आज : २०२६-०५-२५, सोमबार

फिर्केखोलाको खोलाघरभित्र बनेका संरचना हटाउन सुरु

पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना हटाउने अभियान आइतबारदेखि सुरु गरेको छ ।
महानगरले यसअघि दिएको ३५ दिने अल्टिमेटम सकिएसँगै खोलाको प्राकृतिक बहाव अवरुद्ध गर्ने स्थायी तथा अस्थायी संरचनामा डोजर चलाइएको हो ।
बजारको मध्यभाग हुँदै बग्ने फिर्केखोला २०८० साल असारमा गरिएको प्राविधिक नापजाँच प्रतिवेदनले फिर्केखोलाको खोलाघरभित्र १६० भन्दा बढी संरचना निर्माण भएको पोखरा महानगरका मेयर धनराज आचार्यले बताउनुभयो । वर्षायाममा डुबानको जोखिम बढ्दै गएको तथा खोलाको प्राकृतिक स्वरूप नै संकटमा परेकाले हटाउने अभियान अघि बढाइएको उहाँले बताउनुभयो ।
अभियानअन्तर्गत पोखरा–२ र १८ को सिमाना अँधेरीकुनादेखि वडा नं. ४ तर्फ, पोखरा–४ र ५ को सिमाना फिर्केपुल क्षेत्रदेखि वडा नं. ५ र ८ तर्फ तथा जिरोकिलोमिटर क्षेत्रबाट फेवातालतर्फ तीन स्थानबाट एकसाथ संरचना हटाउने कार्य सुरु गरिएको महानगरले जनाएको छ । सम्बन्धित वडा अध्यक्ष तथा जनप्रतिनिधिको नेतृत्वमा अभियान सञ्चालन भएको छ ।
महानगरले फिर्केखोलाको दायाँ–बायाँ ६ मिटर मापदण्ड कायम गर्दै सो क्षेत्रमा फुटट्रेल, साइकल लेन, मर्निङ वाक तथा हरित करिडोर निर्माण गर्ने योजना अघि सारेको छ । फिर्केखोलालाई प्राकृतिक, सुरक्षित र आकर्षक स्वरूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यसहित अभियान सञ्चालन गरिएको मेयर आचार्यले उल्लेख गर्नुभयो । महानगरको सूचनापछि केही संघसंस्था तथा व्यवसायीले भने शनिबारदेखि नै आफ्ना संरचना आफैं हटाउन सुरु गरेका थिए । लायन्स क्लब अफ पोखरा फिस्टेलसिटी लगायतका संस्थाको भवन भत्काउन डोजर प्रयोग भएको छ ।
नापजाँच प्रतिवेदनअनुसार फिर्केखोलामाथि ९७ अस्थायी, ३५ स्थायी तथा २८ संस्थागत संरचना निर्माण गरिएको पाइएको छ । वडा नं. १८, २, ४, ५, ७, ८, ६ र १७ हुँदै फेवाताल मा मिसिने फिर्केखोलाको कुल लम्बाइ करिब आठ किलोमिटर रहेको छ । महानगरले खोलाघरको दायाँ–बायाँ सीमांकन गर्दै सयौं सीमास्तम्भ समेत गाडिसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%

सम्बन्धित थप पोस्टहरू