Pokharapatra National Daily

पोखरा २२ (पुम्दीभुम्दी) का डाँडै पिच्छे पर्यटकीय गन्तव्य बन्दै

-दीननाथ बराल
मौसम खुलेको समय होस पोखरा २२ पुम्दी भुम्दीका जुन सुकै डाँडामा पुगेर हिमाल, फेवाताल, पोखरा लगायतका दृश्यावलोकन एकै स्थानबाट सहज रुपमा गर्न सकिन्छ । ५ दशक अघि विश्व शान्ति स्तुपाःले जुन रुपमा चर्चा र परिचर्चासंगै पोखरा २२ को धार्मिक एवं पर्यटन प्रबद्र्धनमा टेवा पुर्यायो त्यसै गरी पछिल्लो केही बर्ष देखि पुम्दीकोटमा बिशाल महादेवको मूर्तिले सायद पोखराको नयाँ तथा प्रमुख पर्यटकीय गन्तव्य जस्तै नै बनेको छ ।
पोखरा आएका आन्तरिक ताथ बाह्यि पर्यटकहरु मध्य अधिकांश पर्यटकहरुको पहिलो रोजाइमा पुम्दीकोट पर्ने गरेको छ । पोखराको छोरेपाटनबाट माथि उकालो लागे पछि अनदुकोडाडाँमा विश्व शान्ति स्तुपाःले भगवान गौतम बुद्धको शान्तिको प्रतिकको रुपमा सेतो गुम्बाले सबैलाई मनमोहक बनाएको छ । जुन पर्यटकीय गन्तव्यको रुपमा धेरै बर्ष देखि यसले बुद्ध धर्मका भक्तलाई मात्र नभई पर्यटकहरुलाई समेत आकषर्ण गर्ने गरेको छ ।
त्यसै गरी पछिल्लो करिब ५÷६ बर्ष अघि देखि बिशाल महादेवको मूर्तिले चर्चा र यसले धार्मिक एवं पर्यटकहरुलाई आकषर्ण गर्दै आएको छ । दैनिक बिशाल महादेवको मूर्ति अवलोकन गर्न हाल २ हजार देखि ३ हजार पर्यटकहरु जाने गरेको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताउनु भयो । विश्व शान्ति स्तुपाःमा पनि दैनिक जसो २ हजार पर्यटकहरु जाने गरेको विश्व शान्ति स्तुपाः समितिले जनाएको छ । अनदुको डाँडा, पुम्दीकोट बने पछि अब चर्चा नियालेडाँडा(चक्रहाल्ने डाँडा) को रहेको छ भने त्यसै गरी भुम्दीकोटमा देउरालीको थान भएको डाँडा र अर्को डाँडो हो थाप्लेको डाँडो जहाँ जानको लागि हालसम्म बाटो समेत सहज छैन् । यहाँका हरेक डाँडाको महत्व बुझेर छुट्टै ढंगले यसलाई विकास र विस्तार गर्न सके पोखरा क्षेत्रको पर्यटकको बसाई अवधि लम्बाउने गतिलो गन्तव्य पुम्दी भुम्दी बन्न सक्छ ।

पुम्दीकोट पछि अब पुम्दी भुम्दीको अर्को नयाँ पर्यटकीय गन्तव्य चक्रहाल्ने डाँडा (नियालेडाँडा) । समुद्रि सतह देखि करिब १ हजार ६ सय मिटर उचाईमा रहेको उक्त डाँडामा पहिला हावाको गति मापन गर्न चक्र जडान गरी हावाको चाप नाप्ने प्रचलन पराम्परागतमा रहेको पाइन्छ । हाल आफ्नो गाउँ र ठाउँमा केही गर्नु पर्छ भन्ने मान्यतालाई सुरुवात हामी आफैले र मैले गर्नु पर्छ भनेर कम्मर कसेर लाग्नु भएको छ स्थानिय बासि । गुरुङ समुदायको बाहुल्यता रहेको कालाबाङ घरेडिको शिरमा पर्ने उक्त डाँडामा आगन्तुक पाहुनालाई कालाबाङ सामुदायिक होमस्टेबाट छोटो हाइकिङ गराउँदै आउनु भएको घरेडीबासीले अब भने बुद्ध पार्कको नामबाट धार्मिक एवं पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न अठोट लियर अघि बढ्नु भएको छ । जसको नेतृत्व लिनु भएको छ युवा व्यवसायी राज गुरुङ (लाल) ले । आफु जन्मेको ठाउँ पोखराको मुख्यबजारसंगै जोडिएको निकै रमणिय गाँउमा आफुले केही गर्नु पर्छ भनेर उक्त बुद्ध पार्कको अवधारणालाई अघि बढाएको बुद्ध पार्क निर्माण समितिका अध्यक्ष एवं संयोजक युवा व्यवसायी राज गुरुङ (लाल) ले बताउनु भयो । आफैले यसको नेतृत्व लिएको उहाँको भनाई छ । ५ दशक अघि पुम्दीभुम्दीमा शान्ति स्तुपाः स्थापना भएको हो भने ५/७ बर्ष अघि देखि बिशाल महादेवको मूर्तिले चर्चा पाउदै आएको छ । पोखराको फेवाताल र सिद्धार्थराज मार्ग जोडियर पनि पछि परेको पुम्दी भुम्दीमा पछिल्लो २/३ बर्ष देखि पुम्दीकोट बिशाल महादेवको मुर्तिले जसरी चर्चा र धार्मिक एवं पर्यटकहरुलाई आकषर्ण गरेको छ त्यसै गरी बौद्ध धर्मका भक्तहरुलााई सहित पर्यटकलाई आकषर्ण गर्न पोखरा २२ को नियालेडाँडा (चक्रहाल्ने डाडाँमा) बुद्ध पार्क निर्माणको अन्तिम चरणमा पुगेको हो ।

पहिलो चरणमा बुद्धको मुर्ति विधि पूर्वक जडान गरिएको बुद्ध पार्क निर्माण समितिका अध्यक्ष एवं संयोजक युवा व्यवसायी राज गुरुङ (लाल) ले बताउनु भयो । धर्म गुरु कुण्डोल रिनपोक्षे द्धारा सहयोग प्राप्त भएको १५ फिट अग्लो शाक्यमुनिको बुद्ध मूर्ति उक्त स्थानमा प्रतिस्थापन गरिएको उहाँले जनाउनु भयो । करिब ८÷९ बर्ष अघिको भेटमा बुद्ध मूर्ति राख्न सकिन्छ की भन्ने धर्म गुरुसंग अध्यक्ष गुरुङले राखेको प्रस्तावमा उहाँले स्विकार्दै मूर्ति सहित स्तुपाः तथा साना आकृतिका बुद्ध मूर्तिहरु समेत सबै धर्म गुरुले नै व्यबस्थापन गर्नु भएको हो । भारतको तेह्रादुनमा मूर्ति निर्माण गरी केही समय अघि नै बुद्ध पार्कमा प्रतिस्थापना गरिएको हो । फाइवरबाट निर्माण गरिएको १५ फिटको उचाईमा रहेको उक्त मूर्ति केही समय पश्चात गोल्डेन कलरमा रंगरोगन गरिने भएको संयोजक गुरुङले उल्लेख गर्नु भयो । पहिलो चरणमा ५ करोडको परियोजना सफल पार्न पोखरा महानगरपालिका, पोखरा महानगरपालिका वडा नम्बर २२ स्थानिय बासि एवं विदेशबाट समेत सहयोग जुड्दै गरेको उहाँले जनाउनु भयो । उक्त बुद्ध पार्कमा १० फिटका दुई वटा मुर्ति, ८ वटा स्तुपाःहरु समेत निर्माण गरिने भएको छ । बुद्ध पार्क अपाङग् मैत्रि समेत बनाउने समितिले योजना रहेको छ । आगामी डेढ महिनामा बुट्टा भर्ने काम सकिने त्यस पछि पानीको क्यूरिङ समेत गर्नु पर्ने भएकोले केही रंग रोगन गर्न समय लाग्ने उहाँले जनाउनु भयो । बुद्ध मूर्ति भन्दा तल्लो भागमा साँढे २ फिटको बुद्ध मूर्तिहरु रहने भएको गुरुङले जनाउनु भयो । १ सय ८ वटा सानो आकारको ११ इन्चको बुद्ध मूर्तिहरु रहने भएको उहाँले जनाउनु भयो । त्यसको माथि स्वयम्भुनाथ, नमोबुद्ध र बौद्धका ५४ वटा स्तुपाहरु समेत राखिने भएको छ । उक्त पार्कमा जानको लागि दुई तर्फी सिडि बाटो निर्माण सहित वरिपरी बृक्षारोपण सहित फुलका बिरुवाहरु रोप्ने काम समेत हुदै गरेको उहाँले जनाउनु भयो । मुद्ध मुर्ति रहेको स्थान (ठि) मा हाल कालिगढबाट कलात्मक बुट्टा बनाउने काम भई रहेको संयोजक गुरुङले जनाउनु भयो । अध्यक्ष गुरुङले भन्नु भयो“यही ठाँउमा म हुर्कीय, आज म यत्रो भए, यस ठाँउको लागि मैले केहि गर्नु पर्छ भन्ने मान्यतालाई सार्थक बनाउन यो परियोजनाको अघि बढाएका हौं, अरुले गरोस वा नगरोस आफैबाट सुरुवात गर्नु पर्छ भनेर आज हामी लागेका छौं ।” आफ्नो गाँउ कालाबाङ घरेडिको शिरमा उक्त बुद्ध पार्क स्थापनाले अब गाँउमा धार्मिक एवं पर्यटन आगमनमा उल्लेखिय रुपमा बृद्धि हुने स्थानिय याम गुरुङले विश्वास व्यक्त गर्नु भयो । कालाबाङ होमस्टेका अध्यक्ष समेत रहनु भएको उहाँले अब आफ्नो गाउँसम्म पर्यटकहरुको ओईरो लाग्ने दाबी गर्नु भयो । चक्र राखेर यहाँको मौसम थाहा पाउने डाडाँको रुपमा परिचित उक्त क्षेत्रबाट मौसम खुल्दा हिमश्रृंखला, पोखरा, फेवाताल, सराङकोट, पुम्दीकोट, काहुँडाँडा, कास्कीकोट, पोखरा अन्तराष्ट्रिय विमानस्थल, स्याङजा लगायतको ठाँउहरु अवलोकन गर्न सकिन्छ । विगत ९ महिना अघि निर्माण कार्य सुरु गरिएको उक्त परियोजनाको हालसम्म करिब ६० प्रतिशत निर्माण कार्य सम्पन्न भएको समितिको दाबी छ । कालाबाङ सामुदायिक होमस्टेको माथिको डाडाँमा उक्त पार्क निर्माण हुनुले बिहान आउने पर्यटकलाई छोटो हाइकिङ सहितको ध्यान केन्द्रको रुपमा समेत विस्तार गर्न खोजिएको समितिका उपाध्यक्षमा राजबहादुर गुरुङले बताउनु भयो ।
स्वदेश तथा बिदेशमा रहनुहुने आर्थिक भौतिक तथा नैतिक रुपमा सहयोग गर्नुहुने समस्त सहयोगी मन तथा इष्टमित्रहरु प्रति अध्यक्ष गुरुङले हार्दिक अभार व्यक्त गर्नु भएको छ । साथै उहाँले नेपाली नयाँ बर्ष २०८१ को शुभकामना व्यक्त गर्दै उक्त परियोजनालाई सफल पार्न सहयोगको अपेक्षा गर्नु भएको छ । उक्त समितिको उपाध्यक्षमा राजबहादुर गुरुङ, अर्थ संकलमा लोक प्रसाद गुरुङ रहनु भएको छ भने सचिव कृष्ण बहादुर गुरुङ सहितको टोलीले उक्त परियोजना सफल पार्न स्वदेश तथा विदेशमा सहयोगको आव्हान समेत गर्दै आउनु भएको छ ।

प्रतिकृया दिनुहोस्