कोन सहकारीसहित तीन संस्थालाई उत्कृष्ट करदाता सम्मान

आन्तरिक राजस्व कार्यालय पोखराले विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८३ सोमवार सम्पन्न गरेको छ । ‘कर न्याय र सुशासनको सुनिश्चितता समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नाराका साथ सोमबार आयोजित कार्यक्रमबीच कर सप्ताह समापन गरिएको हो । यस वर्ष आन्तरिक राजस्व कार्यालय पोखराले कास्की जिल्लाबाट तीनवटा संस्थालाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको छ । पोखरा महानगरपालिका वडा नं १३ स्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष माधव प्रसाद सिग्देल, टेम्पल ट्री रिसोर्ट एण्ड स्पाका अध्यक्ष बसन्त गौतम र पोखरा वडा नं ५ स्थित एक्सेस कन्स्ट्रक्सन प्रालिका संचालक विद्या लक्ष्मी लामिछानेलाइ सम्मानित गरिएको छ । राष्ट्रिय कर दिवस तथा कर सप्ताहको समापनका अवसरमा आयोजित विशेष समारोहमा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ र आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुङ्गानाले तीन संस्थाका पदाधिकारीहरुलाई दोसल्ला, माला तथा सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो । आर्थिक वर्ष २०८१ ÷ ८२ मा आयकरतर्फ बढी कर दाखिला गरेका, कर बक्यौता नरहेका तथा कुनै पनि कर अवधिको कर विवरण बुझाउन बाँकी नरहेका करदातालाई उत्कृष्ट करदाताका रूपमा छनोट गरिएको आन्तरिक राजस्व कार्यालय पोखराले जनाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले राजस्व संकलनको लक्ष्य प्राप्त गर्न सम्बन्धित निकायले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताए । उनले करदाताको दर्ता, कर दायित्व, राजस्व दाखिला, दक्षता र करको दायरा विस्तारमा जोड दिँदै करका दरलाई उचित बनाउने तथा आवश्यकता अनुसार दण्ड र जरिवानाको व्यवस्था प्रभावकारी बनाउनुपर्ने धारणा राखे । नागरिक तथा व्यवसायीले आफ्नो कर दायित्व इमानदारीपूर्वक पूरा गर्दा राज्यको आर्थिक आधार बलियो हुने उनको भनाइ थियो । करबाट प्राप्त राजस्व नै मुलुकको विकास, सार्वजनिक सेवा प्रवाह र समृद्धिको प्रमुख आधार भएकाले सबैले कर तिर्ने संस्कारलाई आत्मसात् गर्नुपर्ने उनले बताए । आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुङ्गानाले कर कानुनको पालना गर्दै राजस्व संकलनमा योगदान पु¥याउने सम्पूर्ण करदाताप्रति आभार व्यक्त गरे । उनले कार्यालयबाट प्रदान गरिने सेवामा गुणात्मक सुधार गर्दै करदातामैत्री सेवा प्रवाहलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतम, पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमराज बास्तोला, स्याङ्जा चेम्बर अफ कमर्सका अध्यक्ष श्री गुरुङलगायत व्यवसायी संघसंस्थाका प्रतिनिधिले कर प्रशासन व्यवसायमैत्री हुनुपर्नेमा जोड दिए । उनीहरुले यवसाय सञ्चालनका लागि अनुकूल वातावरण निर्माण गर्न राज्यले आवश्यक पहल गर्नुपर्ने धारणा राखे । आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म राजस्व संकलन लक्ष्यको १०४ प्रतिशत हासिल गरेको छ । कार्यालयको वार्षिक राजस्व संकलन लक्ष्य आठ अर्ब ५४ करोड ८७ लाख ८६ हजार रुपैयाँ रहेकामा कात्तिक मसान्तसम्म दुई अर्ब ३६ करोड पाँच लाख २९ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
कार्यालयले कात्तिक मसान्तसम्मका लागि निर्धारण गरिएको आयकरतर्फको लक्ष्यअनुसार एक अर्ब २६ करोड ८२ लाख ४९ हजार रुपैयाँ र मूल्य अभिवृद्धि करतर्फ ५४ करोड ९० लाख ९६ हजार रुपैयाँ संकलन गरेको जनाएको छ । कास्की र स्याङ्जा जिल्लालाई कार्यक्षेत्र बनाएको आन्तरिक राजस्व कार्यालय पोखरामा आयकरतर्फ ९० हजार करदाता दर्ता भएका छन् ।














