Pokharapatra National Daily

कोरोना नियन्त्रण र व्यवस्थापन हुने गरी नीति तथा कार्यक्रम प्रस्तुत

कार्यकर्तामुखि कार्यक्रम आएको प्रतिपक्षको आरोप

गण्डकी प्रदेश सरकारले नयाँ सरकार गठनको तेश्रो दिनमै निती तथा कार्यक्रम ल्याएको छ । असार १ गते बजेट ल्याउनु पर्ने कानूनि प्रावधान भएकोले प्रदेश सरकारले हतार हतारमा सोमबार नीति तथा कार्यक्रम ल्याएको हो ।
गण्डकी प्रदेश सभा बैठकमा प्रदेश प्रमुख सिता कुमारी पौडेलले सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । यस बर्षको निती तथा कार्यक्रम कोरोना रोकथाम, उपचार र व्यवस्थापनमा केन्द्रित हुने गरी सार्वजनिक भएको छ । प्रदेश प्रमुख पौडेलले कोरोना राहत प्याकेज सहितको १ सय ८१ बुंदे निती तथा कार्यक्रम सदनमा प्रस्तुत गरेकी हुन् ।
कोभिड–१९ को विरुद्ध खोपको व्यवस्थापन गर्नुका साथै महामारीबाट बच्न सावधानीका लागि सचेतना, संक्रमण परीक्षण, संघ र स्थानीय तहबाट गरिने कार्यक्रममा सबलीकरण, समन्वय र सहयोग गरिने भएको छ भने कोभिड–१९ संक्रमितको उपचारलाई प्रभावकारी बनाउन अत्यावश्यक स्वास्थ्य उपकरण, सामग्री तथा औषधिको व्यवस्था गरिने भएको उक्त कार्यक्रममा उल्लेख गरिएको छ । त्यसै गरी कोभिड–१९ को संक्रमणका कारण बाबु वा आमा गुमाएका बालबालिकाहरुलाई नगद राहतको व्यवस्था गरिने भएको छ भने कोभिड–१९ को संक्रमणका कारण जीवन गुमाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका आम नागरिकका परिवारलाई नगद राहत उपलब्ध गराइने उल्लेख गरिएको छ ।
कोभिड–१९ को महामारीको नियन्त्रणका लागि अग्रपंक्तिमा रही उत्कृष्ट सेवा प्रदान गर्ने स्वास्थ्य कर्मीहरुलाई ‘कोरोना फ्रन्टीयर सर्वोत्कृष्ट सेवा पुरस्कार’ को व्यवस्था गरिने, नेपाल सरकारसँगको सहकार्यमा संक्रामक तथा सरुवा रोग अस्पताल भवन निर्माण तथा अन्य स्वास्थ्य पूर्वाधार तयार गरी प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताललाई सबै प्रकारका सरुवा रोगको उपचार गर्ने नमूना अस्पताल को रुपमा विकास गरिने भएको निती तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
कोभिड–१९ ले पर्यटन, यातायात, कृषि, उत्पादन तथा सेवा क्षेत्रमा पारेको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्दै उत्पादन तथा रोजगारी अभिवृद्धि गर्न उद्यमी तथा व्यवसायीहरुलाई निर्वाव्याजी कर्जा उपलब्ध गराउन संचालित व्यवसाय जीवन रक्षा कर्जा कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । जुन कोषमा अघिल्लो बर्ष एक अर्ब बजेट विनियोजन भएको थियो । त्यसै गरी एयर लिफ्टिङ सेवालाई निरन्तरता दिइने भएको छ भने स्थानीय तहसँगको साझेदारीमा गर्भवती र सुत्केरीको घर घरमा दक्ष स्वास्थ्यकर्मी सेवा बिस्तार गरिने, पूर्ण खोपयुक्त प्रदेशलाई दिगो राख्न सबै बालबालिकालाई खोप सेवा कार्यक्रम प्रभावकारी बनाउने, बालबालिका, किशोरी र महिलाहरुको पोषण स्थितिमा सुधार ल्याउन नेपाल सरकार र स्थानीय तहसँगको साझेदारीमा सञ्चालित बहुक्षेत्रीय पोषण सुधार कार्यक्रम सबै स्थानीय तहमा बिस्तार गनिरे भएको छ ।
प्रदेश सरकार अन्तर्गत सञ्चालित अस्पतालहरुमा विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली र स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीसुधार गरी स्वास्थ्य सेवाको सुदृढीकरण गरिने भएको छ भने गण्डकी स्वाथ्य बिज्ञान प्रतिष्ठानमा मुटु, मृगौला र क्यान्सर रोगको उपचार गर्ने व्यवस्था गरिने कार्यक्रममा उल्लखे गरिएको छ ।
पूँजीगत खर्चमा लक्ष्य अनुसार प्रगति हासिल गर्नका लागि समयमै निर्धारित लक्ष्य र बजेट अनुसार कार्यसम्पन्न गर्ने निर्माण व्यवसायी र कर्मचारीलाई प्रोत्साहन गर्ने, सार्वजनिक खर्चलाई मितव्ययी एवं नतिजामुखी बनाउन मापदण्ड तयार गरी कार्यान्वयन गर्ने, प्रदेश विपद् व्यवस्थापन कोषमा रकम वृद्धि गर्ने, ।प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्रको सुदृढीकरण गर्ने भएको निती तथा कार्यक्रममा समेटिएको छ । प्रदेश प्रहरी गठन गरी संगठन संरचना तयार गरिने, प्रदेश अनुसन्धान ब्युरोको गठन तथा परिचालन सम्बन्धी कानून तर्जुमा गरी प्रदेश अनुसन्धान ब्युरो स्थापना गर्ने, लोकतान्त्रिक आन्दोलन तथा जनयुद्धका द्वन्द्वपीडित व्यक्ति तथा परिवारका लागि राहत कार्यक्रम अन्तर्गत द्वन्द्वपीडितहरुको जीविकोपार्जनमा सुधार गर्ने सीपमूलक तालिम कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।
राष्ट्रिय र प्रादेशिक लोकमार्गबाट सबै स्थानीय तहको केन्द्र जोड्ने सडकलाई आगामी दुई वर्षभित्र स्तरोन्नति गरी कालोपत्रे गर्ने, प्रादेशिक लोकमार्ग, स्थानीय तहको केन्द्र जोड्ने सडक र अन्य सडकमा पर्ने नदी र खोलामा सडकपुल तथा पुलेसा निर्माण कार्यलाई निरन्तरता दिदै ठूला नदीमा नवीन प्रविधिको प्रयोग गर्दै सडक पुल निर्माण गर्ने कार्यलाई निरन्तरता दिने भएको प्रदेश प्रमुखले बताइन् । प्रदेशको प्राथमिकतामा रहेका भीमाद–डेढगाउँ–अरुणखोला सडक, शालिग्राम करिडोर, रूइला भन्ज्याङ–साम्दो–ल्हो–प्रोक–विही–सिर्दिबास सडक, डुम्रे बेंशीसहर मनाङ सडक आयोजनालाई नेपाल सरकारसँगको सहकार्यमा निरन्तरता दिने। उत्तरदक्षिण द्रुतमार्ग कोरोला–पोखरा–दुम्कीवास हुँदै त्रिवेणीको निर्माण कार्यलाई निरन्तरता दिइने, दमौलीबाट बुद्धसिंह मार्ग हुँदै त्रिवेणी जोड्ने सडक निर्माणको कार्य अगाडि बढाउने, सिद्धार्थ राजमार्गको स्तरवृद्धि गर्न नेपाल सरकार र लुम्बिनी प्रदेश सरकारसँग सहकार्य गरिनेछ । पृथ्वी राजमार्गको पोखरा मुग्लिन खण्डको स्तरवृद्धि गर्ने, मध्यपहाडी लोकमार्गको निर्माण हुन बाँकी खण्ड सम्पन्न गर्ने, कालिगण्डकी करिडोरको स्तरवृद्धि गर्ने कार्यक्रममा सहजीकरण गर्ने भएको प्रदेशको निती तथा कार्यक्रममा उल्लेख छ ।
गण्डकी प्रदेशलाई नेपालको मुख्य पर्यटन केन्द्रविन्दु र पोखरालाई नेपालको पर्यटकीय राजधानीको रुपमा विकास गर्ने कार्यलाई निरन्तरता दिदै प्रदेश पर्यटन गुरुयोजनाको पुनरावलोकन गर्ने, पोखरा–काठमाडौं–लुम्बिनीलाई गौतमबुद्ध स्वर्णिम त्रिकोणको रुपमा विकास गर्न नेपाल सरकार र अन्तर प्रदेश सरकारको सहकार्यलाई निरन्तरता दिइने, त्रिवेणी, देवघाट, केलादीघाट, राम्दीघाट, रुद्रवेणी, शालिग्राम, बागलुङ कालिका, पञ्चकोट, बराह, गलेश्वर, मुक्तिनाथ, दामोदरकुण्ड, विन्ध्यवासिनी पोखरा, करापुटार, व्यास दमौली, छिम्केश्वरी, गोरखकाली, मनकामना जोड्ने धार्मिक परिपथ विकास गरिने भएको छ ।
विश्व शान्ति जैविक विविधता उद्यान, विश्वशान्ति स्तूप, पुम्दी÷भुम्दीकोट, भञ्ज्याङ हुँदै भदौरेसम्म जैविक तथा पर्यटकीय पदमार्ग निर्माण कार्य अगाडि बढाइने, मनास्लु र अन्नपूर्ण संरक्षण क्षेत्र तथा ढोरपाटन शिकार आरक्षमा प्रकृतिमा आधारित पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्ने, गुणस्तरीय पर्यटनमा जोड दिई आन्तरिक पर्यटन प्रवर्द्धन गरिन भएको छ भने विदा पर्यटन कार्यक्रमलाई निरन्तरता दिइन भएका छ ।
नेपाल सरकार र पोखरा महानगरपालिकासँगको सहकार्यमा रामसारमा सूचीकृत फेवाताल लगायतका तालहरुको गुरुयोजना निर्माण गरी योजनावद्ध रुपमा संरक्षण र सौन्दर्यीकरण गर्ने कार्यलाई निरन्तरता दिने, शुद्ध पिउने पानी, जलीय स्वच्छता र वातावरणीय सेवा प्रवाहको सुनिश्चितता गर्न एकीकृत जलाधार व्यवस्थापन कार्यलाई निरन्तरता दिने, प्रदेशमा रहेका जैविक विविधता र उच्च हिमालमा रहेका पवित्र पारिस्थितिकीय भूदृश्यमा वातावरणीय अध्ययन बिना गरिने भौतिक विकास निर्माणको कार्यलाई निरुत्साहित गरिने भएको कार्यक्रममा उल्लेख गरिएको छ । आम सञ्चार माध्यमहरुलाई लोककल्याणकारी विज्ञापन मार्फत व्यावसायिक बनाउन प्रोत्साहन गरिने, सञ्चारकर्मीको क्षमता विकास गरिने, आम सञ्चार नीति निर्माण गरी कार्यान्वयनमा ल्याइने, सार्वजनिक सेवा प्रवाहमा नागरिकको सरल र सहज पहुँच वृद्धि गर्न आधुनिक सूचना प्रविधिको प्रयोग वृद्धि गर्ने सार्वजनिक प्रशासन पारदर्शी, जवाफदेही, नागरिकमैत्री तथा भ्रष्टाचारमुक्त बनाइने भएको छ । यसैबिच, प्रदेश प्रमुख पौडेललाई नेपाल प्रहरीले सलामी समेत दिएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टोलीले उनलाई फुलको गुच्छाले स्वागत गरेका थिए ।
प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले नयाँ सरकारले आफुहरुले तयार पारेको निती तथा कार्यक्रममा थप १२ वटा नयाँ योजनाहरु मात्र थपेको बताए । प्रदेश सरकारका निवर्तमान प्रवत्ता एवं भौतिक पुर्वाधार तथा योजना निवर्तमान मन्त्री रामशरण बस्नेतले प्रायः अधिकांश निती तथा कार्यक्रमहरु आफुहरुले तयार पारेकै आधारमा आएको बताए ।
उनले भने “यो सरकारले एउटा नयाँ कुरा थपेको छ, कोरोना राहत नगद प्याकेज, हाम्रो प्रदेशमा जुन रुपमा पूर्वाधार विकासका कामहरु भईरहेका थिए, अब यस्ता राहत नगद, तालिम र गोष्ठीमा खर्च गर्यौं भने पूर्वाधारका क्षेत्रहरु ओझेलमा पर्छन जनताले कुनै सेवा सुविधा पाउदैनन् ।” बजेट आउदै गरेकोले थप यसको बारेमा कस्तो बजेट आउछ त्यस पछि अनय कुरा भन्न सकिने उनले जनाए । आफुहरुले तयार पारेको निती तथा कार्यक्रम मध्य केही कुरा छुटेको समेत बताएका निवर्तमान मन्त्री बस्नेतले हाता हाति दिने कार्यकर्ता मुखि बजेट आएको आरोप लगाए ।

प्रतिकृया दिनुहोस्