्ने ठाँउमा हेलिकोप्टरबाट उत्त खोप सहित स्वास्थ्यकर्मीको टिमले दुई दिन लगायर लक्षित व्यत्तिलाई खोप दिदै गरेको चुमनुब्री गाँउपालिकाका उपाध्यक्ष कुमारी गुरुङले बताइन्। उनका अनुसार गोर्खा सदरमुकाम देखि फिलिङ २, छेकमपार्क ३ र लिईसम्म जान ४ दिन लाग्छ । पहिलो चरणको खोप अभियान यही माघ २४ गतेसम्म संचालन हुने भएकोले गर्दा सूचना प्रणालीमा दर्ता नभएका, खोपबाट बन्चित भएका नेपाल मेडिकल काउन्सिल,नेपाल नर्सिङ काउन्सिलले, नेपाल स्वस्थ्य व्यवसायी परिषद, नेपाल आर्युवेद मेडिकल काउन्सिल, नेपाल फार्मेसि काउन्सिलमा दर्ता भएका प्रमाण पत्र र फोटो सहित परिचय लिइ आएमा सम्बन्धित खोप केन्द्रले खोप लगाइने व्याबस्था गरिएको निर्देशक डा. शर्माले जनाए ।
गण्डकी प्रदेशमा करिब १५ लाख कोरोना बिरुद्धको खोप लगाउने गृहकार्य सुरु भएको उनको भनाई थियो । सरकारको प्रथामिकताको आधारमा चरणबद्ध ढंगले एत्र खोप लगाइने भएको शर्माले जनाए । प्रदेशका स्वास्थ्यकर्मी, स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारी र सफाईकर्मीलाई पहिलो चरणा खोप लगाइदै छ ।
दोश्रो चरणमा केन्द्रको निर्देशन अनुसार उक्त भ्याक्सीन लगाउने गरी हाल दोश्रो चरणमा पर्ने व्यक्तिहरुको अध्यावधिक गर्न लागेको निर्देशक डा. शर्माले बताए । यही माघ १४ देखि पहिलो चरणमा प्रदेशमा पनि भ्याक्सीन लगाइएको हो भने अब पुनः उनीहरुलाई दोश्रो चरणमा दोश्रो डोज एक महिना पछि लगाइने भएको उनले जनाए । गण्डकी प्रदेशमा भित्रिएको ३९ हजार १ सय ३९ भ्याक्सीन मध्य बाँकी रहेको उक्त भ्याक्सीन भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसर भित्रै खोप भण्डारण निश्चित तापक्रममा व्याबस्थापन भएको निर्देशक डा. शर्माले जनाए । उक्त भ्याक्सीन लगायकाहरु मध्य हालसम्म एक जनामा पनि कुनै समस्या नआएको उनले दाबी गरे ।

प्रतिकृया दिनुहोस्