Pokharapatra National Daily

वात्स्यायनलाई नागरिक अभिनन्दन सहित रथारोहण

अग्रज कलाकार दुर्गा बराल (वात्स्यायन) लाई पोखरामा नागरिक अभिनन्दन सहित रथारोहण गरिएको छ ।
यही चैत ५ गते ८० बर्ष पूरा गरी ८१ बर्षमा प्रबेश गरेको पूर्व सन्ध्यामा शनिबार उनलाई पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा पोखराका साहित्यिक र वाङ्मयिक संस्थाहरुले सामुहिक रुपमा नागरिक अभिनन्दन सहित रथारोहण गरिएको परिवारका अध्यक्ष उपेन्द्र पौडेलले बताए ।
पोखरा १३ मा जन्मिएका कलाकार बराल चित्रकारितामा सक्रिय भई उहाँले नेपाली चित्रकारितालाई अति यथार्थवादी धारमा डो¥याउन अतुलनीय योगदान पुर्याउदै आएकोले त्यसको उच्च मुल्याङकन गर्दै सम्मान गरिएको अध्यक्ष पौडेलले बताए । सानै उमेरमा धुलीमाटीमा औंलाले चित्र बनाउनेदेखि अहिलेसम्म चित्रकारितामा सक्रिय भई पोखरालाई पानी रङको चित्रकारितामा स्थापित गर्दै कलाकार बरालले थुप्रै अनुजहरुलाई दीक्षित पारेको अध्यक्ष पौडेलले बताए । वात्स्यायनका नाममार्फत व्यंग्यचित्रका माध्यमबाट नेपालीको समाज र राजनीतिका विकृति, विसंगति केलाउँदै व्यंग्यचित्रकारितामा सर्वाेच्च शिखरका रुपमा आफूलाई उभ्याउन सफल एक कलाकार हुन् । व्यंग्यचित्रकारिताका माध्यमबाट नेपाली प्रजातान्त्रिक आन्दोलनलाई प्रेरित गर्दै प्रजातन्त्रको संस्थागत विकास र सुदृढीकरणमा कलाकार बरालको विशिष्ट योगदान रहेको परिवारले जनाएको छ ।
पोखरामा शारीरिक सुगठन कला भित्रयाउने र प्रशिक्षण गर्ने श्रेय पनि बराललाई जाने अध्यक्ष पौडेलले जनाए । पोखरामा फोटोग्राफी कला र व्यवसाय विस्तार र प्रशिक्षणमा पनि उनको उतिकै योगदान रहेको उनले जनाए । राजधानी काठमाडौं बस्न छाडेर जन्मभूमि पोखरालाई कर्मथलो बनायर पनि अन्तराष्ट्रिय क्षेत्रसम्म प्रभाव पार्दै चम्किएका कलाकार बराल पोखरा देशकै अमूल्य रत्नको रुपमा हेर्न थालिएको छ । सरल स्वभावका कलाकार बराल सधै हसिलो मुहारमा देखिन्छन् । शनिबार कलाकार बरालकै निवास पोखरा ३ नदीपुरबाट रथारोहण सुरु भई कन्या क्याम्पस गेट अगाडी, बालमन्दिर स्कुल अगाडी, नदीपुर, पृथ्वीनारायण क्याम्पस गेट, ट्याक्सीचोक, बागबजार हुदै विन्ध्यवासिनी मन्दिर परिसरको सभाकक्ष पुगेर सम्मान समारोहमा परिणत भएको अध्यक्ष पौडेलले बताए ।
साहित्यकार सरुभक्त श्रेष्ठ, इश्वरीमणि अधिकारी, चर्चीत लोकगायीक हरिदेवी कोइराला लगायतले वात्स्यायनलाई सम्मान गरे । नेपाली राजनीतिक तथा सामाजिक क्षेत्रमा कलाकारीतबाट मार्गदशक भएका वात्स्यायन नेपाली व्याङग्चित्रको क्षेत्रमा शिखर पुरुषको उपाधि दिने मिल्ने कलाकार भएको सरुभक्तले बताए । उनीहरुलाई सपोखराका केही क्षेत्रमा घडा सहित सजिसजावट पारेका थिए ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरबाट यस अघि विभिन्न संघ संस्थाबाट समेत सम्मानित भएका कलाकार बराल बाल्यकालमा क, ख रा सिक्नु भन्दा पहिला चित्र कोर्नबाट चित्रकारिता प्रारम्भ गरेका हुन् । पोखरामा परिवारको अगुवाईमा साहित्यिक संस्थाहरुले सम्मान गरेकोमा आफु निकै हर्षित भएको उनले बताए । उनलाई यस अघि विभिन्न संघ संस्थाले चितवन र पोखरामा पनि अभिनन्दन सहित रथारोहण समेत गराएका थिए । समय र परिवेसले चित्रकार बनेको स्मरण गर्दै कलाकार बरालले एउटै बिषयमा लामो समय लाग्दा त्यसबाट धेरै उपलब्ध हासिल गर्न सकिने बताए । नेपालमा अझै पनि आफुहरुले सोचे अनुसारको व्यवसायीक कलाकारीता हुन नसकेको उनको बुझाई छ । करिब १२ देश भ्रमण समेत गरेका कलाकार बरालले नेपालमा कलाकारीतालाई अझै व्यवसायी बनाउन नसकिएको बताए । २० बर्षको उमेरमा नयाँ सन्देस साप्ताहिकबाट आफ्नो व्यवसायिक चित्रकला सुरु गरेका उनले करिब ५ दशक यसै क्षेत्रमा समर्पित भएका छन् । पञ्चायतकालमा नै नाम चलेका पत्रपत्रिका राष्ट्रपुकार, मातृभूमि, प्राङ्गण, देशान्तर, सुरुचि, गोरखापत्र र कान्तिपुर दैनिकमा उहाँका कार्टुन प्रकाशन भएका छन् ।
इटली, स्वीटजरल्याण्ड, बेलायत, जर्मनी, तिब्बत, भारत, बङ्गलादेशमा उनले समूहगत कला प्रदर्शनी गरेका छन् । उनले छ पटक एकल प्रदर्शनी र सामूहिकरूपमा एक सय ५० वटा जति प्रदर्शनी गरेका छन् । विसं २०४० मा उहाँले ‘चोक र तमसुक’ शृङ्खलाका कला प्रदर्शनी गरे, जसले नेपाली समाजको यर्थाथलाई झल्काएको छ । बराल सर्वोत्तम कला पुरस्कार २०३८, शिरोमणि पुरस्कार २०४९, नवरत्न सम्मान २०५९, विपी कोइराला पत्रकारिता पुरस्कार २०६९, गोपालदास पत्रकारिता पुरस्कार २०६३, प्रेस स्वतन्त्रता सेनानी २०६४, राष्ट्रिय प्रतिभा पुरस्कार २०६४, जगदम्बाश्री पुरस्कार २०७३ बाट सम्मानित भएका छन् ।

प्रतिकृया दिनुहोस्