
गण्डकी प्रदेशकी उर्जा जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले गण्डकी प्रदेश भित्र लिफ्टीङ खानेपानीको विद्युत महशुल निशुल्क गराउने बताएकी छन् ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले विहीबार पोखरामा आयोजना गरेको नेपालमा उर्जा उत्पादनको सम्भावना र गण्डकी प्रदेशको दिगो विकासको लागि उर्जा विषय छलफल कार्यक्रमको उद्घाटन गर्दै मन्त्री तिवारीले उक्त कुरा बताएकी हुन् ।
अझै प्रदेशका २ हजार ८ सय ८४ घर धुरीमा विद्युत सेवा पुग्न बाँकी रहेको उनले बताइन् । गण्डकी प्रदेशलाई उज्ज्यालो प्रदेश बनाउने अभियान अन्र्तगत ९९.५ प्रतिशत विद्युत तथा सोलारलाइट सेवा पुगेको मन्त्री तिवारीले जनाइन् ।
प्रदेश सरकारको यो अभियानलाई निजी क्षेत्रले समेत सहकार्य गरी आफ्नो सामाजिक उत्तरदाहित्व बोध गर्न उनले आग्रह गरिन् । विद्युत ऐन समयमै संसोधन नहुदा आन्तरिक बजार व्यबस्थापनदेखि उत्पादन भएको विद्युत विक्री गर्न सम्म समस्या भएको मन्त्री तिवारीले बताइन् ।
विद्युत क्षेत्रमा ठुलो बदमासी भएको आरोप लगाएकी उनले विद्युतको पोलमा अनावश्यक रुपमा इन्टरनेट र केवलका तारहरु झुण्डायर बजारमा अव्यबस्थित भएको जनाइन् । विद्युत पोलमा यसरी अन्य निजी क्षेत्रका तारहरु राख्नदिनु कति उचित हो भन्दै उनले प्रति प्रश्न समेत गरिन् ।
इप्पानका अध्यक्ष कृष्ण आचार्यले नेपालको पानी समृद्धिको खानी भएको दाबी गरे । २०४९ सालदेखि हालसम्म करिब २९ बर्षको अन्तरालमा जलविद्युतको क्षेत्रमा निजी क्षेत्रले ठुलो लगानी गरेको दाबी गरे । गण्डकी प्रदेशका कुनै वडा वा पालिकालाई ग्याँस मुक्त क्षेत्र घोषणा गरी विद्युत पर्यटनको सम्भावनालाई उजागर गर्न अध्यक्ष आचार्यले आग्रह गरे ।
इप्पान गण्डकीका अध्यक्ष जगत पोखरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेशका सांसद, प्रदेशका केही गाँउपालिकाका अध्यक्ष, केही वडाका वडा अध्यक्ष, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।
पुरानो विद्युत एन भएको कारण स्थानिय, प्रदेश र संघिय सरकारसंगको समन्वय सहकार्यको अभावमा धेरै आयोजनाहरु प्रभावित भएको बताइएको छ ।