Pokharapatra National Daily

डिजल भण्डारण गृह निर्माणले ऊर्जा सुरक्षा सुनिश्चित गरेको छः मन्त्री रिजाल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पोखरामा इन्धन भण्डारण गृह निर्माणले मुलुकको ऊर्जा पूर्वाधारलाई सुदृढ गर्दै राष्ट्रको ऊर्जा सुरक्षा सुनश्चित गरेको बताउनुभएको छ ।
कास्कीको पोखरा महानगरपालिका वडा नं २९ र ३० गगनगौँडामा नेपाल आयल निगमले निर्माण गरेको डिजल भण्डारण गृहको आज उद्घाटन गर्दै मन्त्री रिजालले यस डिपोमा विस्तारित भण्डारण क्षमताबाट अन्य क्षेत्रले पनि फाइदा लिन सक्ने बताउनुभयो । निगमले उक्त स्थानमा निर्माण गरेको १० हजार किलोलिटर क्षमताका दुई वटा डिजल भण्डारण र २४ हजार किलोलिटर क्षमताको पानीट्याङ्कीको आज उद्घाटन गरिएको हो । निगमले करिब रु ८९ करोड लगानीमा उक्त भण्डारण गृह निर्माण गरेको जानकारी दिएको छ । “नेपाल आयल निगमले निर्माण गरेको यस डिजल भण्डारण गृह निर्माणले यस क्षेत्र तथा परिआएको अवस्थामा देशका अन्य क्षेत्रका लागि समेत थप भरपर्दो आपूर्ति शृङ्खला सुनिश्चित गर्न र उच्च माग वा अप्रत्याशित परिस्थितिमा इन्धन अभावको जोखिमलाई कम गर्न सक्छ”, मन्त्री रिजालले भन्नुभयो । उहाँले इन्धन भण्डारण गृह निर्माणले ऊर्जा पूर्वाधार विकास तथा देशको उड्डयन क्षेत्रलाई थप प्रगतिको पथमा अघि बढाउने एउटा महत्त्वपूर्ण घडीको सुरुआत भएको बताउनुभयो । यसका लागि परियोजना निर्माणमा संलग्न सबैलाई मन्त्री रिजालले धन्यवाद दिनुभयो । “हालैका वर्षमा नेपालको आन्तरिक र अन्तर्राष्ट्रियरूपमा हवाई यात्रामा वृद्धि हुँदै गइरहेको अवस्था छ । मनमोहक हिमाल र शान्त तालको बीचमा रहेको सुन्दर नगरी पोखरा पर्यटकीय गन्तव्य बन्दै गएकोमा हवाई यात्राको बढ्दो मागलाई समायोजन गर्न निर्माण हुने हवाई इन्धन डिपोले थप सहजता ल्याउने छ”, उहाँले भन्नुभयो, “डिपो सञ्चालन पश्चात निगमले उड्डयन उद्योगलाई विश्वस्तरीय हवाई इन्धन र रिफ्युलिङ सुविधाहरू उपलब्ध गराउनेमा विश्वास लिएको छु ।”
यस हवाई इन्धन डिपोको निर्माण तथा सञ्चालनले पोखरालाई मात्र नभई सिङ्गो राष्ट्रलाई नै फाइदा पुग्ने उहाँको भनाइ छ । यसले पर्यटन प्रवर्द्धन र आर्थिक वृद्धिलाई समेत प्रोत्साहन गर्ने भन्दै उहाँले देशको सामाजिक–आर्थिक विकासमा थप योगदान पु¥याउने भनाइ व्यक्त गर्नुभयो ।
“हवाई इन्धन तथा अन्य पेट्रोलियम पदार्थको सहज र निर्वाध आपूर्ति सुनिश्चित गर्न, हवाई इन्धनको सहज आपूर्ति व्यवस्थापन गर्न र समयसापेक्ष पूर्वाधारहरूको विकास गर्ने कार्यमा नेपाल सरकार र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट निगमलाई सदैव सहयोग हुने व्यहोरा जानकारी गराउँदछु”, उहाँले भन्नुभयो ।
पेट्रोलियम ऊर्जामा पहुँच अभिवृद्धि कार्यले औद्योगिक विकासलाई अगाडि बढाउन, नागरिकहरूको जीवनस्तर सुधार गर्न तथा नवप्रवर्तन र अवसरको वातावरण बनाउन अत्यन्त महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँले धारणा राख्नुभयो । उहाँले भण्डारण ट्याङ्कहरू डिजाइन र निर्माणमा आधुनिक प्रविधिहरू र उत्कृष्ट अभ्यासको समावेशले निगमको वितरण प्रणालीमा थप चुस्तता ल्याई कार्यसम्पादन सहज हुने विश्वास लिएको बताउनुभयो ।
नव निर्मित ट्याङ्कहरूमा जडित उच्च सुरक्षा मापदण्डहरू, स्वचालित नियन्त्रण उपायहरू र प्रभावकारी निगरानी प्रणालीहरूले इन्धनको भण्डारण र वितरणलाई सहज बनाउने उहाँको विश्वास छ । “पोखरा डिपोमा निर्मित यी इन्धन भण्डारण ट्याङ्कीले नेपालको ऊर्जा सुरक्षा, आर्थिक वृद्धि र दिगो विकासतर्फको यात्रामा महत्त्वपूर्ण योगदान दिन सफल रहोस्”, मन्त्री रिजालले भन्नुभयो, “पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपो समयमै निर्माण सम्पन्न गर्न सबै सरोकारवालाहरूको ध्यान पुगोस ।”

प्रतिकृया दिनुहोस्