पोखरा उद्योग वाणिज्य संघमा पहिलो महिला अध्यक्ष

पोखरा उद्योग वाणिज्य संघको ७२ वर्षे इतिहासमा नयाँ अध्याय थपिएको छ । संघको अध्यक्षमा शोभा गौतम निर्वाचित भएसँगै निजी क्षेत्रको यो पुरानो छाता संगठनले पहिलोपटक महिला नेतृत्व पाएको हो । संघको ३६औँ महाधिवेशनअन्तर्गत आइतबार भएको निर्वाचनमा अध्यक्ष पदका अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै गौतम निर्वाचित भएकी हुन् । अन्तिम मतपरिणामअनुसार गौतमले ७५१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी अर्जुन पोखरेलले ६३७ मत पाए । उत्तममान बुद्धाचार्यले ६०१ र बलराम आचार्यले २५३ मत प्राप्त गरे ।
गौतमले पोखरेललाई ११४ मतको अन्तरले पराजित गरेकी हुन् । संघका २ हजार ७३१ सदस्य मतदाता रहेकामा अध्यक्ष तथा पदाधिकारीतर्फ २ हजार २७४ मत खसेको निर्वाचन समितिका संयोजक दामु अधिकारीले बताए । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा यसअघि महिला तर्फ हीरा भट्टराई र बिन्दु कोइरालाले पनि प्रतिस्पर्धा गरेका थिए । तर, महिला नेतृत्वको प्रयास सफल हुन सकेको थिएन । गौतमको जितसँगै संघको इतिहासमा पहिलोपटक महिलाले अध्यक्षको जिम्मेवारी सम्हाल्ने बाटो खुलेको हो ।
गौतमको व्यावसायिक यात्रा भने आजभन्दा करिब २६ वर्षअघि संघकै कार्यालयअगाडि सञ्चालन गरेको सानो चिया पसलबाट सुरु भएको थियो । सामान्य व्यवसायबाट सुरु भएको उनको यात्रा अहिले ब्युटी पार्लर, लुब्रिकेन्ट, फेसन, इभेन्ट म्यानेजमेन्ट, रेस्टुरेन्ट, कृषि तथा ग्रोसरीलगायतका विभिन्न क्षेत्रमा फैलिएको छ । उनी २०७३ सालमा पोखरा उद्योग वाणिज्य संघको साधारण सदस्यका रूपमा संस्थागत यात्रामा प्रवेश गरेकी थिइन् । त्यसपछि सर्वाधिक मतसहित कार्यसमिति सदस्य निर्वाचित हुँदै उपमहासचिव र महासचिवको जिम्मेवारी सम्हालिसकेकी गौतम अहिले संघको सर्वोच्च कार्यकारी नेतृत्वमा पुगेकी हुन् ।
गौतमले निर्वाचनका क्रममा ‘सुदृढ संघ, सक्षम नेतृत्व र समावेशी टिम’ तथा ‘जुझारु नेतृत्व–सबल संघ, समृद्ध पोखरा’ भन्ने नारासहित प्यानल घोषणा गरेकी थिइन् । उनले सार्वजनिक गरेको १४ बुँदे प्रतिबद्धता पत्रमा ‘मेड इन पोखरा’ अभियान, महिला तथा युवा उद्यमशीलताको प्रवद्र्धन र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनलाई प्राथमिकतामा राखेकी छन् ।
निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, उद्योग उपाध्यक्षमा सौगात थापा, वाणिज्य उपाध्यक्षमा मनोजकुमार श्रेष्ठ, महासचिवमा सुदीप प्रधानाङ्ग, कोषाध्यक्षमा देवेन्द्र प्रजू र उपमहासचिवमा प्रदीप राजभण्डारी निर्वाचित भएका छन् । उद्योग उपाध्यक्षमा निर्वाचित सौगात थापा गौतम प्यानलबाट प्रतिस्पर्धामा उत्रिएका थिए । त्यस्तै खुला सदस्यतर्फ दुर्गा बराल, अमृत पोख्रेल, निर्मला चापागाईं, गोविन्दबहादुर केसी, रामेश्वर अधिकारी, मनोहरि पौडेल, भानुभक्त अधिकारी, दिलीपकुमार श्रेष्ठ, रामप्रसाद कँडेल र कमलबहादुर सुनार निर्वाचित भएका छन् । वस्तुगत सदस्यतर्फ केशव ढकाल, मुक्तिप्रसाद पनेरु, लक्ष्मीप्रसाद अधिकारी र लालप्रसाद ढकाल तथा औद्योगिक सदस्यमा पिताम्बर अधिकारी यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । संघको नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । गौतमको नेतृत्वसँगै पोखराको निजी क्षेत्रले महिला नेतृत्व, समावेशिता र उद्यमशीलताको नयाँ अभ्यासतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ । शनिबार निर्वाचन भए पनि आइतबार मतगणना भएको हो ।














