Pokharapatra National Daily

कास्कीमा पनि डेंगु संक्रमण बढ्दो, सचेत रहन सुझाव

कास्कीमा पनि डेंगु संक्रमण दर बढ्दो रुपमा रहेको छ । कास्कीमा हाल १ हजार ४ सय भन्दा बढी जनामा डेंगु संक्रमण देखा परेको स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बद्री आचार्यले बताए ।
कास्कीमा डेंगु संक्रमण दर बढ्दो रुपमा रहेकोले अझै केही समय यस रोगबाट बच्न र बचाउन सचेतना आवश्यक भएको उनको भनाई छ । कास्कीमा हालसम्म १ हजार ४ सय ८१ जनामा डेंगु संक्रमण देखा परेको गण्डकी प्रदेशको सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेशकै सबै भन्दा ठुलो सामुदायिक अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि हिजोआज डेंगु संक्रमणका बिरामीहरु आउने क्रम जारी रहेको अस्पतालका निर्देशक डा. भरतबहादुर खत्रीले हामीलाई बताए । उक्त अस्पतालमा हाल २ जना सघन उपचार कक्ष (आईसियू) मा सहित गरी ११ जना डेंगु संक्रमणका बिरामीको भर्ना गरी उपचार हुँदै गरेको अस्पतालका बरिष्ठ मेडिकल रेकर्डर अधिकृत भिम प्रसाद पौडेलले जनाए ।
यसैबिच, गण्डकी प्रदेशमा हालसम्म ६ हजार ७ सय ७८ जनामा डेंगु संक्रमण देखा परेको छ । चालु आर्थिक बर्षको हालसम्म मुस्ताङ बाहेक १० जिल्लामा देखिएको उक्त तथ्याङक अनुसार डेंगु संक्रमणबाट हालसम्म प्रदेशमा ५ जनाको मृत्यु भएको गण्डकी प्रदेशको सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेशको सबै भन्दा धेरै तनहुँमा र हालसम्म एक जनामा पनि डेंगु संक्रमण देखा नपरेको जिल्ला मुस्ताङ रहेको गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.मधुरजी ढकालले बताए । प्रदेशको राजधानि रहेको पोखरा क्षेत्रमा समेत यसको संक्रमण दर बढेको उनकोे दाबी छ ।
गण्डकी प्रदेशको तनहुँमा सबै भन्दा धेरै ४ हजार ६ सय ५१ जनामा डेंगु संक्रमण देखा परेको छ । हिमाल पारीको जिल्ला मनाङमा भने ६ जनामा डेंगु संक्रमण देखा परेको छ । त्यसै गरी सबै भन्दा थोरै पर्वतमा ४ जनामा डेंगु संक्रमण देखा परेको सूचना अधिकारी डा. ढकालले जनाउनु भयो । त्यसै गरी गोर्खामा यस बर्ष १ सय ७४ जनामा, लमजुङमा १ सय ४०, नवलपुरमा १ सय १०, स्याङ्जामा ५६, म्याग्दीमा ९२, बागलुङमा ६४ जनामा डेंगु संक्रमण देखा परेको उनले जनाए । स्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुख एकनारायण लम्सालले केही समय अघि २ जनामा डेंगु संक्रमण देखा परेको बताए ।
गण्डकी प्रदेशका यस बर्ष हालसम्म डेंगु संक्रमणबाट ५ जनाको मृत्यु भएको सूचना अधिकारी ढकालले बताए । अझै पनि पानी परि रहेकोले गर्दा डेंगु संक्रमणको जोखिम अझै कायमै रहेकोले पूर्व सावधानि अपनाउने र संक्रमण भएमा चिकित्सकको सल्लाहमा मात्र औषधि लिन सूचना अधिकारी ढकालले उल्लेख गरे ।

प्रतिकृया दिनुहोस्