आज : २०२६-०९-०३, बिहीबार

गण्डकी प्रदेशमा फणीन्द्र देवकोटालाई फेरि मन्त्रीको जिम्मेवारी

गण्डकी प्रदेश सरकारमा नेकपा एमालेका चार मन्त्रीले राजीनामा दिएर सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सत्ता समीकरणलाई थप मजबुत बनाउन नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद फणीन्द्र देवकोटालाई पुनः मन्त्री नियुक्त गर्नुभएको छ ।
मुख्यमन्त्री पाण्डेले बुधबार देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिनुभएको हो ।
देवकोटाले बुधबार नै मन्त्री पदको शपथ लिनुभएको छ । पाण्डे नेतृत्वको सरकारमा उहाँ तेस्रो पटक मन्त्री बन्नु भएको हो । यसअघि पनि ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालिसक्नुभएका देवकोटाको राजनीतिक यात्रा भने उतारचढावपूर्ण रहँदै आएको छ । तत्कालीन नेकपा माओवादी केन्द्रको कारबाहीपछि उहाँ मन्त्री पदबाट हट्नुभएको थियो । माओवादी केन्द्रको सिफारिसमा उहाँ प्रदेशसभा सदस्यबाट समेत मुक्त हुनुभएको थियो ।
तर सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत देवकोटालाई प्रदेशसभा सदस्यका रूपमा काम गर्न दिन आदेश दिएपछि उहाँको राजनीतिक यात्राले पुनः गति लिएको थियो । त्यसपछि मुख्यमन्त्री पाण्डेले उहाँलाई पुनः सरकारमा सहभागी गराउनुभएको थियो ।
यसैबीच, कांग्रेसबाट खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएका नन्दप्रसाद न्यौपानेलाई मन्त्रालय हेरफेर गर्दै भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि उक्त मन्त्रालय एमालेका गोविन्दबहादुर नेपालीले सम्हाल्नुभएको थियो । एमालेका चार मन्त्रीले सामूहिक राजीनामा दिएपछि गण्डकी सरकारको सत्ता समीकरणमा परिवर्तन आएको हो । एमाले सरकारबाट बाहिरिए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल समाजवादी पार्टीको समर्थनमा कांग्रेस नेतृत्वको सरकारलाई आवश्यक बहुमत पुग्ने अवस्था बनेको छ ।
गोरखाबाट प्रदेश राजनीतिमा स्थापित हुनुभएका देवकोटा २०७९ सालको प्रदेशसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ (क) बाट निर्वाचित हुनुभएको हो । त्यतिबेला डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । सोही तालमेलअन्तर्गत देवकोटाले माओवादी केन्द्रको चुनाव चिह्न ‘गोलाकारभित्रको हँसिया हथौडा’ लिएर निर्वाचनमा सहभागी हुँदै प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने क्रममा देवकोटाको भूमिका निर्णायक बनेको थियो । माओवादी केन्द्रले सरकारको विपक्षमा मतदान गर्न ह्विप जारी गरे पनि देवकोटाले आफू नेपाल समाजवादी पार्टीको छुट्टै अस्तित्वमा रहेको र आफूलाई माओवादी केन्द्रको ह्विप लागू नहुने धारणा राख्दै मुख्यमन्त्री पाण्डेको पक्षमा मतदान गर्नुभएको थियो ।
देवकोटाले फ्लोर क्रस गर्दै पाण्डेको पक्षमा मतदान गरेपछि उहाँको मत सरकार जोगाउन महत्वपूर्ण बनेको थियो । त्यसपछि मुख्यमन्त्री पाण्डेले उहाँलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको जिम्मेवारी दिनुभएको थियो । पछिल्लो समय ‘जेन–जी’ आन्दोलनपछि देवकोटाले मन्त्री पदबाट राजीनामा दिनुभएको भए पनि कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन भने कायमै राख्नुभएको थियो । एमाले सरकारबाट बाहिरिएको नयाँ राजनीतिक परिस्थितिमा मुख्यमन्त्री पाण्डेले फेरि देवकोटालाई सरकारमा सहभागी गराउनुभएको हो । उहाँको पुनःमन्त्री नियुक्तिसँगै गण्डकी सरकारको सत्ता समीकरण थप स्थिर र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ। साथै, प्रदेश सरकार सञ्चालनमा देवकोटाको भूमिका आगामी दिनमा पनि महत्वपूर्ण रहने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%

सम्बन्धित थप पोस्टहरू