आज : २०२६-१०-३१, शनिबार

बेगनासमा छैटौँ फिस फेस्टिभल सुरु, पर्यटन र स्थानीय अर्थतन्त्र चलायमान बनाउने अपेक्षा

पोखराको पर्यटकीय गन्तव्य बेगनास तालको पर्यटन प्रवद्र्धन, स्थानीय माछाको बजारीकरण तथा मौलिक कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित छैटौँ बेगनास फिस फेस्टिभल तथा देउसीभैलो प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।
होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजनामा पोखरा महानगरपालिका–३१ स्थित बेगनास ताल किनारमा सुरु भएको महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभयो ।
महोत्सव उद्घाटन गर्दै नगर प्रमुख आचार्यले पोखराका तालहरूको संरक्षण, प्रवद्र्धन र पर्यटन विकासलाई एकीकृत रूपमा अघि बढाउने महानगरको योजना रहेको बताउनुभयो । उहाँले पोखरा महानगरभित्र रहेका नौवटै ताललाई आपसमा जोड्ने गरी साइकल लेनसहितको सडक तथा कनेक्टिभिटी निर्माण प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । बेगनास ताललाई वाटर स्पोट्र्सको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै उहाँले यसका लागि आवश्यक पूर्वाधार र सहजीकरणमा महानगरले सहयोग गर्ने बताउनुभयो । तालचोक–बेगनास सडक निर्माण अन्तिम चरणमा पुगेको तथा शिशुवाचोकदेखि खुदीखोला पुलसम्मको सडक निर्माण भइसकेको उहाँको भनाइ थियो । खुदीखोलादेखि रूपातालसम्मको सडक निर्माणसमेत अघि बढिरहेको उहाँले जानकारी दिनुभयो ।
फेवा र बेगनास ताललाई आधुनिक प्रविधिमार्फत जोड्ने योजनाले पोखराको पर्यटन प्रवद्र्धनसँगै पर्यटकको बसाइ अवधि लम्ब्याउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । गण्डकी प्रदेशकी प्रमुख सचिव आवास श्रेष्ठ कर्णले महोत्सवले स्थानीय स्रोतसाधनको उपयोग, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । स्थानीय किसान, युवा तथा व्यवसायीलाई पर्यटनसँग जोडेर दिगो विकासको अभियानमा सहभागी हुन उहाँले आग्रह गर्नुभयो ।
पोखरा–३१ का वडाध्यक्ष ढकनाथ कँडेलले महोत्सवले बेगनास ताललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले बेगनास क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थलको विकास, बराह मन्दिर क्षेत्रको प्रवद्र्धन र वाटर स्पोट्र्सका पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिनुभयो । लेखनाथ उद्योग वाणिज्य सङ्घकी अध्यक्ष जानुका पराजुली अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो । समाजसेवी शान्ति खनालले स्थानीय माछाको बजारीकरण, पर्यटन प्रवद्र्धन तथा मौलिक कला र संस्कृतिको संरक्षणमा महोत्सवले सकारात्मक योगदान पु¥याउने धारणा व्यक्त गर्नुभयो । महोत्सवमा बेगनास तालमा पाइने विभिन्न प्रजातिका स्थानीय माछाको प्रदर्शनी, माछापालनसम्बन्धी जानकारी, माछाका विभिन्न परिकारको बिक्री तथा स्वाद लिन पाइने आयोजकले जनाएको छ । यसका साथै राष्ट्रिय तथा स्थानीय कलाकारका सांगीतिक प्रस्तुति, पप कन्सर्ट, व्यापारिक मेला, देउसीभैलो प्रतियोगिता तथा विभिन्न कम्पनीका उत्पादनको प्रदर्शनी र बिक्री महोत्सवका मुख्य आकर्षण रहनेछन् ।
होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथका अध्यक्ष एवं महोत्सव संयोजक सुरेश लामिछानेले स्थानीय उत्पादन, मौलिक स्वाद र पर्यटनलाई एउटै थलोमा जोड्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार महोत्सवले स्थानीय माछा व्यवसायी, किसान, होटल तथा रेस्टुरेन्ट व्यवसायी र साना उद्यमीलाई आफ्नो उत्पादन तथा सेवा प्रवद्र्धन गर्ने अवसर प्रदान गर्नेछ । ‘माछाको स्वाद, संस्कृतिको पहिचान, हाम्रो मौलिकताको सम्मान’ भन्ने नारासहित आयोजना गरिएको महोत्सव आगामी कात्तिक २३ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवबाट बचत भएको रकम तालबाराही, गोरखनाथ मन्दिर तथा बेगनास ताल क्षेत्रको विकासमा खर्च गरिने आयोजकले जनाएको छ । प्राकृतिक सौन्दर्य, स्थानीय माछाका परिकार, सांस्कृतिक विविधता र पर्यटनको सम्भावना बोकेको बेगनास क्षेत्रमा आयोजना हुने यस महोत्सवले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउनुका साथै स्थानीय उत्पादनको खपत, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा टेवा पुयाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%

सम्बन्धित थप पोस्टहरू