नेपाली हिन्दु महिलाहरुले मनाउने हरितालिका (तीज) हिजोबाट शुरु भएको छ । तीजको व्रत बस्ने अघिल्लो दिन दर खाने दिनबाट तीज पर्व शुरु हुन्छ।माइती पक्षले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरको रुपमा दुधबाट बनेको शुद्ध परिकार खुवाउने चलन हो । अडिलो खानाको रुपमा दूध, ध्यु, मिठाइ र गहुँबाट बनेका परिकार खाने र रमाइलो गर्ने चलन हो । पछिल्लो समय नेपाली महिलाहरुको साझा चाडमा बिकास हुँदै गइरहेको छ । हिमालय पर्वतकी छोरी पार्वतीले महादेव पति पाउँ भनी व्रत बसेको दिनलाई तीज हरितालिका मनाउन थालिएको किंवदन्ती रहँदै आएको छ । विवाहीता महिलाले पतिको दिर्घायूको कामना गर्दै ब्रत बस्ने र विवाह नभएकाले सुयोग्य वर पाउँ भनी व्रत बस्ने गरिएको तीज अहिले महिलाहरुले आफ्नो अधिकारको रुपमा लिन थालेका छन् । समय अनुसार तीज फेरिदै गएको छ । सबैले महिलालाई दर खुवाउने र विभिन्न क्षेत्रमा योगदान दिएका महिलाई सम्मान गर्न थालेका छन् । त्यही भएर तीजको महत्व झन् बढ्दै गएको छ ।
तीजलाई महिलाहरु माथि भएका भेदभाव र अन्यायका विरुद्व गीतको माध्यमबाट आवाज उठाउने, महिला जागरण र सचेतना फैलाउने चाडको रुपमा पनि लिने गरिएको छ । पछिल्लो समय महिला अधिकारका पक्षमा तीजका माध्यमबाट महिलाहरु संगठित गर्ने कामसंगै महिलाहरु पनि आर्थिक रुपले सम्पन्न हुदै गएका छन् भन्ने सन्देश दिन भोजभतेर, गहना र कपडाको प्रदर्शन गर्ने अवसर पनि बन्दै गएको छ । तीज सांस्कृतिक पर्व भन्दा व्यावसायिक बन्दै गएको छ । नेपाली महिलाहरुले मनाउँदै आएको हरितालिका तीज पछिल्लो समय व्यापारतर्फ उन्मुख भएको छ । तीजलाई व्यापारको माध्यम नबनाउन स्थानीय प्रशासनले सूचना जारी गर्दा चर्को विरोधको सामना गर्नुपर्ने अवस्था आएको छ । तीज आउनु भन्दा धेरै अगाडिदेखि होटल, पार्टी प्यालेस र रेष्टुराहरुमा गएर मनाउने चलन बढेर गएको छ । हरेक कार्यालय, संघ, संस्था, राजनीतिक दल, भातृ संस्था, प्रतिष्ठान, जातीय संघ, संगठनले तीजको दर खुवाउने चलन शुरु भएको छ ।
अन्य चाड पर्व खुम्चने तर तीज फैलिएको छ । संसारका जुनसुकै ठाउँमा पुगेका नेपालीले तीज पर्व मनाउने गरेका छन।नेपालमा भन्दा बढी विदेशमा तीज मनाउन गायिका र कलाकार बोलाएर मनोरञ्जन गर्ने र सांस्कृतिक महत्त्व दर्शाउने काम गरेका छन।शहरबजारमा तीज आउनु भन्दा धेरै अगाडि महंगा पहिरन सकि नसकि किन्नुपर्ने, सारी, गहना देखाएर मनाउने चलन बढेको छ । अब स्कुलको शुल्क, छुट्टयाए जस्तै तीज खर्च छुटट्याउनु पर्ने भएको छ।सामाजिक संजालमा जोडिन, भिडियो बनाउने, टिकटक बनाउने, यू ट्यूवमा भ्युअर्स बढाउनेले कमाउने मौका पाएका छन् । उत्पादकहरुले आफ्ना वस्तु विक्रीको माध्यम तीज बनाउन थालेका छन् । तीजलाई मौलिक सांस्कृतिक पर्व बनाउन लाग्नुपर्नेहरु नै होटल, रेष्टुरा पार्टी प्यालेसहरुमा बोलाएर भोज भतेर गराउने गरेका छन् । तीजमा महिला दिदीबहिनीहरुलाई माइत बोलाएर दर खुवाउने चलन हो । दिदीबहिनीहरु माइतमा भेट भएर सुख दुःखका कुरा साटासाट गर्ने अधिकारका बारेमा सचेत पार्ने बेला पनि हो । कुन संस्थाले सम्झ्यो, कुन संस्थाले सम्मान गर्यो भन्ने रुपमा हेर्न थालिएको छ । अरुबाट प्रायोजन गरेर आ आफ्नो संस्थाले दर खुवाएको र महिलालाई सम्मान गरेको नाटक मञ्चन गर्न थालेका छन् ।
तीजमा महिलालाई सम्मान गर्ने, महिला अधिकारको कुरा गर्ने र प्रोत्साहन गर्नेहरु आफ्नै संस्थामा नेतृत्व दावी गर्दा खुट्टा तान्ने, मर्यादा नगर्ने प्रबृत्ति हटाउने वाचा गर्नुपर्ने वेला आएको छ । तीजका अवसरमा गरिएका गतिविधि देखावटी होइन भन्ने देखाउन ब्यवहारिक रुपमा समान अधिकार, समान सहभागिता, महिला अधिकार र असमानता हटाउन लाग्नु पर्दछ । नेपाली महिलाहरुको सांस्कृतिक पर्व तीजलाई विकृति र विसंगति हुन नदिन महिला अधिकारवादी र महिला संघ संगठनहरु लाग्नुपर्दछ । चाडपर्वलाई सबैले सहजरुपमा मनाउन सक्ने अवस्था हट्दै गएको छ । चाडपर्व महंगो र भड्किलो बन्दै गएको छ । तीजलाई महिलामाथी हुने भेदभाव र कुसंस्कार विरुद्व अधिकार प्राप्ति र दिदीबहिनीहरु बिचको मिलनको चाडको रुपमा विकास गर्न आवश्यक छ ।तीजको सबैलाई शुभकामना !