Pokharapatra National Daily

सर्वोच्चबाट सरकारलाई झड्का

विवादित नागरिकता अध्यादेश कार्यान्वयन नगरी यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको भोलिपल्ट नागरिकता संबम्धी अध्यादेश जारी भएको थियौ । नागरिकताका बारेमा दलहरूबीच सहमति जुट्न नसक्दा राजनीति गर्ने ठाउँ दिएको थियोे । नेपाली नागरिकता जस्तो संवेदनशील विषयलाई राजनीतिक दाउपेचको विषय बनाउँदा सर्वोच्च अदालतले अध्यादेश कार्यान्वयन नगर्न आदेश दिएर सरकारलाई झड्का लगाउने काम गरेको छ । वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की लगायतले दिएको रिटमा सुनुवाइ गर्दै बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खडका, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले उक्त अध्यादेश तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ ।
राजनीतिक उद्देश्य प्राप्तिका लागि विधायिका छलेर ल्याइएको अध्यादेशलाई संवैधानिक वैधता दिन नमिल्ने सिद्धान्तका आधारमा अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतले भनेको छ । सरकारले अध्यादेशमार्फत् नागरिकता कानुन संशोधन गरी जन्मसिद्ध नागरिकका सन्तानलाई आमा र बाबु दुवैको नागरिकता देखाए वंशजको नागरिकता दिने र आमाको नामबाट मात्र नागरिकता दिन बाबुको पहिचान नभएको स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको थियो । मन्त्रिपरिषदले अध्यादेश ल्याएर नागरिकतासम्बन्धी नियमावलीसमेत जारी गरिसकेको थियो । संसद नभएका बेला सरकारले अत्यावश्यक कानुन अध्यादेशमार्फत् ल्याउन पाउने संवैधानिक व्यवस्था छ । उक्त व्यवस्था सरकारले दुरूपयोग गरेको भन्दै संवैधानिक इजलासले यसलाई कार्यान्वयन नगर्न भनेको छ । पहिले प्रतिनिधिसभा विघटन गरी त्यसको भोलिपल्ट अध्यादेश जारी गर्ने कार्यलाई सर्वोच्चले ‘विधायिकाको अधिकारमा हस्तक्षेप’ ठानेको छ । ‘अघिल्लो दिन संसदको प्रतिनिधिसभा विघटन भएको र लगत्तै भोलिपल्ट अध्यादेश जारी गरिएको देखिँदा यस प्रकारको अभ्यासलाई सहज, सामान्य वा नियमित अभ्यासका रूपमा लिइयो भने संविधानप्रदत्त विधायिकाको अधिकार वा कार्यक्षेत्रमा हस्तक्षेप हुन पुग्ने र शक्ति पृथकीकरणको सिद्धान्तअनुकूल व्यवस्थित संविधानका प्रावधानहरूको प्रयोग वा कार्यान्वयनमा अनुचित असर पर्न जाने देखिन्छ,’ संवैधानिक इजलासले भनेको छ ।
सर्वोच्चले कानुन निर्माण गर्ने अधिकार विधायिका (संसद) मा निहित रहेको सम्झाउँदै संसद नरहेको अवस्थामा तत्काल केही गर्न आवश्यक परे सीमित अवधिका लागि मात्र सरकारले अध्यादेश ल्याउन पाउने अभ्यास रहेको बताएको छ । ‘अध्यादेश जारी गर्ने कुराका सीमा बन्देजहरू छन् । संविधानद्वारा निर्धारित सीमा बन्देज नाघेर अध्यादेश जारी गर्न मिल्दैन । शासकीय सुविधा वा अमुक राजनीतिक उद्देश्य प्राप्तिका लागि विधायिकालाई छलेर अध्यादेश जारी गर्दा त्यसबाट विधायिकाको अधिकार र प्रभावकारितामा अनुचित हस्तक्षेप गरेको अवस्था पैदा हुन सक्छ,’ संवैधानिक इजलासले भनेको छ, ‘विधायिका छल्ने उद्देश्यले जारी गरिएको अध्यादेशलाई छद्म विधायन मानिन्छ र त्यस प्रकारको अध्यादेशले संवैधानिक वैधता प्राप्त गर्न सक्दैन भन्ने कानुनी सिद्धान्त रहिआएको छ ।’
सरकारले अध्यादेशबाट नागरिकतासम्बन्धी कानुन संशोधन गरेको थियो । सर्वोच्चको संवैधानिक इजलासले भने नयाँ विषय थप्नुपर्ने वा ऐन परिमार्जन गर्नुपर्ने भए व्यवस्थापिकाबाटै गर्नुपर्ने सम्झाएको छ । नागरिकतासम्बन्धी विषयमा यो अध्यादेश ल्याउनुपर्ने तत्काल आवश्यक नभएको संवैधानिक इजलासले भनेको छ । नागरिकता दिन नयाँ विषय थप्नुपर्ने वा भइरहेको ऐन परिमार्जन गर्नुपर्ने भए व्यवस्थापिकाबाट निर्मित कानुनका आधारमा नियमित र व्यवस्थित गरिनुपर्ने संवैधानिक इजलासले सम्झाएको छ । नगरिकतासम्बन्धी ऐन २०६३ लाई नयाँ संविधान अनुकूल बनाउने अध्यादेश विघटित संसदमा विचाराधीन छ । उक्त विधेयक पारित हुने वा नहुने निर्णय गर्न बाँकी नै रहेको अवस्थामा अहिले अध्यादेश किन आवश्यक प¥यो भनेर सरकारले चित्तबुझ्दो कारण दिन नसकेको संवैधानिक इजलासको आदेशमा उल्लेख छ ।
‘ऐन संशोधनका लागि २०७५ सालमा विधेयक तर्जुमा भई संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाबाट संशोधन विधेयक पारित भई प्रतिनिधिसभामा पठाइएको र सो विधेयक हालसम्म पारित भइनसकेको भन्ने तथ्यसमेत प्रस्तुत हुन आएका छन्,’ इजलासले भनेको छ, ‘यसरी करिब तीन वर्षअघिदेखि संसदमा विधेयक विचाराधीन रहेको र त्यसलाई पारित गर्ने वा नगर्ने विषयमा कुनै निर्णय भइनसकेको नागरिकतासम्बन्धी विषयमा तत्काल के कारणले आवश्यक परेर अहिले अध्यादेश जारी गर्नुपरेको हो भन्ने सम्बन्धमा कुनै चित्तबुझ्दो कारण प्रत्यर्थीहरूका तर्फबाट प्रस्तुत हुन आएको छैन ।’ अहिले अध्यादेश ल्याउने र पछि संसदबाट पारित नहुने अवस्था आयो भने झन् जटिलता पैदा हुने भन्दै इजलासले व्यवस्थापिका संसदबाटै नागरिकता कानुन व्यवस्थित गर्न भनेको छ।मधेसी दल र महिलाले उठाउँदै आएका मुद्दा संबोधन हुने भनी ल्याएको अध्यादेशले सरकारलाई नै रक्षात्मक बनाएको छ।नागरिकताको समस्या हल नगरी बल्झाउदै जाँदाका परिणाम हो ।

प्रतिकृया दिनुहोस्

असार १५ र धान दिवस

‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नारासहित सरकारले यस वर्षको धान दिवस मनाइरहेको छ । असार १५ गतेलाई धान दिवस मनाउन थालेको २१ औं वर्ष भएको...

गणतन्त्र दिवसको शुभकामना

नेपालमा गणतन्त्र घोषण भएको १६ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १७ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...

प्रेस स्वतन्त्रतामा संकुचन

संविधानले पूर्ण प्रेस स्वतन्त्रता दिएको छ।प्रकाशन पुर्व प्रतिबन्ध लगाउन पाइदैन । अभिव्यक्ति स्वतन्त्रता संविधानले दिएको छ।संविधानले दिएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कानुन वा आदेशको नाममा...

श्रमिकले गरेको संघर्षलाई नभुलौं

विश्वभरका मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३४बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष, एकता...

भूकम्पबाट नसिकेको पाठ

गोरखाको वारपार केन्द्र विन्दु भएर विनाशकारी भूकम्प गएको नौ वर्ष पुरा भएको छ । २०७२ साल बैशाख १२ गते गोर्खाको बारपाक केन्द्रविन्दु बनाएर ७.८ रेक्टर...

लोकतन्त्रलाई बलियो बनाउने प्रण गरौँ

नेपाली जनताले जनआन्दोलनमा देखाएको अभुतपूर्व सहभागिताले नेपालमा लोकतन्त्र आयो । नेपालको २०६२–०६३ को आन्दोलन हरेक दृष्टिकोणले सफल मानिन्छ । २ सय ४० वर्षको शाह वंसीय...