Pokharapatra National Daily

चिसोमा दाँत सिरिङ्ग किन हुन्छ ?

डा. शैली प्रधान

दाँतसम्बन्धी विभिन्न समस्यामध्ये दाँत सिरिङ्ग हुने समस्या पनि एक हो । चिसो मौसममा मात्र नभई यो समस्या अरु बेला पनि देखिन्छ ।
दाँत सिरिङ्ग हुनुको पछाडि धेरै कारण हुन्छन् । दाँत किराले खाँदा, गिजा तल झरेर जरा खुला हुँदा, दाँतमा धेरै बलका साथ ब्रस गर्दा दाँत सिरिङ्ग हुने समस्या निम्तन सक्छ। यी कारणबिना जाडोमा दाँत यत्तिकै सिरिङ्ग हुँदैन । एकदम धेरै चिसोले दाँत सिरिङ्ग गराउनु सामान्य नै हो । जाडोमा धेरै नै चिसो हुँदा यो समस्या आउने हो । तर चिसोमै यो समस्या बढ्ने भन्ने हुँदैन । दाँत सिरिङ्ग हुनका लागि दाँत किराले खाएको, जरा तल झरेको लगायत माथि उल्लेखित कुनै न कुनै कारण हुनै पर्छ । त्यसैले गर्मी या चिसो मौसममा दाँत बढी सिरिङ्ग गर्छ भन्ने हुँदैन । धेरैजसोले चिसोमा दाँत सिरिङ्ग हुने गरेको बताउने गर्छन्। जाडोमा विशेषगरी बिहान ट्यांकीमा भएको पानी अत्यधिक चिसो हुन्छ । त्यो बेला पानी धेरै चिसो हुँदा दाँत सिरिङ्ग हुनसक्छ। नभए सामान्य तापक्रम भएको पानीले भने दाँत सिरिङ्ग गराउँदैन । नेपालमा यो आम समस्या पनि हो। विशेषगरी वृद्ध उमेर समूहमा यो समस्या बढी हुन्छ । किनभने वृद्ध उमेरमा धेरैजसोको गिजा तल झरेर जरा खुला भएको तथा दाँत किराले खाइसकेको हुनसक्छ । युवाहरुमा पनि यो समस्या आम रुपमा छ । उनीहरुले अलि कडा ब्रसले जोडका साथ दाँत ब्रस गर्ने गर्छन् । धेरै सुर्ती, सुपारी खाने व्यक्तिहरुको दाँत खिइँदै गएर पनि दाँत सिरिङ्ग–सिरिङ्ग हुनसक्छ। स्वस्थ व्यक्तिको दाँत बिनाकारण चिसोमा पनि सिरिङ्ग गर्दैन ।
यो समस्यालाई बेवास्ता गरेर बस्नु हुँदैन । यसो गर्दा समस्या बढ्दै जान्छ । किराले खाएको दाँत भरेन भने समस्या बढ्दै जान्छ । दाँतको प्वाल बढ्दै गयो भने नशासम्म असर गर्न सक्छ । सामान्य फिलिङ गर्दा हुने दाँतको आरसिटी महँगो पर्न जान्छ। गिजा तल सर्दैछ तर समयमै उपचार गरिएन भने त्यहाँ फोहोर जम्दै जान्छ। त्यसैले दाँत सिरिङ्ग हुने कारण पत्ता लगाएर त्यसको उपचार समयमै गर्नु आवश्यक छ ।
दाँत किराले खाएको प्रारम्भिक लक्षण भनेको गुलियोबाट सिरिङ्ग हुन्छ। यो चरणमा उपचार गरिएन भने चिसोबाट सिरिङ्ग हुन्छ । यसपछि पनि उपचार गरिएन भने तातोबाट पनि दाँत सिरिङ्ग हुन थाल्छ र दुख्न थाल्छ । यही समयमा हामीले किराले खाएको ठाउँमा दाँत भ¥यौं भने पछि समस्या आउँदैन ।
गिजा तल झरेर जरा एक्स्पोज हुने समस्या हाम्रो समुदायमा धेरै छ । किनभने मानिसले दाँत सफा गर्दैनन् । फोहोर जम्मा हुँदै जान्छ । फोहोर धेरै जमेपछि गिजालाई धकेल्दै जरा खुला गराइदिन्छ ।
मानिसहरु दाँत स्वास्थ्य सम्बन्धी निकै कम सचेत छन् । समस्या नभई अस्पताल आउँदैनन् । मरिँदैन भनेर समस्या नभई कोही पनि उपचार गर्न नै आउँदैनन् ।
अहिले झन् विभिन्न विज्ञापन आउँछन् । त्यही विज्ञापनलाई आधार मानेर मानिसहरु घरमै आफूखुसी उपचार गर्ने र ती सामानहरु प्रयोग गर्छन् । यसरी घरमै अनि विज्ञापनलाई आधार मानेर उपचार गर्दा वास्तविक समस्या निदान हुन पाउँदैन । समस्या थाहा पाएर गरेको उपचार मात्र प्रभावकारी हुन्छ । दाँत सिरिङ्ग हुने समस्या लिएर वीर अस्पतालमा पनि दैनिकजसो बिरामी आउने गर्छन् । अहिले कोभिडका कारण त्यति आउँदैनन ्। तर महामारी आउनुअघि दैनिक ८ देखि १० जना आउने गरेका थिए ।
यो समस्याबाट छुटकारा पाउन मेडिकल काउन्सिलमा दर्ता भएका डेन्टल सर्जनलाई दाँत देखाउनुपर्छ। नियमित दाँतको परीक्षण गराउनुपर्छ । दाँत किराले खाएको छ या अन्य कुनै समस्या छ भने पर्खनु हुँदैन । तुरुन्त चिकित्सकलाई देखाइहाल्नुपर्छ ।
दाँत सफा गरेपछि पनि सिरिङ्ग हुने समस्या आउन सक्छ । यो धेरैले गर्ने गुनासो पनि हो । दाँत सफा गरेपछि एक÷दुई दिन सिरिङ्ग हुनसक्छ । दाँत सफा गर्दा मिलेन भने पनि लामो समयसम्म दाँत सिरिङ्ग हुने समस्या हुनसक्छ। कसले र कसरी दाँत सफा ग¥यो ? त्यसमा पनि भरपर्छ । यी सबै समस्या निम्तन नदिन समयमै दाँतको परीक्षण र उपचार गर्न आवश्यक छ । दिनमा दुई पटक ब्रस गर्नुपर्छ। कडा ब्रसको प्रयोग गर्नु हुँदैन । कडा ब्रसले गिजामा घाउ बनाउनुका साथै दाँतको इनामेल पनि जान्छ । खाना खानासाथ कुल्ला गर्ने बानी बसाल्नुपर्छ । (प्रा.डा. प्रधान वीर अस्पतालकी डेन्टल विभाग प्रमुख हुन् ।) साभारः स्वास्थ्य खबर

प्रतिकृया दिनुहोस्