Pokharapatra National Daily

कति छ कलेजोको महत्व ? के काम गर्छ ?

डा. लव श्रेष्ठ , काठमाडौं
कलेजो मानव शरीरको पाचन प्रणाली अन्तर्गतको एक अंग हो । यो पेटको माथिल्लो भागमा दाहिनेपट्टि रहेको हुन्छ । आकार तथा तौलका हिसाबले यो मानव शरीरको सबैभन्दा ठूलो ठोस अंग हो। वयस्क मानिसमा कलेजोको तौल अन्दाजी १.५ केजी हुन्छ ।
कलेजोका कोषिकाहरुलाई हेपाटोसाइट्स भनिन्छ । कलेजोलाई पाचन प्रणाली अन्तर्गतको अंग भनिए तापनि यसले शरीरका अन्य प्रणालीसँग सम्बन्धित अरु थुप्रै कार्यहरु पनि गरिरहेको हुन्छ ।
कलेजोले मानव शरीरमा गर्ने कार्यहरु यस प्रकार छन्ः
१. पित्त रसको उत्पादन तथा स्रावः कलेजोले पित्त रस बनाउँछ। पित्त रसले गर्ने कार्यहरु यस प्रकार रहेका छन्ः
– चिल्लोको पाचन ।
– चिल्लोको अवशोषण ।
– भिटामिन ए, डी, ई र केको अवशोषण ।
– आन्द्राको गति कायम
राख्ने, गतिशील बनाउने ।
– आन्द्रामा किटाणुहरुको
विकास हुनबाट रोक्ने ।
२. खानामा रहेका पोषक तत्वहरुको मेटाबोलिजमः
– कार्बोहाइड्रेटः रगतमा ग्लुकोज बढी भएको समयमा (जस्तैः खाना खाएपछि) ग्लाइकोजेनमा परिवर्तन गरेर भण्डार गर्छ। रगतमा ग्लुकोज कम भएको समयमा भण्डार गरेको ग्लाइकोजेनलाई फेरि ग्लुकोजमा परिवर्तन गरेर रगतमा ग्लुकोजको मात्रा बढाइदिन्छ ।
– प्रोटिनः प्रोटिनलाई तोडेर सानासाना एमिनो एसिडहरु बनाउँछ। एमिनो एसिडहरु जोडेर नयाँ प्रोटिन बनाउँछ । प्लाज्मा प्रोटिन बनाउँछ । आवश्यक परेमा प्रोटिनबाट कार्बोहाइड्रेट बनाउँछ ।
– लिपिडः टाइग्लिसेराइड, कोलेस्टेरोल, फ्याटी एसिड आदि बनाउँछ ।
३. रक्सीजन्य पदार्थको मेटाबोलिजमः कलेजोमा रहेको अल्कोहल डिहाइड्रोजिनेज इन्जाइमले रक्सीलाई मेटाबोलाइज गर्छ ।
४. औषधिहरुको मेटाबोलिजमः हामीले खाने धेरैजसो औषधि कलेजोमा गएर मेटाबोलिजम हुन्छन् ।
५. प्रतिरक्षात्मक कार्य
– कलेजोमा रहने कप्फर कोषिकाले रगतमा भएका किटाणुहरुलाई मार्छ ।
– खाना अथवा अन्य माध्यमबाट शरीरमा प्रवेश गर्ने विभिन्न किसिमका रासायनिक पदार्थ, विषाक्त पदार्थ आदिलाई मेटाबोलाइज गरेर निष्क्रिय बनाउँछ ।
६. भण्डारण कार्यः कलेजोले ग्लुकोज, भिटामिन ए, भिटामिन बी१२, आइरन आदि भण्डार गरेर राख्छ र शरीरलाई आवश्यक परेको बेला स्रावित गर्छ ।
७. विभिन्न पदार्थहरु उत्पादन गर्ने कार्य ः
– प्लाज्मा प्रोटिनः प्लाज्मा प्रोटिनहरु रगतमा हुने निकै नै महत्वपूर्ण पदार्थ हुन् । तीमध्ये अल्बुमिनले रगतको दबाब कायम राख्ने, ग्लोबुलिनले एन्टिबडी बनाउने र फिब्रिनोजेनले रगत बग्न रोक्ने काम गर्छन् ।
– रगत बग्न रोक्ने तत्वहरुः कलेजोले बनाउने क्लटिङ फ्याक्टर्सले शरीरभित्र वा बाहिर कुनै पनि कारणले रक्तश्राव भएमा रगतलाई जमाएर रगत बग्नबाट रोक्छ ।
– विभिन्न इन्जाइमहरु बनाउँछ ।
– युरियाः अमोनियाबाट युरिया बनाउँछ ।
८. रगत सञ्चयः कलेजोमा करिब ५०० मिलि रगत सञ्चित भएर बसेको हुन्छ ।
९. रातो रक्तकोषिकाको उत्पादनः भ्रुणावस्थामा रातो रक्तकोषिकाको उत्पादन कलेजोमा हुने गर्छ ।
१०. पुराना रातो रक्तकोषिका नाशः कलेजोले पुराना भइसकेका रातो रक्तकोषिकाहरुलाई नष्ट पनि गर्छ ।
११. ताप उत्पन्न गर्नेः कलेजोमा उच्च मात्रामा मेटाबोलिजम हुने हुँदा धेरै ताप उत्पन्न हुने गर्छ। यस कारण कलेजो शरीरमा ताप उत्पन्न गर्ने प्रमुख अंग हो ।
मानव कलेजोमा केही विशेष गुणहरु रहेका हुन्छन् । पहिलो गुण भनेको कलेजोका तन्तुहरु पुनर्उत्पन्न हुन सक्छन् । कलेजोको केही भाग शल्यक्रिया गरेर निकालिदिएमा शरीरमा बाँकी रहेको कलेजो बढेर फेरि पहिलेकै आकार प्राप्त गर्दछ । अर्को गुण भनेको प्रकृतिले मानिसलाई चाहिनेभन्दा ठूलो आकारको कलेजो दिएको छ । पूरा कलेजोको २० देखि ३० प्रतिशत भाग मात्रले नै पनि हाम्रो शरीरलाई आवश्यक हुने सम्पूर्ण कार्यहरु गर्न सक्छ । यी दुई गुणहरुले गर्दा नै एक जीवित व्यक्तिबाट अर्को व्यक्तिमा कलेजो प्रत्यारोपण गर्न सम्भव भएको हो । कलेजो प्रत्यारोपणमा एक स्वस्थ मानिसको करिब आधा कलेजो झिकेर अर्को व्यक्तिमा राखिन्छ । कलेजो दाता र कलेजो लिने व्यक्ति दुवैमा त्यो आधा कलेजोले नै शरीरलाई चाहिने सम्पूर्ण कार्य गर्न सक्छ भने केही हप्ताभित्र नै ती आधा कलेजोहरु फेरि बढेर आफ्नो पूरा आकारमा आइपुग्छन् ।
कलेजोका लागि हानिकारक बानी व्यवहार
१. रक्सी सेवनः रक्सीको मेटाबोलिजमबाट निस्कने विभिन्न किसिमका रसायनहरुले कलेजोमा रियाक्टिभ अक्सिजन स्पिसिजहरुको उत्पादन बढाउँछन् । यी रियाक्टिभ अक्सिजन स्पिसिजहरुले हेपाटोसाइट्सहरुलाई नष्ट गर्छ । साथै रक्सीले विभिन्न रसायनिक क्रियामार्फत कलेजोमा बोसो जम्मा हुने प्रक्रियालाई पनि बढाइदिन्छ । यी कारणले कलेजोको कार्यक्षमता कम हुँदै जान्छ ।
२. अनावश्यक औषधि सेवनः कतिपय औषधिहरु कलेजोका लागि हानिकारक हुन्छन्। यसको सामान्य उदाहरण प्यारासिटामोल हो । यदि प्यारासिटामोल औषधि अत्यधिक मात्रामा सेवन गरेमा यसले कलेजोमा हानि पु¥याउँछ । कलेजोलाई हानि गर्नसक्ने अन्य औषधिहरुमा डाइक्लोफेनाक, क्षयरोगको उपचारमा गरिने रिफ्याम्पिसिन, आइसोनियाजिड जस्ता औषधि पर्दछन । यस्ता औषधि अनावश्यक रुपमा र चाहिनेभन्दा बढी मात्रामा सेवन गरेमा कलेजोलाई हानि पु¥याउन सक्छन् ।
३. अत्यधिक तौलः तौल बढे सँगसँगै कलेजोमा पनि विस्तारै बोसो जम्न थाल्छ। यसले गर्दा कलेजोले विस्तारै आफ्नो कार्यक्षमता गुमाउँछ ।यसरी कलेजोले शरीरका लागि अत्यावश्यक विभिन्न महत्वपूर्ण कार्यहरु गर्छ । कलेजोले काम गर्न छोडेमा मानिस बाँच्न सक्दैन किनकी यसले गर्ने धेरै कार्यहरु अरु कुनै अंगले गर्न सक्दैनन् । यस कारण कलेजो मानव शरीर तथा जीवनको लागि नभई नहुने अंग हो । हामी सबैले कलेजोको स्वास्थ्यको ध्यान राख्नुपर्छ र यसलाई हानि गर्न सक्ने बानी–व्यहोराबाट टाढा रहनुपर्छ ।
(डा. श्रेष्ठ महाराजगञ्ज चिकित्सा क्याम्पस, चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जका उपप्राध्यापक हुन् ।)
साभारः स्वास्थ्य खबर पत्रिका ।

प्रतिकृया दिनुहोस्