Pokharapatra National Daily

जाजरकोट भूकम्पकमा १५७ जनाको मृत्यु, १९७ घाइते

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् ।
सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । यसैगरी भूकम्पबाट जाजरकोटमा एक सय ५, रुकुम पश्चिममा ८५, दैलेख र बैतडीमा तीन÷तीन तथा रोल्पामा एक जना घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज, काठमाडौँ तथा अन्य ठाउँमा ल्याउने क्रम जारी छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ । प्रभावित क्षेत्रमा यसका लागि एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकप्टर तथा जहाजको प्रयोग गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ ।
यसैगरी सरकारले भूकम्पबाट प्रभावितको खोजी, उद्धार र उपचारमा स्थानीय प्रशासनको नेतृत्वमा सम्पूर्ण संयन्त्रलाई प्रभावकारीरूपमा परिचालन गरिएको जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले शनिबार विज्ञप्ति जारी गर्दै सबै सुरक्षा निकाय, सरकारी संयन्त्र र गैरसरकारी क्षेत्रलाई प्रभावितको उद्धार तथा राहतमा केन्द्रित गरिएको जानकारी दिनुभयो । घटनाबाट निजी आवासका साथै सरकारी संरचनामा समेत क्षति पुगेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । सामान्य घाइतेको स्थानीय तथा जिल्ला अस्पताल र गम्भीर घाइतेको काठमाडौँ, सुर्खेत तथा नेपालगन्जमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
शनिबार बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिकित्सक, स्वास्थ्यकर्मी र अत्यावश्यक औषधि एवं राहत सामग्रीसहित प्रभावित जिल्लाको स्थलगत अध्ययन अवलोकनका लागि पुग्नुभएको थियो । सो क्रममा उहाँले पीडित परिवारसँग भेटघाट गर्नुभएको थियो । प्रधानमन्त्री दाहालले सरोकारवाला निकायलाई तत्काल खोज, उद्धार र राहत व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख एवं सरोकारवाला निकायका प्रतिनिधिको बैठकले भूकम्प पीडितको उद्धार र राहतमा प्रभावकारी ढङ्गले खटिइने निर्णय गरेको थियो ।
बैठकले भूकम्प प्रभावितमा खोज, उद्धार तथा घाइतेको उपचार कार्यलाई पहिलो प्राथमिकता दिई सम्पन्न गर्ने, स्थानीय अस्पतालहरूमा उपचार भइरहेका घाइतेको उपचारलाई प्रभावकारी बनाउन आवश्यक विशेषज्ञ चिकित्सकसहितका जनशक्ति, अत्यावश्यक औषधि उपकरण छिटो साधनद्वारा प्रभावित क्षेत्रमा प¥याउने, थप उपचारका लागि स्वास्थ्य जनशक्ति सुर्खेत, नेपालगन्ज र काठमाडौँमा तयारी अवस्थामा राख्ने निर्णय गरेको थियो । बैठकले तत्काल राहत व्यस्थापनका लागि खाद्यान्न र अस्थायी आवास (टेण्ट, त्रिपाल, कम्बल, म्याट्रेस, स्लिपिङ ब्याग आदि सामग्री प्रभावित जिल्लामा पठाउने एवं खोज, उद्धार, उपचार र समन्वयका लागि सुर्खेतलाई मुख्य र नेपालगन्जलाई सहायक केन्द्र तोकी आवश्यकतानुसार साधन स्रोत परिचालन गर्ने निर्णय गरेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । खोज तथा उद्धार कार्य र राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समितिमार्फत एकद्वार प्रणालीबाट परिचालन गर्ने, जाजरकोट र रुकुम पश्चिमका जिल्ला विपद् व्यवस्थापन कोषमा रु पाँच–पाँच करोड तत्काल पठाउने, खोज उद्धार तथा शव व्यवस्थानको विशेष तालिमप्राप्त टोली प्रभावितस्थलमा पठाउने भूकम्पका कारण अवरुद्ध भएका सडक तत्काल खुलाउन आवश्यक व्यवस्था मिलाउने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ । उक्त बैठकले विपद् व्यवस्थापन कार्यमा सहयोगका लागि मित्रराष्ट्र तथा विदेशी नियोगबाट प्राप्त भएका सद्भावयुक्त प्रस्तावका लागि कृतज्ञता व्यक्त गर्दै थप विवरण र क्षतिका आधारमा आवश्यक परेमा पछि अनुरोध गरिने निर्णय गरेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।
मन्त्रालयले विपद्को अवस्थामा खोज, उद्धार र राहतका लागि क्रियाशील जनप्रतिनिधि, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, गैरसरकारी तथा निजी क्षेत्र, सङ्घसंस्था तथा व्यक्ति र यस कार्यमा सूचना सम्प्रेषण गरी सहयोग गर्ने सञ्चारकर्मीलाई धन्यवाद व्यक्त गरेको छ । मन्त्रालयले मानवीय संवेदनालाई ख्याल गरी सत्य, तथ्य र आधिकारिक सूचना सम्प्रेषण गर्न र प्रदान गरिने सहयोगलाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत एकद्वार प्रणालीबाट परिचालन गर्नसमेत सबैमा अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्