आज : २०२६-११-२२, आइतबार

देश समृद्ध बनाउन र भ्रष्टाचार अन्त्य गर्ने अभियान छुः सभामुख अर्याल

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले देश समृद्ध बनाउन र भ्रष्टाचार सधैँका लागि अन्त्य गर्न भ्रष्टाचारमुक्त समाज निर्माणको अभियानमा लागेको बताउनुभएको छ ।
शनिबार लायन्स क्लब अफ पोखराको ५०औँ वर्ष अर्थात् स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले देशमा सुशासन कायम गरी भ्रष्टाचारलाई सधैँका लागि अन्त्य गर्ने बृहत् अभियानका साथ सदनलाई प्रभावकारी बनाउने कार्यमा आफू जुटेको बताउनुभएको हो ।
राजनीतिमा प्रवेश गरेसँगै इमानदारीपूर्वक काम गर्नुपर्ने बोध भएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “यो देशमा भ्रष्टाचार सधैँका लागि अन्त्य गर्नका लागि एउटा ठूलो सोच लिएर एउटा अभियानमा जुटेको छु ।” सुशासनको प्रत्याभूति भएमा मात्रै वर्तमान र भावी पुस्ता सुरक्षित रहने उहाँको भनाइ छ ।
सभामुख अर्यालले भन्नुभयो, “हामीले यो देशमा सुशासन कायम ग¥यौँ भने हामीसँगै हाम्रा सन्तान र परिवार, समाज सधैँ सुरक्षित हुनेछौँ ।” आसन्न संसद्को कामकारबाहीलाई मर्यादित र नतिजामुखी बनाउने विषयमा चर्चा गर्दै उहाँले भन्नुभयो, “अब सदन सुरु हुँदैछ, सदनलाई सकारात्मक र नतिजामूखी बनाउन सहकार्य र समन्वयलाई जोड दिनेछु । यसका लागि तपाईंहरूबाट थुप्रै प्रेरणा प्राप्त गरेको छु ।”
कानुन निर्माण गर्दा देशको भूगोल सुहाउँदो, अभिभावक तथा अग्रजको सम्मान हुने र भावी पुस्ताले गर्व गर्नसक्ने व्यवस्था समेटिनुपर्ने सभामुख अर्यालले बताउनुभयो । प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यसहित ३३४ जना सांसदले कानुन निर्माणमा भूमिका निर्वाह गर्ने उल्लेख गर्दै सभामुख अर्यालले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिसम्म कानुन निर्माणको विषय सार्वजनिक हुने बताउनुभयो । देशलाई आर्थिक रुपमा समृद्ध बनाउन निजी क्षेत्रको सुदृढीकरण अनिवार्य रहेको सभामुख अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो, “जबसम्म हामी निजी क्षेत्रलाई बलियो बनाउन सक्दैनौँ, तबसम्म देश धनी हुन सक्दैन ।” लायन्स क्लबमा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र व्यवसायलगायत समाजका विविध क्षेत्रका सफल व्यक्तित्व, अग्रज तथा जनप्रतिनिधिको आबद्धता रहेको सभामुख अर्यालले स्मरण गर्नुभयो । लायन्स क्लबमा विद्यार्थी, प्राध्यापक, नर्स, चिकित्सक, व्यवसायी, कृषक, मजदुर, गैरआवासीय नेपाली र जनप्रतिनिधि सबै क्षेत्रको प्रतिनिधित्व रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%

सम्बन्धित थप पोस्टहरू