Pokharapatra National Daily

मदन भण्डारीको आदर्शलाई झुक्न दिने छैनौँ– नेता ज्ञवाली

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले माक्र्सवादका अभियन्ता मदन भण्डारी र जीवराज आश्रितका आदर्शलाई कमजोर हुन नदिने बताउनुभएको छ ।
नेकपा (एमाले) कास्कीद्वारा आज पोखरामा आयोजित मदन–आश्रित ३०औँ स्मृति दिवसका अवसरमा नेता ज्ञवालीले भन्नुभयो, “उहाँहरूले कोर्नुभएको बाटोलाई अझ फराकिलो पार्दै जानेछौँ ।” तीस वर्ष बितिसक्दा पनि चितवनको दासढुङ्गाको घाउ अझै निको भइनसकेको उहाँको भनाइ थियो । “राष्ट्रवादी नेता भण्डारीको सम्झना देशमा राजनीतिक संकट पर्दा आउने गर्छ”, नेता ज्ञवालीले भन्नुभयो, “राष्ट्रियताको बलियो आवाज चाहिएकै बेला उदाउनुभएका नेता भण्डारी ४० वर्षकै उमेरमा बित्नुभयो ।” सार्वजनिक जीवनमा आएको तीन चार वर्षमै जनतामाझ ख्याति कमाउनुभएका नेता भण्डारीको निधनले एमालेलाई अपुरणीय क्षति मात्र नभई बलियो अभिभावक गुमाउनु परेको छ भन्दै नेता ज्ञवालीले भन्नुभयो, “एकाधिकार पूँजीवादको अन्त्य गरी राष्ट्रिय पूँजीवादको निर्माणमा उहाँको योगदान महत्त्वपूर्ण छ ।” एमाले नेता एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले राष्ट्रिय स्वाभिमानका लागि लड्नुभएका नेता मदन भण्डारीले देखाएको बाटोबाट पार्टी अगाडि बढ्ने बताउनुभयो । जनताको बहुदलीय जनवादको प्रतिपादक भण्डारीको हत्याका बारेमा अझै पनि सत्यतथ्य आउन नसक्नु विडम्बना भएको अधिकारीले बताउनुभयो । उहाँले पछिल्लो समय सङ्घीयतामाथि नै प्रहार भइरहेका बेला सङ्घीयता जोगाउने दायित्व लोकतन्त्रवादीको छ भन्नुभयो ।

प्रतिकृया दिनुहोस्