Pokharapatra National Daily

दृष्टिविहीनले गरे प्याराग्लाईडिङ

प्याराग्लाईडिङ साहसिक खेलका रुपमा चिनिन्छ । साहसिक खेलकुदमा रमाउनेले मात्रै यो गर्छन् । अधिकांश भने प्याराग्लाईडिङ गर्न डराउँछन् । अर्थात प्याराग्लाईडिङ गर्न जोकोहिको आँट नै आउँदैन । तर आँट, हिम्मत र साहस भयो भने सजिलै गर्न सकिन्छ भन्ने उदाहरण दृष्टिविहीनहरुले प्रस्तुत गरेका छन् ।
पोखराको आकाशमा सोमबार दुई विदेशीसहित १० जना दृष्टिविहीनहरुले हावामा कावा खाँदै प्याराग्लाईडिङ गरे । यसको चाँजोपाँजो मिलाएको थियो ‘ब्लाईन्ड रक्स’ संस्थाले । ती साहसी दृष्टिविहीन्हरुमा संस्थाकी संस्थापकसमेत रहेकी सृष्टि केसी, सम्भवी दवाडी (सुनिता), नारायणी दवाडी, मीना भुजेल, मोम्सरा सुनार, चाँदनी शर्मा र रोजिना घिमिरे तथा दुई विदेशी क्रिष्टोफर जे जोन्स र थोमस सिड्लिङ । उनीहरुसँगै अमीता खड्का, वासिम अन्सारी र सहबाज अन्सारीलेपनि प्याराग्लाईडिङ गरेका थिए । उनीहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य पुगेर हौसला प्रदान गरेका थिए ।
दृष्टिविहीन् होस् वा अपाङ्गता भएका जोकोहि सक्षम हुन्छन् भन्ने सन्देश दिनका लागि आफूहरुले सामुहिक प्याराग्लाईडिङ गराएको ब्लाईन्ड रक्सकी संस्थापक सृष्टि केसीले बताईन् । जीवनको उचाईमा पुग्न वा जीवनको सफलता चुम्नका लागि अपाङ्गता र दृष्टिविहीनताले छेक्दैन भन्ने सन्देश प्याराग्लाईडिङ गरेर दिनु थियो, उनले भनिन्, ‘त्यसमा हामी सफल भएका छौं ।’
व्यक्तिगत रुपमा आफ्नो प्याराग्लाईडिङको दोश्रो अनुभव भएको बताउँदै उनले भनिन्, ४÷५ वर्ष अघि मैले पहिलोपटक प्याराग्लाईडिङको अनुभव लिएको थिएँ । त्यतिबेलादेखि नै म मा आत्मविश्वास, एउटा सकारात्मक सोंच र उत्साह भरेको थियो । त्यसैले यो म आफूमा मात्र सिमित गर्न चाहन्न थिएँ । आज आफ्नै संस्थामार्फत अन्य ११ जनालाई यो अवसर प्रदान गर्न सफल भयौं ।’
प्याराग्लाईडिङ गर्दाको अनुभव शव्दमा व्यक्त गर्न नसकिने खालको भएको उनले बताईन् । जीवनमा जोकोहिको सपना हुन्छ कि बादल भन्दा माथि माथि उड्ने, उनले थपिन्, ‘म आज त्यहि सपना पूरा गरिरहेकी थिएँ । म बादललाई स्पर्श गरिरहेकी थिएँ । यसका लागि पाईलट कृष्ण सरलाई धेरै धेरै धन्यवाद ।’ आकाशमा हावामा कावा खाँदै उड्दा आफूले सुन्दर पोखरालाई नजिकबाट अनुभूति गरेको बताईन् । ‘उड्दै गर्दा पाईलटले गरेको डिस्क्राईब, मन्दमन्द लागेको घाम, शितल हावालाई मैले मनमा महशुष गरेँ । त्यसलाई मैले मनको दृश्यमा कैद गरेँ । मैले साँच्चिकै सुन्दर पोखरालाई नजिकबाट अनुभूति गरेँ’–उनले भनिन् । जीवनमा उचाईमा पुग्न, जीवनमा सफलता हात पार्न दृष्टिविहीनमा सिमित हुन नहुने सृष्टि बताउँछिन् । ‘त्यो भयोभने हामी माथि उठ्न सक्छौं । त्यो भन्दा माथि उड्न सक्छौं’–उनले भनिन् । ‘जीवनमा सपना देख्नका लागि आँखा होईन, हिम्मत चाहिन्छ’ भन्दै उत्प्रेरणा भर्ने सृष्टि आत्मबल भयो भने मान्छे कहिल्यै अपाङ्गता र दृष्टिविहीन् नहुने बताउँछिन् । उनी भन्छिन्,‘आत्मबललाई सबल पक्ष ठानेर, मानेर अघि बढ्नु पर्छ । यसो भयो भने कुनैपनि पक्षमा हामी पछि पर्दैनौं र पर्नुपनि हुँदैन ।’
सृष्टिसँगै प्याराग्लाईडिङ गर्ने काठमाडौं मूलपानीकी सुनिता दवाडीले प्याराग्लाईडिङ गर्दा आफूहरुले सोंच्दै नसोंचेको सफलता चुमेजस्तो अनुभूति गरेको बताईन् । त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलमा टेलिफोन अप्रेटरको रुपमा काम गर्ने सुनिताको यो प्याराग्लाईडिङको पहिलो अनुभव थियो । उड्नुअघि के होला र कसो होला भनेर मनमा कुरा खेलाएकी उनले भनिन्,‘प्याराग्लाईडिङका बारेमा धेरैथरी कुरा सुनेकी थिएँ । गर्नेबेला के होला भन्ने लागिरहेको थियो । तर आकाशमा हुँदा एकदम रमाइलो भयो । हावाको प्रेसर (चाप)ले माथि माथि गएको, तल झरेको सबै थाहा हुँदो रहेछ ।’ अरुले उडेको सुन्दा आफूलाईपनि उड्न मन लागेको बताउने उनी भन्छिन्,‘उहिलेदेखि नै उड्ने प्लान थियो । कहिले उड्न पाइएला भन्ने लागेको थियो । आज बल्ल पूरा भयो ।’ प्याराग्लाईडिङ भन्ने वित्तिकै डरलाग्दो हुन्छ भन्ने ठानेकी बागलुङ घर भई पोखराको पृथ्वीनारायण क्याम्पसमा स्नातक तहमा अध्ययनरत चाँदनी शर्मापनि प्याराग्लाईडिङ गर्दाको अनुभव जीवनकै सबैभन्दा अविस्मरणीय रहेको बताउँछिन् ।
आकाशमा के हुन्छ होला, कस्तो हुन्छ होला भन्ने डरले सताईरहेको थियो,उनले भनिन्,‘तर गाडीको सिटमा बसेर यात्रा गरेजस्तो मात्र भयो । फ्रेस हावाले मन नै आल्हादित भयो । यो अनुभवलाई म शब्दमा वर्णन गर्न सक्दिन ।’ जीवनमा हावामा कावा खाँदै बादलको माथि माथि आकाशमा उडिएला भनेर त मैले कहिल्यै सोंचेकै थिईन,उनले भनिन्,‘तर आज एक्कासी पूरा भयो । मेरो त खुशीको सीमा नै छैन ।’

प्रतिकृया दिनुहोस्