हिलो खेल्ने दिनमा सिमित नहोस् धान दिवस

नेपालको प्रमुख बाली धान हो । तर धनहर खेत क्षेत्रफल घट्दै जानु ठुलो समस्या भएको छ । कृषि विभागका अनुसार आव २०७६÷७७ मा १४ लाख ५८ हजार ९१५ हेक्टर क्षेत्रफलमा धान खेती हुन्थ्यो । त्यसबाट वार्षिक ५५ लाख ५० हजार ८७८ मेट्रिक टन धान उत्पादन भएको थियो । चालु आव २०८२÷८३ मा खेतीयोग्य जमिन घटेर १३ लाख ७६ हजार हेक्टर क्षेत्रफलमा सीमित भएको छ । खुसीको कुरा धानको उत्पादकत्व भने बढेको छ । धान खेत घटे पनि चालु आवमा उत्पादन बढेर ५७ लाख पाँच हजार १२६ मेट्रिक टन पुगेको छ । देशमा ४१ लाख ३१ हजार कृषक घरधुरीमध्ये २७ लाख ६५ हजार घरधुरी धान खेतीमा संलग्न भएको पाइन्छ । कुल खेतीयोग्य जमिनको ५४ प्रतिशत क्षेत्रफलमा धान खेती हुने गरेको छ । धानले कृषिक्षेत्रको कुल गार्हस्थ उत्पादनमा करिब १३ प्रतिशत तथा कुल खाद्यान्न उत्पादनमा ५० प्रतिशत योगदान पु¥याउँदै आएको छ । मनसुनमा अव्यवस्थित हुँदा धान खेतीलाई नै ठुलो असर स्वाभाविक छ । गत वर्ष मधेश प्रदेशमा साउनभर खडेरी पर्दा रोपाइँ गर्न नै समस्या भयो । यसले पनि जमिन बाँझो हुने क्रम बढेको हुनु पर्छ ।
अब नेपालको आर्थिक विकासका निम्ति कृषिलाई पहिलो प्राथमिकतामा राख्नै पर्छ । कृषियोग्य जमिन बाँझो राखेर देशको समृद्धि खोज्न सकिन्न । अब सामान्य निर्वाहमुखी खेतीभन्दा व्यावसायिक खेती प्रवर्धन गर्ने गरी नीति, योजना र कार्यक्रम अगाडि ल्याउनु आवश्यक छ । तीन तहकै सरकार कृषिलाई नवीन ढङ्गले अगाडि बढाउन संवेदनशील हुनु पर्छ । सिँचाइ, उत्पादकत्व बढाउने मल बिउ, यान्त्रिकीकरणमा बढोत्तरी नदिई बाँझो जमिन फेरि हराभर हुने छैनन् । खाद्यान्नमा स्वनिर्भर नभई मुलुकले चाहेको समृद्धि असम्भव नै हुने छ । पुर्खाले अनेक मेहनत गरेर खेतीयोग्य बनाएका कृषि भूमि बाँझो हुनबाट जोगाउनै पर्छ ।
असार १५ गतेलाई धान दिवस मनाउन थालेको २२औं वर्ष भएको छ।धान दिवसको अवसर पारेर राष्ट्रपति, प्रधानमन्त्री , मन्त्री देखि सेलीव्रेटी सम्म खेतमा पुगेर हिलोमा खेल्ने गरेका छन। असार१५ लाई दही च्युरा खाने दिनको रुपमा पनि मनाउने गरिन्छ । असार लागेसँगै अधिकांश नेपालीलाई छिपछिपे हिलो, दही–चिउरा, रोपाइँ, बाउसे, हलगोरु, रोपाहार, मेलो आदिको सम्झना हुन्छ । नेपालमा खाद्य सुरक्षा भनेकै धान हो भन्दा अतिशयोक्ति हुँदैन, किनकि करिब ६७ प्रतिशत खाद्य आपूर्ति धानबाटै हुन्छ भने खानपानमा करिब एकतिहाइ क्यालोरीको स्रोत पनि धान हो ।
क्षेत्रफल, उत्पादन, खपत आर्थिक क्षेत्रमा पु¥याइरहेको योगदान— सबैका आधारमा नम्बर १ मा छ धान बाली । चामलबाट देशमा विभिन्न समुदायले अनेक परिकार बनाउने र पवित्र कार्य वा विभिन्न संस्कारमा पनि प्रयोग गरिन्छ । नेपाल लगायत एसियाली राष्ट्रहरूको प्रमुख खाद्यान्न बाली हो, धान । संसारका सयभन्दा बढी मुलुकमा धानखेती गरिन्छ, तर वातावरणीय अनुकूलताले गर्दा एसिया महादेशलाई धान उत्पादनका दृष्टिले अग्रणी मानिन्छ । विश्वको कुल धान उत्पादनको ९० प्रतिशतभन्दा बढी उत्पादन र खपतका यसै क्षेत्रमा हुने गर्छ । चीन, भारत, इन्डोनेसिया, बंगलादेश, थाइल्यान्ड, भियतनाम, म्यानमार–यी सात देशमा मात्र विश्वमा हुनेमध्ये ८० प्रतिशतभन्दा बढी धानको उत्पादन हुन्छ । नेपाल धान उत्पादनका हिसाबले १७औँ स्थानमा पर्छ । हाम्रो खानामा धान कतिको महत्त्वपूर्ण बाली हो भन्ने कुरा त दुई नेपाली भेट भएबाटै थाहा हुन्छ । उनीहरू सोध्छन्, भात खानुभयो । संसारकै सबैभन्दा अग्लो स्थानमा धान हुने देश नेपाल नै हो । नेपालमा धानखेती समुद्र सहतदेखि ६० मिटर उचाइमा रहेको स्थान (झापाको केचनाकलन)देखि ३०५० मिटरसम्मको उचाइमा रहेको स्थान (जुम्लाको छुमचौर जिउला)सम्म हुने गर्छ । यस्तै ७५ वटा जिल्ला (मनाङ र मुस्ताङ जिल्ला बाहेक)मा धानखेती गरिन्छ ।
जलवायु परिवर्तन लगायत चुनौती थपिएका छन् । बाढी, पहिरो र सुक्खा बढिरहेको छ । हिउँदे झरी हराइसक्यो, हिमाल कालापत्थरमा परिणत हुँदै गइरहेका छन् । युवा पुस्ता माटो छुन मन गर्दैनन् । खाद्यान्नको मूल्यवृद्धि अकासिँदो छ । धान र चामलको सबै जनतासामु उपलब्धता र पहुँचको कमी छ । लाखौँ युवा बेरोजगारी कारण बिदेसिएका छन् । उनीहरूलाई तत्काल रोजगारी दिने सरकारसँग कुनै योजना छैन । छोटो समयमा रोजगारी दिन सक्ने र आम्दानी गर्न सकिने भरपर्दाे क्षेत्र कृषि नै हो । यसपटकको बजेटमा कृषिमा लगानी दशक (२०८१–०९१) घोषणा गरिएको छ, तर कार्यान्वयन प्रभावकारी होला भन्ने कुनै विश्वासिलो आधार देखिँदैन । धान चामल निर्यात गर्ने नेपाल साँच्चै धान र चामलमा आत्मनिर्भर हुने हो भने धानको उत्पादन र उत्पादकत्व बढाउने उपाय अपनाउनैपर्छ । त्यसका लागि, कृषि यान्त्रिकीकरणमा जोड, व्यावसायिक उत्पादन, उत्पादन उपरान्त हुने क्षतिमा कमी गर्ने उपायको अवलम्बन, भण्डारणका पूर्वाधार विकास हुनुपर्छ प्रविधि र पूर्वाधारका पक्षमा जोड दिएमा राष्ट्रिय धान दिवस मनाएको सार्थक हुनेछ ।







