आज : २०२६-०८-२८, शुक्रबार

भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला   

रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५४७ पुगेको छ । विभिन्न जिल्लाबाट अहिलेसम्म एक जना प्रहरीसहित ५४७ जनाको शव फेला परेको नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार रसुवामा १३, धादिङमा ४०, तनहुँमा २९, नुवाकोटमा ३८, गोरखामा ४४, चितवनमा २२१, नवलपरासीपूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म एक हजार ४७३ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबाट तीन जना रहेका उहाँले जानकारी दिनुभयो ।

बाढीमा परी घाइते भएकालाई विभिन्न स्थानबाट उद्धार गरी केहीलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । प्रहरीका अनुसार काठमाडौँका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका गरी हालसम्म ९४ जना रहेका छन् ।

बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भन्सार कार्यालय तथा अध्यागमन कार्यालयका कर्मचारीसमेत सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालय टिमुरेका १५ र अध्यागमन कार्यालय टिमुरेका चार कर्मचारी हालसम्म सम्पर्कविहीन छन् ।

बाढीमा परी सर्वसाधारणसहित हालसम्म दुई हजार ३८१ जना सम्पर्कविहीन रहेका प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायत सम्बन्धित निकायका सुरक्षाकर्मीले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धारकार्य जारी राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%

सम्बन्धित थप पोस्टहरू