Pokharapatra National Daily

‘कर्म–कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार’ बाट श्रेष्ठ सम्मानित

नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई यस वर्षको ‘कर्म–कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार–२०८०’ अर्पण गरिएको छ ।
तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म गुरुङको बैवाहिक वर्ष गाँठको अवसरमा प्रदान गरिँदै आएको सो पुरस्कार एभरेस्ट एफएम / एभरेस्ट आवाजलाई डटकमका सम्पादक रहेका श्रेष्ठलाई प्रदान गरिएको हो । प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुड. र पुरस्कार दाता कर्मकुमारी गुरुङले नगद राशी रु १० हजार, फेटा, भाङ्ग्रा, सम्मानपत्रले सम्मान गरेका थिए । पत्रकार हुमबहादुर गुरुङको संयोजकत्वमा एम.बि आस्था मगर, शान्ति गुरूङ, उदय अमात्य र दिल प्रसाद गुरुङको छनौट समितिले एभरेस्ट आवाज डटकमका सम्पादक एवं एभरेस्ट एमएमका बरिष्ठ प्रस्तोता श्रेष्ठलाई सिफारिस गरेको थियो ।
तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुले स्थापना गरेको सो पुरस्कार आदिवासी जनजाती पत्रकार संघ (फोनिज) कास्कीले सञ्चालन गर्दै आइरहेको छ । यसअघि, सो पुरस्कारबाट रीता गुरुङ, हर्क आले, शान्ति गुरुङ, तिलक पुन, राजबहादुर गुरुङ, मानबहादुर घर्तिमगर (एमबी आस्था), हुमबहादुर गुरुङ, उदयबहादुर अमात्य र रुद्रबहादुर श्रीस पुरस्कृत भइसकेका छन् ।
फोनिज कास्कीका अध्यक्ष दिलप्रसाद तमुको अध्यक्षतामा भएको सोही कार्यक्रममा नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखे, तमु घिं नेपाल का अध्यक्ष हुम बहादुर गुरुङ , सम्मानित पत्रकार दीपेन्द्र श्रेष्ठ ,पत्रकार शान्ति गुरुङ , विनु थापा, सुशील श्रेष्ठले आदिवासीजनजातिको अधिकार र संचारकर्मीको भूमिकाबारे चर्चा गरेका थिए । सोही अवसरमा नवगठित तमु संचारकर्मी संघ कास्की र तामाङ पत्रकार संघ कास्कीका कार्यसमिति सदस्यहरूलाई सांसद मन बहादुर गुरुङ र तमु घिं नेपाल का संस्थापक अध्यक्ष कर्म कुमारी गुरुङले सम्मान सहित बधाई ज्ञापन गरिएको थियो ।

प्रतिकृया दिनुहोस्