Pokharapatra National Daily

फैलिदै तीज

केही वर्षअघि नेपालमा हिन्दु महिलाहरुले मनाउने हरितालिका (तीज) पछिल्लो समय नेपाली महिलाहरुको साझा चाडमा बिकास हुँदै गइरहेको छ । हिमालय पर्वतकी छोरी पार्वतीले महादेव पति पाउँ भनी व्रत बसेको दिनलाई तीज हरितालिका मनाउन थालिएको किंवदन्ती रहँदै आएको छ । विवाहीता महिलाले पतिको दिर्घायूको कामना गर्दै ब्रत बस्ने र विवाह नभएकाले सुयोग्य वर पाउँ भनी व्रत बस्ने गरिएको तीज अहिले महिलाहरुले आफ्नो अधिकारको रुपमा लिन थालेका छन् । समय अनुसार तीज फेरिदै गएको छ । सबैले महिलालाई दर खुवाउने र विभिन्न क्षेत्रमा योगदान दिएका महिलाई सम्मान गर्न थालेका छन् । त्यही भएर तीजको महत्व झन् बढ्दै गएको छ ।
तीजलाई महिलाहरु माथि भएका भेदभाव र अन्यायका विरुद्व गीतको माध्यमबाट आवाज उठाउने, महिला जागरण र सचेतना फैलाउने चाडको रुपमा पनि लिने गरिएको छ । पछिल्लो समय महिला अधिकारका पक्षमा तीजका माध्यमबाट महिलाहरु संगठित गर्ने कामसंगै महिलाहरु पनि आर्थिक रुपले सम्पन्न हुदै गएका छन् भन्ने सन्देश दिन भोजभतेर, गहना र कपडाको प्रदर्शन गर्ने अवसर पनि बन्दै गएको छ । तीज सांस्कृतिक पर्व भन्दा व्यावसायिक बन्दै गएको छ । नेपाली महिलाहरुले मनाउँदै आएको हरितालिका तीज पछिल्लो समय व्यापारतर्फ उन्मुख भएको छ । तीजलाई व्यापारको माध्यम नबनाउन स्थानीय प्रशासनले सूचना जारी गर्दा चर्को विरोधको सामना गर्नुपर्ने अवस्था आएको छ। तीज आउनु भन्दा धेरै अगाडिदेखि होटल, पार्टी प्यालेस र रेष्टुराहरुमा गएर मनाउने चलन बढेर गएको छ । हरेक कार्यालय, संघ, संस्था, राजनीतिक दल, भातृ संस्था, प्रतिष्ठान, जातीय संघ, संगठनले तीजको दर खुवाउने चलन शुरु भएको छ ।
अन्य चाड पर्व खुम्चने तर तीज फैलिएको छ । संसारका जुनसुकै ठाउँमा पुगेका नेपालीले तीज पर्व मनाउने गरेका छन।नेपालमा भन्दा बढी विदेशमा तीज मनाउन गायिका र कलाकार बोलाएर मनोरञ्जन गर्ने र सांस्कृतिक महत्त्व दर्शाउने काम गरेका छन।शहरबजारमा तीज आउनु भन्दा धेरै अगाडि महंगा पहिरन सकि नसकि किन्नुपर्ने, सारी, गहना देखाएर मनाउने चलन बढेको छ । अब स्कुलको शुल्क, छुट्टयाए जस्तै तीज खर्च छुटट्याउनु पर्ने भएको छ।सामाजिक संजालमा जोडिन, भिडियो बनाउने, टिकटक बनाउने, यू ट्यूवमा भ्युअर्स बढाउनेले कमाउने मौका पाएका छन् । उत्पादकहरुले आफ्ना वस्तु विक्रीको माध्यम तीज बनाउन थालेका छन् । तीजलाई मौलिक सांस्कृतिक पर्व बनाउन लाग्नुपर्नेहरु नै होटल, रेष्टुरा पार्टी प्यालेसहरुमा बोलाएर भोज भतेर गराउने गरेका छन् । तीजमा महिला दिदीबहिनीहरुलाई माइत बोलाएर दर खुवाउने चलन हो । दिदीबहिनीहरु माइतमा भेट भएर सुख दुःखका कुरा साटासाट गर्ने अधिकारका बारेमा सचेत पार्ने बेला पनि हो । कुन संस्थाले सम्झ्यो, कुन संस्थाले सम्मान गर्यो भन्ने रुपमा हेर्न थालिएको छ । अरुबाट प्रायोजन गरेर आ आफ्नो संस्थाले दर खुवाएको र महिलालाई सम्मान गरेको नाटक मञ्चन गर्न थालेका छन् ।
तीजमा महिलालाई सम्मान गर्ने, महिला अधिकारको कुरा गर्ने र प्रोत्साहन गर्नेहरु आफ्नै संस्थामा नेतृत्व दावी गर्दा खुट्टा तान्ने, मर्यादा नगर्ने प्रबृत्ति हटाउने वाचा गर्नुपर्ने वेला आएको छ । तीजका अवसरमा गरिएका गतिविधि देखावटी होइन भन्ने देखाउन ब्यवहारिक रुपमा समान अधिकार, समान सहभागिता, महिला अधिकार र असमानता हटाउन लाग्नु पर्दछ । नेपाली महिलाहरुको सांस्कृतिक पर्व तीजलाई विकृति र विसंगति हुन नदिन महिला अधिकारवादी र महिला संघ संगठनहरु लाग्नुपर्दछ । चाडपर्वलाई सबैले सहजरुपमा मनाउन सक्ने अवस्था हट्दै गएको छ । चाडपर्व महंगो र भड्किलो बन्दै गएको छ । तीजलाई महिलामाथी हुने भेदभाव र कुसंस्कार विरुद्व अधिकार प्राप्ति र दिदीबहिनीहरु बिचको मिलनको चाडको रुपमा विकास गर्न आवश्यक छ । नेपालमा महिलाहरु राजनीतिक रुपले जति सचेत छन् त्यसको प्रयोग व्यवहारिक रुपमा आउन सकेको छैन ।
संघ, प्रदेश र स्थानीय तहमा महिलाको प्रतिनिधत्व एक तिहाई छ । स्थानीय तहमा महिला प्रतिनिधित्व ४० प्रतिशत पुगेको छ । उनीहरुलाई क्षमता अभिवृद्धि तालिम दिने र आर्थिक रुपले सवल बन्न सके वास्तविक रुपमा महिला अधिकार सम्पन्न हुन्छन् । चाड पर्वको अवसरमा महिलालाई सचेत बनाउने र उनीहरुलाई पुरुषको अधिनमा रहनुपर्छ भन्ने सोच राख्ने विरुद्ध जुध्न सक्ने बनाउन सकेमा मात्र महिला ससक्तिकरण हुन सक्छ । महिलाहरूको महान चाड तीजको अवसरमा देशविदेशमा रहेका सम्पूर्ण महिलाहरुलाई हार्दिक शुभकामना ।

प्रतिकृया दिनुहोस्

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...

क्रिसमसको महत्व बढ्दै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा बिहीबार क्रिश्चियन समुदायका मानिसले क्रिसमस डे भव्य रुपमा मनाएका छन । आजभन्दा दुई हजार २६ वर्षअघि डिसेम्बर...

लैङगिक हिंसा विरुद्धको अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङगिक हिंसा विरुद्धको अभियान शुरु भएको छ। १६ दिन सञ्चालन गरिने अभियानमा यसपालि डिजिटल माध्यमबाट हुने हिंसाविरुद्ध आवाज उठाइँदै...

फैलिदैछ छठ पर्व

नेपालमा मनाइने चाडपर्व मध्ये तराई मधेसको मिथिलाञ्चलमा मनाउने छठ पर्वको महत्व बढेर गएको छ । छठलाई मधेस र मिथिलाञ्चलमा मात्र सीमित छैन । जहाँ जहाँ...