छठको मुख्य दिन पोखरामा मनाइयो छठ पर्व

पर्यटकीय नगरी पोखरामा यस वर्षको छठ पर्व उल्लास र भक्तिभावका साथ मनाइदैछ । छठ पर्वको मुख्य दिन आइतबार पोखराका विभिन्न चार स्थानमा सामूहिक रूपमा छठ पूजा गरिएको छ । तर अस्ताउँदो सूर्यलाई अर्र्घ दिने समयमा एक्कासि वर्षा भएपछि छठ पूजा गरिरहेका व्रतालु तथा सूर्यका भक्तजनलाई भने सास्ती भएको छ ।
पोखराको नदीपुरस्थित नारायणथान मन्दिर परिसर, बैदामस्थित केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनार), रिठ्ठाघाट त्रिवेणीधाम (कालीखोला) र कमलपोखरी क्षेत्रमा छठ पर्व विशेष उत्साहका साथ पहिलो दिनको छठ पूजा मनाइएको सम्बन्धित छठ पूजा समितिहरूले जनाएका छन् ।
छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन पोखराका विभिन्न घाटमा भक्तजनको उल्लेख्य उपस्थिति थियो । व्रतालुहरूले फलफूल, ठेकुवा, प्रसाद तथा पूजाका सामग्रीसहित जलाशयमा उभिएर सूर्यदेवलाई अर्घ दिइरहेका बेला एक्कासि पानी परेको थियो । करिब १५ देखि २० मिनेटसम्म परेको वर्षाका कारण अस्थायी रूपमा निर्माण गरिएका छठघाटमा पूजा गरिरहेका भक्तजनदेखि घाटमा पुगेका दर्शनार्थी तथा दर्शकसमेत भिज्न पुगेका थिए ।
छठ पूजा व्यवस्थापन समितिले सामान्य वर्षा हुँदा पनि सहज रूपमा पूजा गर्न सकियोस् भनेर टेन्टको व्यवस्था गरेको भए पनि ठूलो पानी परेपछि भक्तजनलाई पूजा गरिरहेको स्थानबाट उठ्नुपर्ने अवस्था आएको थियो । कतिपयले पूजा गर्दागर्दै बीचमै छाडेर सुरक्षित स्थानतर्फ जानुपरेको थियो भने कतिपय वर्षामै भिज्दै पूजा सम्पन्न गर्न बाध्य भएका थिए ।
नेपाल–भारत व्यवसायी संघ (एनबी) कास्कीका पूर्वअध्यक्ष भुनेस कुमारले अर्र्घ दिने समयमा परेको वर्षाले भक्तजनलाई असहज बनाएको बताउनुभयो । सामान्य पानी पर्दा पनि पूजा गर्न सकिने गरी टेन्टको व्यवस्था गरिएको भए पनि एक्कासि ठूलो पानी परेपछि भक्तजनलाई समस्या भएको उहाँले बताउनुभयो ।
यसैगरी, एनबी व्यवसायी संघ कास्कीका अध्यक्ष विश्राम कुशवाहाका अनुसार बैदामस्थित केदारेश्वर महादेवमणि मन्दिर परिसरमा वि.सं. २०६८ सालदेखि छठ पूजा गर्न थालिएको हो । सुरुमा सीमित सहभागिताबाट सुरु भएको पूजा अहिले विस्तार हुँदै गएको र हाल उक्त क्षेत्रमा करिब चार सय जनाले छठ पूजा गर्ने गरेको उहाँले जानकारी दिनुभयो । कुशवाहाका अनुसार काम विशेष तथा पेसा व्यवसायका सिलसिलामा तराई–मधेसबाट पोखरा आएर बसोबास गर्ने समुदायले आफ्नो मौलिक धार्मिक तथा सांस्कृतिक पर्व छठलाई पोखरामै व्यवस्थित रूपमा मनाउन थालेपछि यसको आकर्षण र सहभागिता बढ्दै गएको छ । पोखरामै सहज रूपमा छठ पूजा गर्न पाउँदा व्रतालु तथा भक्तजनलाई सुविधा पुगेको उहाँको भनाइ छ ।
त्यसैगरी, पोखरा नदीपुरस्थित नारायणथान मन्दिर परिसरमा रहेको छठघाटमा पनि भक्तजनले पूजा आराधना गरेका छन् । नारायणथान मन्दिर नीलकण्ठ महादेव छठ पूजा समितिका अध्यक्ष विनोद गुप्ताका अनुसार आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिइएको छ भने भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ । गुप्ताका अनुसार पोखरामा करिब दुई दशकभन्दा अघिदेखि नारायणथान मन्दिरनजिकैको नहरबाट छठ पूजा गर्न सुरु गरिएको हो । सुरुवाती समयमा सीमित स्थानबाट सुरु भएको पूजा अहिले विस्तार हुँदै पोखराका चार प्रमुख घाटसम्म पुगेको उहाँले बताउनुभयो ।
त्यस्तै, पोखराको रिठ्ठाघाट त्रिवेणीधाम (कालीखोला) र कमलपोखरी क्षेत्रमा पनि व्रतालु तथा भक्तजनले विशेष तयारीका साथ छठ पूजा गरेका छन् । पर्वलाई व्यवस्थित बनाउन विभिन्न घाटमा सरसफाइ, सजावट तथा आवश्यक व्यवस्थापन गरिएको थियो । छठघाटलाई झिलिमिली बत्ती, फूल तथा पूजाका सामग्रीले दुलहीझैँ सिँगारिएको थियो ।
चार दिनसम्म श्रद्धा, भक्ति र निष्ठापूर्वक मनाइने छठ पर्व सूर्यदेव र छठी माताको उपासनासँग सम्बन्धित महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो । पारिवारिक सुख, शान्ति, समृद्धि, सन्तानको दीर्घायु तथा कल्याणको कामना गर्दै व्रतालुहरूले कठोर व्रत बसी अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिने परम्परा रहेको छ । पोखरामा छठ पर्व व्यवस्थित रूपमा मनाउन थालिएसँगै यहाँ बसोबास गर्ने तराई–मधेस मूलका समुदायको सहभागिता हरेक वर्ष बढ्दै गएको स्थानीयहरू बताउँछन् । पोखरामा छठ पर्वको बढ्दो आकर्षणले पहाडी मुलका व्यक्तिहरुले समेत छठ पर्व मनाउन थाल्नु भएको छ ।










