Pokharapatra National Daily

फेवातालको सिंसार क्षेत्रमा चल्यो डोजर

ढिलै भए पनि अन्ततः पोखराको फेवातालको सिंसार क्षेत्रमा चल्यो डोजर । पोखराको सिंसार क्षेत्रमा अनधिकृत रुपमा निर्माण भएका भौतिक संरचना भत्काउन मंगलबार देखि डोजर चलाइएको छ ।
फेवातालको माथिल्लो भाग सिंसार क्षेत्रमा हाल धमाधम निर्माण हुदै गरेका प्लटिङहरुको भौतिक संरचनाहरु पोखरा महानगरले डोजर लगायर भत्काउन सुरु गरेको हो । केही महिनादेखि सिंसार क्षेत्रमा स्थायी रुपमा निर्माण गर्ने गरी भौतिक संरचना निर्माण प्रकृया अघि बढाएकोले त्यसलाई नियन्त्रण गर्न मंगलबार देखि डोजरको सहायताले निर्माण भएका प्लटिङहरु भत्काइएको पोखराका मेयर धनराज आचार्यले बताए ।
मेयर आचार्यले सिंसार क्षेत्र पुरिएको बिषयमा भने पछि विज्ञहरुसंगको राय सल्लाह अनुसार आवश्यक कार्वाही अघि बढाउने बताए । युवा व्यवसायी युवराज खतिवडाले करिब ५ सय रोपनी जग्गालाई कृषियोग्य जमिन बनाउने भन्दै स्थानीयको जमिनमा माटो पूर्दै आएका छन् । सिंसार क्षेत्रमा अर्को युवा व्यवसायी देवेन्द्र केसीले पहिल्यै पिच सहितको प्लटिङ गरिसकेका छन् । पोखरा महानगरले भू–उपयोग नीति २०७९ अनुसार जग्गा वर्गीकरण गर्दा फेवा सिमसार क्षेत्रको अधिकांश भाग आवासीय क्षेत्र तोकेकोले आफुले आवास क्षेत्र बनाउन पाउनु पर्छ भन्दै स्थानियले केही दिन पोखरा महानगरपालिका कार्यालयमा धर्ना समेत दिएका थिए ।
महानगरले सिमसार क्षेत्र उल्लेख नगर्दा धमाधम सिमसार पुर्ने काम भएको स्थानियले देविलाल लामिछानेले बताए । पोखरा २३ मा पर्ने फेवातालको भाग मरुवा, विर्ता लगायतको क्षेत्रमा सयौं रोपनी सिंसार क्षेत्र पुर्दै प्लटिङ गर्न सुरु भएको छ । पोखरा महानगरपालिकाले कोहीलाई सो क्षेत्रमा जग्गा पुर्दा केही नगर्ने केहीलाई पुर्न नदिने गरेको स्थानिय एक जग्गा धनि लामिछानेले बताए । उनले भने “मेरो जग्गा तालको माथिल्लो भागमा रहेको छ, मेरो जग्गा वरीपरि सबैले माटो हालेर करिब ५ फिट माथि उकासेको अबस्था छ अब मेरो जग्गा खाल्टोमा र सिधै डुवानमा पर्ने भयो, अब अरुले पुर्न पाउने अब मैले किन नपाउने ।” मान बहादुर जिसीका पाला देखि पोखराको फेवाताल माथि अतिक्रमण र तालको सिंसार क्षेत्रमा माटो तथा ढुंगा पुर्ने काम थालनी भएसंगै पछिल्लो क्रममा त्यसको प्रभाव बढेको छ ।
नेकपा एमालेका मेयर बन्दा फेवातालमा जति आक्रमण र सिंसार क्षेत्रमा पुर्ने र आवासिय क्षेत्र बनाउने कार्य भयो त्यसको तुलनामा हिजोआज रातारात फेवाताल अतिक्रमणसंगै तालको सिंसार क्षेत्रमा दलदल भाग पुर्ने काम भएको स्थानियले गुनासो गरेका छन् । ढिलै भए पनि पोखराका मेयर आचार्यले सिंसार क्षेत्रमा भौतिक संरचना बनाउने बिरुद्ध डोजर चलाए पनि अब पुरिएको सिंसार क्षेत्र के गर्लान भनेर पोखरेलीले प्रश्न गर्न थालेका छन् ।

प्रतिकृया दिनुहोस्