Pokharapatra National Daily

महिलामा मधुमेहको समस्या बढी

-विकास खनाल पोखरा
नसर्ने तर घातक रोग हो मधुमेह(सुगर) । मधुमेहले शरीरका अंगहरुलाई विस्तारै कमजोर बनाउँछ । अंगले कामै नगर्दा अन्त्यमा ज्यानै जान्छ । मधुमेहका विरामी वर्षेनी बढ्दै गएका छन् । बृद्धबृद्धा मात्रै नभई युवा पुस्ता समेत मधुमेहबाट पीडित भएका छन् ।
शहर झर्ने क्रम बढ्दै छ । सुविधा खोज्ने क्रममा गाँउबाट बसाई सराई गरेका छन् । रोजगार देखि उच्च शिक्षामात्रै नभई हरेक दृष्टिकोणले सुविधा खोज्न शहर झर्ने क्रमले पनि रोगलाई पनि अगाँल्न शुरु भईसकेको छ । शहरी जनजीवनले सुख सुविधा भोगी बन्दा मधुमेहको संक्रमण बढ्दै गएको ठम्याई स्वास्थ्यकर्मीको छ । गाँउ उत्पादनमुखी थियो । उत्पादनको लागि परिश्रम गर्नुपर्ने थियो । परिश्रमले पसिना बग्थ्यो । परिश्रमले शरीरमा फुर्ति आउँथ्यो । शरीर रोगको घर बन्दैन्थ्यो । शहर बजार सुविधामुखी बन्यो । सुविधा भोगी बन्यो । शहर व्यस्त भएपनि सर्वसाधारण व्यस्त बन्नै सकेनन् । सुविधा खोज्ने क्रममा स्वास्थ्यप्रतिको ख्याल हुनै छाड्यो । त्यसको प्रत्यक्ष असर स्वास्थ्यमा पर्यो । शरीरले विभिन्न रोगको भार थेग्न पुग्यो । रोगमध्ये मधुमेहले सर्वसाधारणलाई गाँज्दै लग्यो । मधुमेह उमेरसँगै लाग्ने रोगको रुपमा परिचित थियो । तर अहिले बजार क्षेत्रमा ३० वर्ष भन्दा कम उमेर समूह पनि मधुमेहबाट प्रभावित भएको रिपोर्टले देखाएको छ । शरीरमा इन्सुलेसनको मात्रामा हुने घटबढले मधुमेहले शरीरमा संक्रमण गरेको नगरेको प्रष्ट हुन्छ । चिकित्सकले प्रत्येक तीन महिनामा स्वास्थ्य परीक्षण गर्नुपर्ने सुझाव दिने गरेका छन् । तर त्यस तर्फ ध्यान खासै कसैले दिदैनन् । स्वास्थ्यप्रतिको सचेतना जगाउने अभियानमा नेपाल विकास समाज जुट्दै आएको छ । समाजले कास्कीको तत्कालिन लेखनाथ क्षेत्रमा मधुमेह न्युनिकरणको लागि विभिन्न सचेतनात्मक कार्यक्रम गर्दै आएको छ । समाजले वर्षको तीन पटक सर्वसाधारणको मधुमेह परीक्षण गर्दै आएको छ । एक पटक मधुमेह देखिएका सर्वसाधारण कतिपय दोहोरिएर परीक्षण गर्न आएको तथ्यांक स्वाथ्यकर्मी स्वयसेविकाहरु बताउँछन् । ‘टोल टोलमा सर्वसाधारणलाई बोलाई स्वास्थ्य परीक्षण गराउँछौं । परीक्षणको क्रममा अधिकांश जसो मधुमेहबाट पीडित भएको पाइएको छ ।’ पोखरा महानगरपालिका वडा नं २९ की स्वास्थ्य स्वयंसेविका शर्मिला नेपालले भनिन–‘टोलमा गरिएको परीक्षणमा पुरुष भन्दा महिला बढी मधुमेहका विरामी भेटिए ।’
कामकाज केही हुदैन् । दिनभर बस्यो । शारीरिक व्यायाम छैन् । घरभित्रको चुलो चौकामा मात्रै सीमित हुदाँ शरीरलाई व्यस्त बनाउन अभ्यस्त नहुदाँ बढी महिलाहरु मधुमेहबाट पीडित हुने गरेको उनको भनाई थियो । मधुमेह भएकालाई अस्पताल जान र औषधी सेवन गर्न सल्लाह दिने गरिएको उनी सुनाउँछिन् । कतिपय विरामी दोहोरिएर परीक्षण गर्न आउन आनाकानी गर्ने गरेका छन् । स्वास्थ्यप्रति सचेत भएपनि दोहोर्याएर परीक्षणमा खासै नआउने उनको अनुभव थियो । ‘बृद्धबृद्धा मात्रै होईन अहिले युवा पुस्ता पनि मधुमेहका विरामी भेटिएका छन् ।’ उनले भनिन–‘बृद्धबृद्धा उमेरसँगै मधुमेहबाट संक्रमित हुने भएपनि युवा पुस्ता भने खानपानमा ध्यान नदिदाँ मधुमेहको समस्या देखिएको छ ।’ कोभिडले लकडाउनको स्थिति सृजना गर्यो । लकडाउनले सर्वधारणा घरबाट बाहिर निस्कन सकेनन् । घरभित्रै बसेर दिनचर्या विताए । लकडाउनकै कारण सर्वसाधारण मोटोपन बढ्यो । मोटोपनले मधुमेहको जोखिम बढायो । । मोटोपनले मघुमेह र रक्तचापको विरामी बढेको समेत अध्ययनले देखाएको छ । अहिले पनि कोभिडको त्रास केही कम छ । यद्यपी समाजले विभिन्न टोलीमा मधुमेह परीक्षणको लागि स्वयंसेवक तथा सेविकाहरु परिचालित गर्दै आएको छ । विरामीहरु पनि घर वरिपरी नै स्वास्थ्य परीक्षण गर्न पाउँदा खुशी छन् । मधुमेहको विरामीको भनाई अनुसार नेपाल विकास समाजको सक्रियतामा स्वास्थ्य परीक्षण गरी मधुमेहको बारे जानकारी पाइएको छ । ‘अहिले नियमित परीक्षण गराएको छु । समाजमै स्वास्थ्य परीक्षण गरेपछि नियमित फलोअपमा छु ।’ पोखरा–३३ बागमाराकी जमूना शाहीले अनुभव सुनाईन् । उनले साढे दुई वर्षअघि नेपाल विकास समाजको स्वास्थ्य शिविर मार्फत स्वास्थ्य परीक्षण गराएको बताईन् । ‘पहिला थाहा थिएन् । परीक्षण गरेपछिमात्रै मधुमेह भएको थाहा पाँए । अहिले नियमित परीक्षण गराउँदै आएको छु । औषधी पनि खाईरहेकी छु ।’ उनले भनिन् ।
विरामीले आफुलाई सामान्य लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गराउन आउने गरेका छन् । छिटो छिटो पिसाब लाग्ने, बढी भोक लाग्ने, तौल बढ्दै जाने(शरीर मोटाउँदै जाने), निद्रामा समस्या हुदाँ समेत मधुमेहको लक्षण हुने शहरी स्वास्थ्य केन्द्र २९ का शहरी स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी विशाल पौडेल बताउँछन् । ‘चोट पटक लाग्यो भने लामो समयसम्म निको नभए मधुमेहको लक्षण हो भन्ने बुझन् सकिन्छ ।’ उनले भने–‘नसर्ने रोग भएपनि स्वास्थ्य जाँच भने निरन्तर गर्नुपर्छ ।’ खासगरी मोटोपनले बढी मधुमेहको लक्षण देखा पर्ने स्वास्थ्यकर्मीको अनुभव एवं बुझाई छ । पोखरा २९ कै अर्का विरामीले शहरीया जीवन शैलीकै कारण मधुमेहको समस्या बढ्दै गएको बताउँछन् ।
कतिपय बंशाणुगत हुने गरेका छन् । कतिपय उमेरले । कतिपय युवापुस्तामै मधुमेह हुदाँ स्वास्थ्यप्रति सचेत बन्नुपर्ने स्वास्थ्यकर्मी बताउँछन् । ‘वर्षमा २÷३ सयको स्वास्थ्य परीक्षण गर्दा आधाआधी जसो महिला तथा पुरुषलाई मधुमेह भएको रिपोर्ट निस्किएको छ ।’ स्वास्थ्य स्वयंसेविका सीता पोखरेलले सुनाईन–‘उच्च मधुमेह भएकालाई अस्पताल रिफर गर्छौ । बोर्डरमा पुगेकालाई कन्ट्रोल गर्न प्रेरित गर्छौ ।’ उनका अनुसार नेपाल विकास समाजकै सक्रियतामा टोल टोलीमा स्वास्थ्य परीक्षण गर्दै मधुमेहप्रति सचेतना अभियान चलाइएको छ । स्वास्थ्य परीक्षण गर्ने किट समेत समाजले उपलब्ध गराउँदै आएको उनले सुनाईन् । किट उपलब्ध भएपछि फरक फरक टोलीमा पुगेर स्वास्थ्य परीक्षण शुरु गर्ने गरिएको उनले बताईन् । नेपाल विकास समाज नामक गैर सरकारी संस्थाले गरेको अध्ययनले कोभिड–१९ले निम्त्याएको समस्याकै मानिसमा मोटोपन बढेको ठहर गरेको छ । संस्थाका कार्यक्रम संयोजक पवित्रवाबु सोतीले ४ हजार ६ सय ९२ जनामा गरिएको अनुसन्धानबाट १०.५ प्रतिशतलाई मधुमेहको समस्या रहेको उनले बताए । दैनिक प्रयोग गरिने नूनकै कारण रक्तचापको समस्या निम्तिने गरेको छ । दैनिक ५ ग्राम नून उपभोग गरे शरीरलाई पुग्छ । तर सर्वसाधारणले १३.९ ग्राम नून दैनिक उपभोग गरिरहेको समेत अध्ययनले देखाएको छ । यसले दैनिक खानपानकै कारण पनि सर्वसाधारण वर्षेनी रक्तचाप, मधुमेह लगायतका रोगबाट ग्रसित हुदैं गएका छन् । रोग न्युनिकरणको लागि सर्वसाधारणले दैनिक खानपानमा विशेष ध्यानदिनुपर्ने समेत कार्यक्रम संयोजक सोतीले स्पष्ट पारे ।

प्रतिकृया दिनुहोस्