Pokharapatra National Daily

पोखरा १२ लालीगुराँस शान्तीटोलमा सिसिटिभी क्यामरा जडान

पोखरा महानगरपालिका वडा नं १२ स्थित लालीगुराँस शान्तिटोल भित्र सिसिटिभी क्यामरा जडान गर्ने कार्य सम्पन्न भएको छ । टोलभित्र हुनसक्ने अपराधिक क्रियाकलाप न्यूनिकरण गर्न¸ विभिन्न प्रकारका घटना तथा दुर्घटना नियन्त्रण गर्न, टोल भित्र शान्ति सुरक्षा कायम गर्न तथा टोललाई स्मार्ट टोल बनाउन सडकका मुख्य ६ चोकहरुमा सिसिटिभी क्यामरा जडान गरेको टोल विकास संस्थाका सचिव होमनाथ निरौलाले बताए ।

सिसिटिभी क्यामेरा जडानपछि अपाराधिक क्रियाकलाप न्यूनिकरण हुनेमा टोल विकास संस्थाका अध्यक्ष रुद्र न्यौपानेले विश्वास व्यक्त गरेका छन् । “अहिले महानगरका वडाभित्र विभिन्न टोलहरुमा बढ्दो बजारीकरणका कारण धेरै चोरीका घटना पनि हुने गरेका छन्”, उनले भने, “त्यस्ता घटना नियन्त्रण गर्न हामीहरुले टोल भित्र सम्भावित घटना हुने ठाउँमा सिसिटिभी क्यामरा जडान गरेका हौँ । आवश्यता अनुसार टोलका अन्य चोकमा पनि विस्तारै जडान गरिनेछ ।” टोल विकास संस्थाका सल्लाकार फणीनारायण भट्टराईले टोललाई व्यवस्थित गर्न सिसीटिभि क्यामराले ठूलो टेवा पुर्याउने जानकारी दिए। टोल भित्र हुने अपराधिक घटना¸ दुर्घटना¸ झगडा¸ चोरी साथै नगरपालिकाले बनाएका नीति नियमलाई पालन नगरेको पाइएकोमा अब सिसिटिभी क्यामरामार्फत निगरानी गर्ने भट्टराईको भनाइ छ । यसले जथाभावी फोहर फाल्ने, तोडफोड हुने घटनाहरु समेत न्यूनिकरण हुने उनले बताए ।

टोल विकास संस्थाको निवेदन र वडा नं १२ को कार्यालयको सिफारीसमा पोखरा महानगरपालिकाले सिसिटिभी जडान गर्ने कार्यको लागि रु १ लाख बरावरको आवश्यक सामाग्रीहरु प्रदान गरेको थियो ।

प्रतिकृया दिनुहोस्