Pokharapatra National Daily

पोखराबाट यात्रुबाहक बसको अग्रिम टिकट बुकिङ खुल्ला

पोखरा क्षेत्रबाट पनि यातयात व्यवसायिहरुले नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ–दीपावलीको अवसरमा यात्रु बाहक बसको अग्रिम टिकट बुकिङ खुल्ला गर्नु भएको छ ।
विभिन्न ठाँउबाट कामको शिलशिलामा विभिन्न जिल्ला पुगेकाहरु आफ्नो घर फर्किने दशैंको दिन नजिकीदै जादा यातयात व्यवसायीहरुले सुविधा दिने उद्धेश्यले अग्रिम टिकट बुकिङ खुल्ला गर्नु भएको हो ।
पृथ्बीराजमार्ग बस संचालक कम्पनी प्रा.लि.ले आइतबार देखि नै पोखरादेखि देशका विभिन्न स्थानमा जानको लागि तथा पोखरा तर्फ आउनको लागि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको प्रा. लि.का अध्यक्ष योगेन्द्र केसीले बताउनुभयो । अन्य दिनमा दैनिक जसो ४ सय वटा यात्रु बाहक बस तथा माइक्रो बस एवं हाइस गाडीहरु संचालन हुने भए पनि दशैंको अवसरमा ५० प्रतिशत अतिरिक्त गाडीहरुको माग हुने गरेको उहाँले बताउनु भयो । प्रा.लि.बाट हाल अनलाईन बुकिङ समेत गर्न सकिने व्यबस्था मिलाएको बताउदै अध्यक्ष केसीले प्रा. लि.का काउण्टरहरुबाट अग्रिम टिकट बुकिङ गर्ने गरेको बताउनुभयो । पोखराबाट धरान तर्फ जानेहरुको अत्याधिक अग्रिम टिकट बुकिङको माग हुने बताउदै अध्यक्ष केसीले त्यसै गरी काकरभिट्टा, विराटनगर, कटारी, धनगढी लगायतको क्षेत्रमा समेत जानको लागि अग्रिम टिकट बुकिङ हुने गरेको जनाउनु भयो । दशैंको अवसरमा यात्रुहरुको सेवालाई मध्यनजर गरी प्रा.लि.ले अग्रिम टिकट बुकिङ सहित अनलाइनबाट समेत अग्रिम बुकिङ गर्न सकिने व्यबस्था मिलाएको छ । रात्रीकालिन सेवा सहित देशका २७ ठाँउबाट हाल प्रा.लि.मा आबद्ध बसहरु छुट्ने गरेको अध्यक्ष केसीले जनाउनु भयो । यदी यात्रुको माग धेरै भएमा आफुहरुले सोही अनुसार बस सेवाको व्याबस्था मिलाउने उहाँले जनाउनु भयो । सोमबारदेखि देशका धेरै ठाँउमा अग्रिम टिकट बुकिङ खुल्ला गरिएसंगै टिकट लिनेहरुको विहानैदेखि भिडभाड भएको छ । हुम्ला र जुम्ला बाहेक अधिकांश जिल्लामा प्रा.लि.द्धारा संचालित एक हजार ३ सय भन्दा बढी बसहरु आफुहरुसंग भएकोले यात्रुको चाप अनुसार समितिले सेवा दिन तयार रहेको अध्यक्ष केसी जनाउनुभयो । यसैबिच, पर्यटक बस संचालन गर्ने संस्था नाट्टा गण्डकीले दशैं पर्व लक्षित गरी यस बर्ष करिब ८० प्रतिशत यात्रु बाहक बस तथा माइक्रो बस संचालन गर्ने तयारी गरेको नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले बताउनु भयो । कोभिड १९ पछि करिब ५० प्रतिशत मात्र आफ्ना सवारी साधनहरु संचालन भएको अबस्थामा हाल यात्रुको माग भए अनुसार ८० प्रतिशतसम्म संचालन गर्ने गरी तयारी गरेको उहाँले बताउनु भयो । सडक स्तरोन्नतीका कारण पोखरा काठमाण्डौंको बाटो करिब १० देखि १२ घण्टा लाग्ने भएको कारणले गर्दा यस पाली दशैंको अवसरमा पोखरा क्षेत्रमा कम पर्यटक आउन सक्ने अध्यक्ष अधिकारीले जनाउनु भयो । आफुहरुको अनलाईन सहित अग्रिम टिकट बुकिङ जहिले पनि खुल्ला हुदै आएको उहाँले जनाउनु भयो । नाट्टा गण्डकीमा करिब ६० वटा यात्रु बहाक सवारी साधनहरु रहेका छन् ।

प्रतिकृया दिनुहोस्