आज : २०२६-०९-२४, बिहीबार

पोखरामा फ्लाई दुबईको पहिलो नियमित उडान, विमानलाई स्वागत

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले पहिलोपटक नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु गरेको छ । दुबईबाट आएको फ्लाई दुबईको बोइङ ७३७ म्याक्स–८ विमानलाई बुधबार साँझ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पानीको फोहोराले स्वागत गरिएको हो ।
साँझ ६ः१८ बजे ११३ जना यात्रु बोकेर पोखरा अवतरण गरेको उक्त विमानलाई विमानस्थलका अधिकारी, पोखरा महानगरपालिका, पर्यटन व्यवसायी तथा सरोकारवाला निकायका प्रतिनिधिले स्वागत गर्नु भएको छ । पोखराका मेयर धनराज आचार्य सहितको टिमले पोखरामा खादा तथा माला लगाउदै स्वागत गर्नु भएको हो ।
पहिलो उडानपछि सोही विमानले १५२ जना यात्रु बोकेर साँझ ७ः५४ बजे पोखराबाट दुबईका लागि प्रस्थान गरेको विमानस्थल कार्यालयले जनाएको छ । १ सय ६६ सिट क्षमताको बोइङ ७३७ म्याक्स–८ विमानबाट सञ्चालन हुने दुबई–पोखरा उडानको अनुमानित अवधि ४ घण्टा ३० मिनेट भए पनि पोखरा–दुबई उडानको अवधि करिब ४ घण्टा ५० मिनेट रहेको बताइन्छ । फ्लाई दुबईको नियमित उडान सुरु भएपछि पोखरा संयुक्त अरब इमिरेट्ससँग प्रत्यक्ष अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिएको छ । इमिरेट्स एयरलाइन्ससँगको कोडसेयर साझेदारीका कारण पोखराबाट दुबई हुँदै विश्वका विभिन्न गन्तव्यमा यात्रा गर्न थप सहज हुने अपेक्षा गरिएको छ ।
नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले फ्लाई दुबईको नियमित उडान पोखरेलीका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनु भयो । यसअघि पोखराबाट अन्तर्राष्ट्रिय उडान मुख्यतः चार्टर्ड उडानमा सीमित रहेकामा अब अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित व्यावसायिक उडान सुरु गर्नु सकारात्मक भएको उहाँले बताउनु भयो ।
“युरोप लगायतका गन्तव्यमा जाँदा पोखराबाट दुबई हुँदै जाने र नेपाल फर्किँदा पनि दुबईबाट पोखरा आउने वातावरण बनाउन सकियो भने यो उडान प्रभावकारी हुन्छ,” पोखरेलले भन्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले फ्लाई दुबईको नियमित उडानले पोखरा क्षेत्रको आर्थिक गतिविधि र पर्यटनमा सकारात्मक प्रभाव पार्ने बताउनु भयो । उहाँका अनुसार प्रारम्भिक चरणमा उडानलाई व्यावसायिक रूपमा सफल बनाउन सबै क्षेत्रले यात्रु बढाउनेतर्फ ध्यान दिन आवश्यक छ । “कम्तीमा एक महिनासम्म उडानलाई व्यावसायिक रूपमा सफल बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ। कम्तीमा ६० प्रतिशत सिट अकुपेन्सी कायम गर्न सकेमा कम्पनीलाई पोखरा रुटमा नियमित रूपमा उडान सञ्चालन गर्न थप प्रोत्साहन मिल्छ,” मुल्मीले भन्नुभयो । वैदेशिक रोजगारीमा जाने श्रमिक, विद्यार्थी, पर्यटक तथा विदेशबाट फर्किने नेपालीलाई पोखराबाटै यात्रा गर्न प्रोत्साहित गर्नुपर्ने उहाँको भनाई छ । पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले फ्लाई दुबईको उडानसँगै पोखरा दुबई हुँदै विश्वका विभिन्न गन्तव्यसँग जोडिने अवसर प्राप्त भएको बताउनु भयो । उहाँले उडानलाई नियमित र दीगो बनाउन पर्यटन व्यवसायी, सरकारी निकाय तथा निजी क्षेत्रबीच निरन्तर सहकार्य आवश्यक रहेको बताउनु भयो ।
उडान सुरु भएसँगै पोखराका पर्यटन तथा व्यवसायीले यात्रु आकर्षित गर्न विभिन्न छुट तथा सुविधा घोषणा गरेका छन्। होटल संघ पोखराले पहिलो उडानका यात्रुलाई एक रात निःशुल्क आवास तथा बिहानको खाजा उपलब्ध गराउने र बोर्डिङ पास भएका यात्रुलाई ३० प्रतिशतसम्म छुट दिने जनाएको छ । रेबान पोखराले १५ देखि २० प्रतिशतसम्म तथा लेखनाथ होटल तथा रेस्टुरेन्ट एसोसिएसनले २५ प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन् ।
पोखरा र दुबईबीचको नियमित उडानले काठमाडौं पुगेर मात्र अन्तर्राष्ट्रिय यात्रा गर्नुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ । विशेषगरी पोखरा, गण्डकी प्रदेश तथा आसपासका क्षेत्रका वैदेशिक रोजगारीमा जाने श्रमिक, विद्यार्थी, पर्यटक र गैरआवासीय नेपालीलाई यसबाट प्रत्यक्ष सुविधा पुग्ने व्यवसायीहरूको विश्वास छ । काठमाडौंको तुलनामा पोखराबाट केही प्रमुख अन्तर्राष्ट्रिय गन्तव्यमा हवाई भाडा करिब पाँच हजार रुपैयाँसम्म सस्तो पर्न सक्ने बताइएको छ । यसले पोखराबाट अन्तर्राष्ट्रिय यात्रा गर्ने यात्रुको संख्या बढाउन सक्ने अपेक्षा गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०७९ पुस १७ गते अर्थात् १ जनवरी २०२३ मा औपचारिक रूपमा सञ्चालनमा आएको थियो । उद्घाटन पछि २०८० असार ६ गते चीनको छेन्दुबाट सिचुआन एयरलाइन्सको ए–३१९ विमान १३० यात्रुसहित पोखरा अवतरण गरेसँगै विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान भएको थियो। त्यसयता चीन, भुटान लगायतका गन्तव्यमा चार्टर्ड तथा केही नियमित उडान हुँदै आएका छन्।
चिनियाँ एक्जिम बैंकको ऋण सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको निरन्तरता र व्यावसायिक सम्भावना भने प्रमुख चुनौतीका रूपमा रहेको छ । त्यसैले फ्लाई दुबईको उडानलाई दीगो बनाउन प्रारम्भिक चरणमै पर्याप्त यात्रु सुनिश्चित गर्नु महत्वपूर्ण देखिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले नियमित अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थलका आवश्यक सेवा, पूर्वाधार तथा सुरक्षा व्यवस्था चुस्त राखिएको बताउनु भयो । पहिलो उडानबाट आएको विमानलाई विमानस्थलमा पानीको फोहोराले स्वागत गरिएको उहाँले जनाउनु भयो ।
विमानस्थलका प्रमुख अध्यागमन अधिकृत हरिबहादुर भुजेलले पहिलो अन्तराष्ट्रिय हवाई उडान मार्फत आएका यात्रु तथा सामान जाँचलगायत सुरक्षा व्यवस्थालाई थप व्यवस्थित बनाइएको बताउनु भयो । अन्ताष्ट्रिय विमानस्थलमा हुने मापदण्डका आधारमा सुरक्षा र अन्य सेवा पोखरा अन्तराष्ट्रिय विमानस्थलमा रहेको उहाँले जनाउनु भयो । फ्लाई दुबईको पहिलो नियमित उडानसँगै पोखराले लामो समयदेखि प्रतीक्षा गरेको अन्तर्राष्ट्रिय नियमित हवाई सम्पर्कको नयाँ ढोका खुलेको पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलले बताउनु भयो । अब यो उडानलाई निरन्तरता दिन पर्याप्त यात्रु, पर्यटन प्रवद्र्धन र व्यावसायिक वातावरण निर्माण गर्न सरकारी निकाय, पर्यटन व्यवसायी, निजी क्षेत्र तथा आम यात्रुको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%

सम्बन्धित थप पोस्टहरू