गोकुल वाङ्मय पुरस्कारबाट मोहनविक्रम सिंह सम्मानित

गोकुल वाङ्मय पुरस्कारबाट साहित्यकार एवम् समालोचक मोहनविक्रम सिंहलाई सम्मान गरिएको छ ।
नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी व्यक्तित्व सिंहलाई शनिबार पोखरामा आयोजित समारोहमा नगद ४० हजार र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो । गण्डकी साहित्य सङ्गमले सञ्चालन गर्ने यो पुरस्कार जनकवि गोकुल जोशीको ९७ औं जन्मजयन्तीको अवसरमा प्रदान गर्ने गरिएको छ । कार्यक्रममा सम्मानित व्यक्तित्व सिंहले गोकुल जोशी नेपालको प्रगतिशील साहित्यको महान् विभूति भएको उल्लेख गरे ।
“गोकुल जोशीको नामबाट स्थापना गरिएको पुरस्कारबाट सम्मानित हुनु आफ्ना लागि गौरवको विषय हो,” सिंहले भने“जोशीले साहित्य सिर्जनाद्वारा समाज र जीवनमा परिवर्तनका लागि गरेको त्याग हाम्रा लागि अनुकरणीय छ ।” जोशीका रचनामा जीवनको दर्शन र क्रान्तिको उद्घोष पाइने बताउँदै सिंहले जोशीसँग भएका भेटहरुको चर्चा गरेका थिए ।
वि.सं. १९९२ मा प्युठानको ओखरबोटमा जन्मिएका सिंहका कविता, काव्य, समालोचना र आख्यानका गरी एक दर्जन कृति प्रकाशित छन् । कार्यक्रममा सम्मानित प्रतिभा मोहनविक्रमको साहित्यिक योगदानमाथि प्रतिभा छनोट समितिका सदस्य प्राडा यदुनन्दन उपाध्यायले प्रकाश पारेका थिए । कार्यक्रममा साहित्यकार डा कृष्णराज अधिकारी, रामराज रेग्मी, रघुनाथ अधिकारी, चन्द्रप्रकाश बानियाँ, शङ्कर बराल, झलकपाणि तिवारी, डा बुद्धिबहादुर थापा, नुमराज बराल लगायतले गोकुल जोशीको जीवनी, व्यक्तित्व तथा कृतित्वका बारेमा चर्चा गरेका थिए । सोही अवसरमा गण्डकी साहित्य सङ्गम, पोखराको आवधिक प्रकाशन ‘गण्डकी सङ्गम’को पूर्णाङ्क २२ समेत लोकार्पण गरिएको थियो ।
संस्थाका अध्यक्षता भीम रानाभाटले संस्थाले जनकवि जोशीको योगदानलाई चिरस्थायी बनाउन पुरस्कार स्थापना गरेको बताए । विभिन्न साहित्यिक, सांस्कृतिक तथा सामाजिक संघ–संस्थाका प्रतिनिधि, साहित्यकार र शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रम संस्थाका उपाध्यक्ष पद्मराज ढकालको स्वागत मन्तव्यबाट सुरु भएको थियो ।
कार्यक्रमको अध्यक्षता भीम रानाभाटले गर्नुभएको थियो भने सञ्चालन सचिव नारायण मरासिनीले गर्नुभएको थियो । समाजवादी यथार्थवाद धारामा साधना गर्ने स्रष्टालाई प्रोत्साहन गर्न २०५२ देखि यो पुरस्कार प्रदान गर्न थालिएको हो । यो पुरस्कारबाट यसभन्दा पहिले केवलपुरे किसान, खगेन्द्र सङ्ग्रौला, गोविन्द भट्ट, श्यामप्रसाद शर्मा, रमेश विकल, निनु चापागाईँ, मोहन वैद्य (चैतन्य), आनन्ददेव भट्ट, घनश्याम ढकाल, मोदनाथ प्रश्रित, हरिहर खनाल, जीवन शर्मा, डा ऋषिराज बराल र ईश्वरचन्द्र ज्ञवाली पुरस्कृत भइसकेका छन ।











