Pokharapatra National Daily

प्रदेशको पर्यटन मन्त्रालय सहित ७ संस्था फेवातालबाट माटो निकाल्ने कार्यमा

गण्डकी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय सहित ७ वटा संस्थाको अगुवाईमा पोखराको फेवातालको माटो तथा ढुंगा निकाल्न सुरु गरिएको छ ।
प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले मंगलबारदेखि फिर्के खोलादेखि उत्त माटो निकाल्ने कार्यको निर्देशन दिदै प्रारम्भ गरेका थिए ।
फेवातालको माटो तथा ढुंगा एवं फोहोरजन्य पदार्थ निकाल्ने अभियानमा सरोकार निकायहरुको सहयोग आवश्यक भएको मन्त्री लम्सालको भनाई थियो । पोखरा फेवाबाधको मर्मत गर्न हाल पानीको सतह घटेको अबस्थामा बढी समस्या रहेको फिर्केखोलाबाट माटो निकाल्ने अभियान सुरु भएको पर्यटन मन्त्रालयका महाशाखा प्रमुख रामकाजी श्रेष्ठले बताए । मन्त्रालयको संयोजनमा पोखरा महानगरपालिका, जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय कास्की, बृहत जलाधार व्यबस्थापन कार्यालय कास्की, जलाधार व्यबस्थापन कार्यालय, तनहुँ, डिभिजन वन कार्यालय कास्की, ताल संरक्षण तथा विकास प्राधिकरणको सहकार्यमा फेवातालमा थिग्रानको माटो निकाल्ने कार्य सुरु भएको हो ।
करिब साँढे ३ मिटरको भाग माटो, ढुंगा तथा फोहोरले तालको भाग पुरिएको फिर्के खोलामा पानीको सतहमा पु¥याउन कम्तिमा २ मिटर माटो फाल्नु पर्ने महाशाखा प्रमुख एवं फेवाताल माटो निकाल्ने अभियानका संयोजक समेत रहेका श्रेष्ठले बताए । फिर्केखोलाको माटो निकालेसंगै कोमागाने पार्क र बसुन्धरा पार्क क्षेत्रमा रहेका खाल्डा खुल्डी सहित घोल क्षेत्रमा उत्त माटो व्यबस्थापन गरिने भएको संयोजक श्रेष्ठले बताए । फिर्केखोला क्षेत्रको माटो, बाराहीघाट नजिक, खहरेखोला क्षेत्रमा, चिसाखोला लगायतका क्षेत्रको पहिलो चरणमा करिब १५ हजार घनमिटर माटो निकाल्ने लक्ष्य राखिएकोे उनले जनाए । उत्त माटो निकाल्न करिब २५ लाख लाग्ने भएको संयोजक श्रेष्ठले बताए । हालसम्म ताल संरक्षण तथा विकास प्राधिकरणले उत्त माटो निकाल्ने अभियानमा करिब ५ लाख लगानी गर्ने भएको छ भने अन्य निकायहरुसंग समन्वय गर्दै गरेको उनले जनाए । प्राधिकरणले कोमागाने र बसुन्धरा पार्कको सौन्दर्यकरण गर्ने बजेट मध्य उत्त पार्कको सतह मिलाउने गरी उत्त रकम फेवातालको माटो तथा माटोजन्य पदार्थ निकाल्न खर्चिन लागेको प्राधिकरणका कार्यकारी निर्देशक डा. अनुप गुरुङले बताए । आवश्यक बजेटको जोहो सरोकार निकायहरुसंगको सहकार्यमा व्यबस्थापन गरिने भएको उनले जनाए । हाल फेवाबाधको गेट बन्द गरिएकोले जति सक्दो छिटो माटो निकाल्दा सहज हुने निर्देशक डा. गुरुङको भनाई थियो ।
हाल केही दिन देखि फेवाबाधको गेट बन्द गरिएकोले तालको पानी रिचार्ज हुन थालेको जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय कास्कीका डिभिजन प्रमुख इ.किरण आचार्यले बताए । करिब एक महिनामा तालको पानीको सतह पहिलाकै अबस्थामा पुग्ने अन्यथा अन्य पानीको श्रोत तालमा ल्याउनु पर्ने उनले बताए । फेवातालमा हाल हर्पन खोलाको पानी नै मुख्य श्रोतको रुपमा राखिएको हो । एक महिनामा पहिलाकै अबस्थामा पानीको सतह नपुगेको अबस्थामा सेतीनदीको पानी समेत तालमा मिसाउन सकिने भएको आचार्यले जनाए । पोखराको फेवातालको बाध करिब ३८ बर्ष पछि मर्मत गर्न थालिएको हो । बाधको रवरशिल र लन्चिन एप्रोन(शुसन) पानीले खिएका कारण बाधबाट पानी चुआवट भएकोले त्यसको मर्मतको कार्य आन्र्तगत रवरशिल फेरीएको छ भने अन्य काम धमाधम भई रहेको डिभिजन प्रमुख आचार्यले बताए । २०३१ सालमा फेवातालको बाध फुटृसंगै यूएनडिपीको सहयोगमा २०३९ सालमा बाध पुनः मर्मत भएको थियो । फेवातालमा पानीको सतह घटेसंगै केही होटल तथा रेष्टुरेण्ट व्यवसायीहरुले पुनः फेवाताल मिच्न समेत सुरु गरेका छन भने केही ठाँउमा सिंसार क्षेत्र पुर्न समेत थालेको स्थानिय शिव देवकोटाले बताए ।
फेवाताल चारकिल्ला निर्धारण, सिमाङकन तथा नक्साङकन समितिले फेवातालको क्षेत्रफल ५ दशमवल ७ सय २६ वर्ग किलोमिटर अर्थात ११ हजार २ सय ५५ रोपनी ११ आना १ पैसा भएको जनाएको छ । जिल्ला विकास समितिका पूर्व सभापति पुण्य प्रसाद पौडेलको संयोजकत्वमा गठन भएको समितिले उत्त क्षेत्रफल उल्लेख गरेको छ । उसो त पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित आयोगले फेवातालको क्षेत्रफल १२ हजार ८ सय ७४ रोपनी अर्थात ६.५४ बर्गकिलोमिटर रहेको प्रतिवेदनमा उल्लेख भएको छ । १ हजार ६ सय १९ रोपनी फेवातालको जग्गा कसरी गुम्न गएको त्यसको बारेमा स्थानिय अचम्मित भएका छन्। कुनै समयमा फेवाताल २० हजार रोपनी क्षेत्रफलमा समेत फैलिएको स्थानिय हेमराज पहारीले बताए ।

प्रतिकृया दिनुहोस्