आज : २०२६-१०-१७, शनिबार

दसैंको शुभकामना

बहुसंख्यक नेपालीको सबैभन्दा ठूलो पर्व दसैं हाम्रो घर आँगनमा आइपुगेको छ।नेपालबाट मनसुन बाहिरिएसंगै मौसम सफा भएको छ । केही ठाउँमा फाट्टफुट्ट वर्षा भए पनि निलो आकाश, घामको न्यानो र पहेंलपुर धान झुलेसंगै दसै नजिक आएको संकेत मौसमले दिन्छ । बजारमा किनमेल गर्नेको घुँइचो र सवारीसाधनमा यात्रा गर्नेको भिड र घर फर्कनेको लर्कोले दसैंको रौनकले जताततै छोपिसकेको छ । दसैंले नेपालमा सांस्कृतिक पर्वको रूप धारणा गरिसकेको छ । त्यसैले कुनै जाति, समूह, धर्मविशेष र भूगोलभन्दा व्यापक भइसकेको छ । दसैं साझा पर्व भएको छ ।
हिमालदेखि तराईसम्मै फैलिएको छ। सद्भाव र भाइचारा बढाउँदैछ । ठाउँअनुसार र समुदाय अनुसार दसैं मनाउने नेपालीका आ–आफ्ना तरिका छन् । कतै एक दिनमात्रै टीका लगाएर मनाइन्छ, कतै पाँच दिन । कतै रातो टीका लगाइन्छ, कतै सेतो टीका। बौद्ध धर्मावलम्बीसमेत सम्राट अशोकले युद्ध त्यागेको दिन सम्झिएर अहिंसा पर्वका रूपमा मनाउँछन् । दसैंको प्रमुख विशेषता नै आफन्तहरूको भेटघाट हो । वर्षमा अरू कहिल्यै र कुनै दिन फुर्सद नपाएकाहरूले पनि परिवार र आफन्त सम्झिने, भेटघाट गर्ने मौका यही हो। रिसराग र वैरभाव बिर्सेर मिलनका सेतुहरू जोड्ने मौका पनि यही हुन्छ। दसैं नेपालको ठूलो आर्थिक पर्व पनि हो । कुनै जमाना हुन्थ्यो, नयाँ लुगा दसैंमै किन्ने, मासु दसैंमा खाने । अचेल आर्थिक अवस्था उकासिँदा थुप्रै नेपालीलाई मासु खान र नयाँ लुगा किन्न दसैं आउनु पर्दैन । तर एउटा बानीचाहिँ जुनसुकै नेपालीमा छ, केही न केही नयाँ चिज किन्नु छ भने दसैंमा किन्ने ।
बजारमा किनमेल यही बेला धेरै हुन्छ । दसैंले अर्थतन्त्रका धमनीहरूमा गजबको रक्तसञ्चार गराउँछ । अर्थतन्त्र चलायमान पार्छ । यश वर्ष भोटेकोसी, कालीगण्डकी, बुढीगण्डकी नदिमा आएको बाढीले धेरै जन धनको क्षति पुर्याएको छ।हजारौंले अनाहकमा ज्यान गुमाए । हजारौं बेपत्ता भएका छन।वस्ती उजाड भएको छ । हाइड्रोपावर, पुल, सडक, भवन वगाएको छ।शहर बगरमा परिणत भएको छ।अकल्पनीय हिम पहिरो, बाढी र डुवानले ठूलो क्षति व्यहोर्नुपरेको अवस्थालाई पनि भुलेर दसैं मनाउन सबै आ आफ्नो थाकथलोमा पुगेका छन।पुग्दैछन ।
सरकारले आफ्ना नागरिकलाई वस्तु तथा सेवा पाउन सहज बनाउन पटक्कै ध्यान दिनसकेन । बजार अनुगमन छारो हाल्ने काम भएको छ । पीडा विर्साउन राहत नदिएपनि केही गर्नुपर्छ भन्ने चेत पनि नपाएको अवस्था छ।जे जस्तो परिस्थिति भए पनि रोजगारदाता÷कर्मचारीहरूले दसैं भत्ता पनि पाउँछन् । पैसाको आपूर्ति अत्यधिक यही बेला हुन्छ । राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट उपलब्ध गराउन पनि दसैंको छेको पर्खन्छ । दुःखहरूलाई केही दिन भए पनि मुलतबीमा राखेर हर्षाेल्लास गर्ने पर्व दसैंले सर्वसाधारणदेखि ठूलाबडाहरूलाई एकैसाथ खुसी दिन्छ । जसैजसै यो पर्व अधिकतर नेपालीको अपनत्व सँगाल्दै व्यापक भएको छ, देश–विदेशका नेपालीलाई जोड्ने एकताको सूत्र बन्दै गएको छ । यसले सबै नेपालीलाई हर्ष देओस्। शान्ति र सुख–समृद्धि देओस् । सबैलाई शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%

सम्बन्धित थप पोस्टहरू