Pokharapatra National Daily

कांग्रेस र कम्युनिस्टले बिर्सेको बाटो

नेपालको राष्ट्रिय हित र नेपाली जनताको मुक्तिको लागि पार्टी स्थापना गरेर जीवनकाल भरी सर्घषरत स्वर्गीय वीपी कोइराला र पुष्पलाल दुई सपुतलाई देशैभरी सम्झने गरिन्छ । हरेक वर्षको साउन ६ र ७ गते नेपाली आमाका दुई सपुत स्व.वी.पी कोइराला र पुष्पलाल श्रेष्ठलाई नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टीले सम्झने गर्दछन । नेपालमा जहानीया राणा शासनको अन्त्य गरि बहुदलीय लोकतन्त्र स्थापना गर्न उनीहरुले गरेको संघर्ष र योगदानहरुको चर्चा हुने गरेको छ । नेपाली कांग्रेसका संस्थापक एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री वी.पी कोइरालाको निधन भएको ४१ वर्ष भएको छ । आज भन्दा ४१ वर्ष अघि २०३९ साल साउन ६ गते वी.पी को निधन भएको थियो । नेपाल कम्युनिष्ट पाटीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको निधन भएको ४५ वर्ष भएको छ । पुष्पलालको २०३५ साल साउन ७ गते भारतको गोविन्द बल्लव पन्त अस्पतालमा निधन भएको थियो । वी.पी.को निधन क्यान्सर बाट भएको थियो भने पुष्पलालको मुटुको व्यथाबाट । वी.पी. राष्ट्रियता, प्रजातन्त्र र समाजबादको लागि जीवन भर लडिरहेका थिए भने पुष्पलाल नेपालमा नौलो जनबाद र समाजबाद स्थापना गर्नको लागि आर्थिक, राजनैतिक र संस्कृतिक हकअधिकारका लागी मृत्यु पर्यन्त लडिरहे ।
नेपालमा जहानिय राणा शासन र निरंकुश निर्दलीय व्यवस्था विरुद्ध लडदै आएका वी.पी. र पुष्पलालको आर्दशबाट अहिलेका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु प्रभावित भएर राजनीतिमा होमिएका हुन । वी.पी. र पुष्पलालको शालीकमा माल्यार्पण गर्ने देखि उनीहरुको आर्दशको बारेमा विभिन्न कार्यक्रम गरी चर्चा गर्ने गरिन्छ । नेपालमा पुष्पलालले स्थापना गरेको कम्युनिस्ट पार्टीका नेताहरु आपसी झगडाले गर्दा दक्षिणपन्थी शक्तिलाई राष्ट्रपति बनाएर कम्युनिस्टलाई कमजोर बनाएका छन । वीपीले स्थापना गरेको नेपाली कांग्रेस आफ्ना नेताको आदर्श, मूल्यमान्यतालाई तिलाञ्जली दिएर अहिले सरकारमा रमाइरहेको छ । कांग्रेस वीपीको आदर्श छाडेर सत्ताका लागि जे गर्न पनि तयार भएको छ । देशको राष्ट्रिय हित भन्दा विदेशीलाई खुशी बनाउन तल्लीन छ । छिमेकीसंगको सन्तुलित नीति छाडेर शक्ति राष्ट्रको पोल्टामा जान तयार भएको छ । कम्युनिष्ट पार्टीहरु एकताबद्ध हुन छाडेर चिराचिरामा विभाजित भएका छन । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिल्न नसक्दा काङ्ग्रेसलाई गुरु थापेर माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सरकार चलाएका छन् । नेताहरू देश र जनताको हित भन्दा आफ्नो स्वार्थ र गुटस्वार्थमा लाग्दा कम्युनिस्ट पार्टीको भबिस्य नै खतरामा पर्ने देखिएको छ । पुष्पलालको नेपालमा एउटै कम्युनिष्ट पार्टी वनाउने इच्छा नेपालको स्वाभिमान कायम गर्दै जनताको मुहारमा खुशी ल्याउने हो । त्यो आकांक्षा माथि नेताहरूले खेलवाड गरेका छन् । नेताहरुको सिद्धान्त हिन, स्वार्थी स्वभावका कारण कम्युनिष्टहरु साना साना पार्टीमा बिभक्त छन् । दक्षिणपन्थी शक्तिलाई धुरी मानेर पार्टी विभाजन गरेर गोत्र हसाउने काम गरेका छन । देश पहिलो ठानेर सामाजिक न्याय सहितको विकास गरेर सुखि नेपाली वनाउने अभिभारामा विश्राम लागेको छ । जनतालाई रुवाएर पारिवारिक स्वार्थ र गुट रक्षाका लागि राष्ट्रियता कमजोर बनाउने काम गरेका छन । विदेशीको शिखण्डी बनेर नेपाल राष्ट्र ,नेपाली जनतको स्वाभिमान गिराउन तल्लीन छन ।
२०१७ सालमा वि.पी. को दुई तिहाईको सरकार विरुद्ध जुनखेल खेलिएको थियो कम्युनिस्ट पार्टीको सरकार हटाउन सबै शक्ति प्रयोग भयो । नेपालले सात दशक देखिको राजनीतिक संक्रमण अन्त्य गरि स्थिरता तर्फ देश जान लागेको ठानिएको थियोे त्यसमा ठेस लागेको छ । दक्षिणपन्थी र नवउदावादको वकालत गर्नेहरु उदाउन थालेका छन । जुन उद्देश्यका लागि लडेका कांग्रेस कम्युनिष्ट अहिले आदर्शबाट च्युत भएका कारण नयाँ शक्तिको उदय भएको छ । विदेशी शक्तिले खेल्ने मौका पाएका छन । राष्ट्रिय स्वाभिमानलाई कमजोर बनाएका छन । काङ्ग्रेस संस्थापककोआदर्श भुलेर हल न चलको अवस्थामा पुगेको छ । केही पार्टीबाट पाखा लगाइएका छन। दुई तिहाईको वि.पी. नेतृत्वको सरकार हटाउँदा देशले कति ठुलो मुल्य चुकाउनु प¥यो भन्ने कुरा अहिलेको नेकपा एमाले,माओवादी, एकीकृत समाजवादी र काङ्ग्रेस नेतृत्वले बिर्सेर क्षणिक स्वार्थ हेर्दा प्राप्त उपलब्धि गुम्ने, विदेशीले खेल्ने र खेलाउने मौका दिएको छ । काङ्ग्रेस र कम्युनिष्टका नेताहरु गम्भिर नबन्दा पुष्पलाल र वि.पी.को स्मरण गर्नु बिरालो बाँधेर श्राद्ध गर्नु जस्तै हो । देखाउनका लागि वीपी र पुष्पलालको स्मृति गरेर पुग्दैन । राजनीतिक स्थिरता, राष्ट्रिय स्वाभिमान, जनताको जीवनमा परिवर्तनका लागि काम गर्ने अठोट चाहिन्छ । जनता रोग, भोक, अनिश्चित भविष्यबाट छट्पटी परेको बेला जनताका सवाललाई सम्बोधन नगरी कुर्सीको खेलमा लाग्दा पार्टीका संस्थापक नेपाल आमाका सपूतप्रती श्रद्धा गरेको ठहर्दैन । वीपी र पुष्पलाललाई सम्झनु भनेको देशको स्वाभिमान कायम राख्नु, बहुदलीय लोकतन्त्रलाई संस्थागत गर्नु, सिद्धान्तलाई ब्यवहारमा उतार्ने र सामाजिक न्याय स्थापना गर्न लाग्ने प्रण गर्नु हो । पुरानाको त्याग, समर्पण, ईमानदारीलाई संझनु वीपी र पुष्पलाल संझनु हो । क्षणिक सत्ता स्वार्थमा तल्लिनहरुलाई विस्थापित गरेर राजनीति भनेको देश र जनताको लागि सेवा गर्ने हो । राजनीति मुल्य र मान्यताको आधारमा हुन्छ भन्ने अवस्था सृजना हुन सके विपि र पुष्पलालको बाटो पछ्याउन सकिन्छ । देशलाई बचाउन, जनताको मुहारमा खुशी ल्याउन सकिन्छ । नेपाली आमाका सपूत वीपी र पुष्पलालप्रति श्रद्धा सुमन !

प्रतिकृया दिनुहोस्

श्रमिकले गरेको संघर्षलाई नभुलौं

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३४बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष, एकता...

भूकम्पबाट नसिकेको पाठ

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको नौ वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

लोकतन्त्रलाई बलियो बनाउने प्रण गरौँ

नेपाली जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय...

राम नवमीको महत्व

हिन्दुधर्मावलम्बीले भगवान् श्रीरामको सम्झनामा रामनवमी पर्व भब्य रुपमा मनाउने गर्दछन । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामको सम्झनामा ‘रामनवमी’ पर्व नेपाल, भारत लगायत...

आशा जगाउने वर्ष बनोस् ।

नेपालीहरुले मान्दै आएको पात्रो (क्यालेण्डर) फेरिएको छ । नेपालमा विक्रमाब्दले चलनमा ल्याएको सम्वतलाई नै मानिदै आएको छ । नेपालले मानेको पात्रो २०८१ सुरु भएको छ...

गण्डकीमा बहुमतकै सरकार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारी दोश्रो पटक नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई मिलिजुली सरकारको मुख्यमन्त्री नियुक्त...