Pokharapatra National Daily

सौर्य एयरको विमान दुर्घटना

काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ ।
प्राधिकरणका अनुसार अमितमान महर्जन, सागर आचार्य (सेफ्टी प्रमुख), अश्विन निरौला (सिएएमओ म्यानेजर), दिलीप वर्मा (क्यूए प्रमुख), यज्ञप्रसाद पौडेल, शुसान्त कटुवाल (को–पाइलट), सुदीपलाल जोशी, सर्वेस मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिज्जा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, मनुराज शर्मा, सन्तोष महतो, पुण्यरत्न शाही, एरिफ रेडा (विदेशी नागरिक)ले ज्यान गएका छन् । उक्त विमानका पाइलट मनिष शाक्य गम्भीर घाइते हुनुभएको छ । उहाँको हाल सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो । सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो । सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
आयोगको सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दिपुराज ज्वार्चन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई, श्री एयरलाइन्सका इञ्जिनियर सञ्जय अधिकारी रहनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एयर ट्राफिक कन्ट्रोलर (एटिसी) अधिकृत मुकेश डङ्गोल सदस्य सचिव रहनुभएको छ । आयोगलाई वायुयानको सत्यतथ्य जाँचबुझगरी ४५ दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ । सञ्चारमन्त्री गुरुङकानुसार आगामी दिनमा हवाई दुर्घटना हुन नदिन स्वदेशी तथा विदेशी वायुसेवा सञ्चालन गरिरहेका सञ्चालक कम्पनीले विमानको अनिवार्य प्राविधिक परीक्षण गर्ने र प्राधिकरणले सोको सघन अनुगमन गर्ने निर्णय गरेको छ । यस शोकको घडीमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
यसैगरी सौर्य एयरलाइन्सको दुर्घटनामा परी निधन भएकाको शव परीक्षण सुरू भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण सुरू भएको हो । अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालप्रसाद चौधरीले चार वटा शव परीक्षण गरेर शवको पहिचानको काम सुरू गरिएको जानकारी दिनुभयो । उहाँकानुसार एक जनाको शव पत्ता लगाउनका लागि चार घण्टा लाग्नेछ । अस्पतालमा जनशक्ति कम भएकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर अस्पताल, धुलिखेल अस्पताल, पोखराबाट समेत चिकित्सक बोलाइएको र उहाँहरू भोलिसम्म आइपुग्ने अस्पतालका डा चौधरीले बताउनुभयो । मृतकका आफन्तले उपलब्ध गराएको विवरणअनुसार म्याचिङ गरेर सबै शवको पहिचान ७२ घण्टाभित्र गर्ने उहाँले बताउनुभयो । “आफन्तजनले दिएको विवरणअनुसार शवलाई म्याच गराएर पहिचान प्रक्रिया पूरा गर्नेछौँ । सकेसम्म आवश्यक काम चाँडो गरेर शव दिने हाम्रो कोशिस छ”, डा चौधरीले भन्नुभयो, “शव धेरै नै जलेको हुनाले पहिचान गर्न समय लाग्नेछ ।”अस्पतालमा सुरूमा परीक्षण गरिरहेका चार वटा शव सय प्रतिशत जलेको उहाँको भनाइ छ । शव पहिचानका लागि फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया र डिएनए परीक्षण विधि अपनाइन्छ । उहाँले फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया विधिबाट शव पहिचान नभए अन्तिममा डिएनए विधिबाट शव पहिचान गर्ने बताउनुभयो । डिएनए विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने उहाँको भनाइ छ । शव परीक्षणगरी पहिचान गर्नका लागि २५ जना चिकित्सकसहितको प्राविधिक टोली खटेको छ ।
यसैगरी प्राधिकरणका अनुसार नेपालको हवाई उडानको इतिहासमा हालसमम सबै प्रकारका वायुयानगरी एक सय आठ दुर्घटना भएका छन् । ती दुर्घटनामा परी नौ सय ५९ जनाको मृत्युभएको छ । दुर्घटनामध्ये विदेशी दर्ता विमान १० दुर्घटनमा तीन सय ७९, हेलिकोप्टरतर्फ ३९ दुर्घटनामा ९२ जनाको मृत्यु, सिङ्गल इन्जिन विमानको आठ वटा दुर्घटना हुँदा २५ जना र ‘फिक्स विङ्ग’ विमान ५० वटा दुर्घटना हुँदा चार सय ५१ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्