आज : २०२६-०५-२६, मङ्गलबार

अतिक्रमित संरचना हटाउन स्थानीयद्वारा सहयोग

पोखराको मध्य भाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन आइतबारदेखि सुरु भएको छ । पोखरा महानगरपालिकाले फिर्केका तीन स्थानबाट डोजर चलाएर अतिक्रमण हटाउन सुरु गरेको हो ।
अतिक्रमित संरचना हटाउन स्थानीयलेसमेत सहयोग गरेका छन् । पहिलो दिन शान्तिपूर्ण रुपमा संरचना हटाइएको पोखरा महानगरपालिकाले जनाएको छ ।
अतिक्रमित संरचना हटाउँदा ठूलो सङ्ख्यामा जनपथ र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । पोखरा–२ र १८ को सिमाना अँधेरिकुनादेखि सुरु गरी वडा ४ तर्फ, पोखरा–४ र ५ को सिमाना फिर्केपुलस्थित बूढानीलकण्ठ मन्दिरदेखि सुरु गरी वडा नं ५ र ८ तर्फ र पोखरा–७ र ८ को सिमाना जिरोकिलो मिटर स्थित लायन्स भवनदेखि फेवातालतर्फ गरी तीन स्थानबाट डोजर चलाइएका छन् । महानगर प्रमुख धनराज आचार्यले अतिक्रमित संरचना हटाउने काम निरन्तर जारी रहने बताउनुभयो । महानगरले फिर्केको सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि यसअघि ३५ दिनको समयसीमा दिएको थियो । सो समय शनिबार सकिएको थियो । महानगरले गत वैशाख ३ गते सार्वजनिक सूचना प्रकाशित गरी सार्वजनिक जमिनमा बनाइएका संरचना हटाउन सूचना जारी गरेको थियो । महानगरप्रमुख आचार्यले फिर्के संरक्षण अभियान कसैको विरोधका लागि नभइकन प्रकृतिको संरक्षण र सुरक्षित भविष्यका लागि गरिएको साझा प्रयास हो भन्नुभयो । “फिर्के खोलालगायतका सबै स्थानका सार्वजनिक जमिनका संरचना हटाएर सार्वजनिक सम्पत्तिको संरक्षणका लागि महानगरले योजनाबद्ध हिसाबले काम सुरु गरेको छ । खाली गराउन सुरु गरिएको क्षेत्र खोलाघरभित्रको भाग हो । खोला कसैको निजी सम्पत्ति हुन सक्दैन भन्ने तथ्यलाई हामी सबैले गम्भीरतापूर्वक मनन गरौँ, खोलाको संरक्षण र भावी पुस्ताका लागि सुरक्षित वातावरण निर्माण गरौँ”, महानगर प्रमुख आचार्यले भन्नुभयो । महानगरले गरेको फिर्के नापजाँच प्रतिवेदनअनुसार फिर्के खोलाघर माथि स्थायीदेखि अस्थायी प्रकृतिका १६० संरचना निर्माण गरिएका छन् । फिर्केखोला नै मिचेर ९७ वटा अस्थायी संरचना र ३५ वटा स्थायी संरचना निर्माण गरेको पाइएको नाप जाँच प्रतिवेदनमा उल्लेख छ । यसैगरी खोलामाथि १० अस्थायी र १८ वटा स्थायी प्रकृतिका संस्थागत संरचना निर्माण गरिएका छन् । फिर्केखोलाको प्राविधिक नाप जाँचपछि यकीन गरिएको खोला घरको पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ वटा गरी ५८८ सीमास्तम्भ गाडिएका थिए । पोखरा सिद्धार्थचोकका स्थानीयवासी ढाकामोहन पराजुलीले खोलाघर संरचना खाली गर्न आफूहरुले सहयोग गरे पनि महानगरले तोकेको फिर्केको छ मिटर मापदण्ड व्यावहारिक नभएको बताउनुभयो । उहाँले लालपुर्जाभित्रको जमिनका संरचना हटाउँदा मुआब्जा दिन माग गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%

सम्बन्धित थप पोस्टहरू