Pokharapatra National Daily

गुणात्मक शिक्षाको लागि काठमाडौं विश्वविद्यालयसँग सम्झौता

पोखराका निजी सात विद्यालयले गुणात्मक शिक्षाको लागि काठमाडौं विश्वविद्यालयसँग शनिवार सम्झौता गरेका छन् ।
काठमाडौं विश्वविद्यालयको शिक्षा संकायका डिन डा बालचन्द्र लुइँटेल र पोखराका सात विद्यालयले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर गर्नेहरुमा हिलप्वाइन्ट स्कुलका प्रिन्सिपल दिवाकर जैसी, हार्वड एकेडेमीका प्रिन्सिपल श्रीकृष्ण अधिकारी, पोखरा लर्नस एकेडेमीका प्रिन्सिपल विधान गौतम, सोसल पब्लिक स्कुलका निर्देशक खेम गुरुङ, प्रगति स्कुलका प्रिन्सिपल महेन्द्र थापा, भाष्कर मेमोरियल स्कुलका निर्देशक विश्वराज बास्तोला र डायमन्ड स्कुलका निर्देशक माधवशरण उपाध्याय रहेका छन् । सम्झौतापछि काठमाडौं विश्वविद्यालयले विद्यालयहरुमा शिक्षकहरुको सिकाइ र सहयोग कार्यक्रम बढाउन पहल गर्ने, विद्यालयहरुको आवश्यकता विश्लेष्णको आधारमा ४८ घन्टाको पाठ्यक्रमको ढाँचा तयार गर्ने, अधुरा कार्यहरुको विश्लेषण, पाठ्यक्रम, मूल्यांकन, नेतृत्व दुरदृष्टि र विद्यालयहरुको मिसनसँग सम्बन्धित प्रश्नहरुमा काम गर्ने, समयसमयमा कार्यशाला, प्रशिक्षणमार्फत स्रोत, उपकरण र पाठयोजनाको निर्माण र विकास गर्ने, शिक्षकहरुको सिकाइ अभिवृद्धि गर्न सहयोगको रुपमा काम गर्ने र आवश्यकता अनुसार प्राविधिक सहयोग गर्ने भएको छ । विद्यालयहरुले निरन्तर र व्यावसायिक शिक्षा कार्यक्रमको पाठ्यक्रममा संलग्न सबै खर्चहरु प्रबन्ध गर्ने छन् । पाठ्यक्रम÷कार्यशाला र प्रक्षिक्षण मार्फत शिक्षक र शैक्षिक नेतृत्वलाई सबलीकरण गर्ने, शिक्षकहरुको लागि प्रगतिशील र प्रोत्साहनजनक वातावरण सिर्जना गर्ने दायित्व विद्यालयहरुको हुने सम्झौता छ । उक्त सम्झौतापछि पोखराका विद्यालयका शिक्षकहरु विभिन्न तालिममा सहभागी हुने छन् । सम्झौता कार्यक्रममा काठमाडौं विश्वविद्यालयका डीन डा लुइँटेलले सुखद सिकाइको वातावरण दिन चाहने शिक्षकको आवश्यता औंल्याए । ‘शिक्षणको सबैभन्दा ठूलो चुनौती मनस्थिति हो,’ उनले भने, यसको समस्या के भने मेरो मनस्थितिमा समस्या छ भन्ने नै थाहा हुँदैन ।’ शिक्षकले भनेको सुनेर थाहा पाउने÷बुझ्ने विद्यार्थी भनेको केवल ५ प्रतिशत हुन्छन्,’ उनले भने, तर हामी त्यही तरिकाले मात्रै सिकाउन खोजिरहेका छौं, ९५ प्रतिशतले विभिन्न ढंगले सिक्छन्, तिनीहरुमाथि बेवास्ता भइरहेको छ ।’ डा. लुइँटेलले वताए । डायमन्ड स्कुलका निर्देशक माधवशरण उपाध्यायले शैक्षिक सहकार्य र नेतृत्व विकास गर्दै विद्यालयको शैक्षिक स्तर वृद्धिका लागि सम्झौता फलदायी हुने विश्वास व्यक्त गरे । भाष्कर मेमोरियल स्कुलका निर्देशक विश्वराज बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा डीन डा लुइँटेलसँग उनीहरुले सम्झौतापत्र आदानप्रदान गरे । सहप्राध्यापक डा पार्वती ढुंगाना, प्रशिक्षक रविना महर्जन, रेजिना केसी र सन्दीप ढुंगानासमेत सम्झौता समारोहमा उपस्थित थिए । यसअघि उनीहरुले विद्यालयका शिक्षकहरुलाई प्रशिक्षण दिएका थिए । दुई दिन सम्म चलेको कार्यक्रममा विद्यालयका संचालक, हरेक तहका संयोजक, विषय शिक्षक, प्रिन्सिपल, डिन लगायत ७० जनाको सहभागीता रहेको हिलप्वाइन्ट स्कुलका प्रिन्सिपल दिवाकर जैसीले पोखरापत्रलाई वताए । पाठ्यक्रम विकास, पाठयोजना निर्माण, पृष्ठपोषण, विद्यार्थीको सिकाई उपलब्धि लगायत शीर्षकमा केन्द्रित रही प्रशिक्षण भएको प्रिन्सिपल जैशीले भने । सो कार्यक्रमको संचालन प्रगति स्कुलका संचालक जयराम पौडेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्