Pokharapatra National Daily

‘केन्द्रका पार्टीबीचको समस्याले प्रदेशमा प्रभाव पर्नु गलत’

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकार छुट्टै सरकार हुन् भन्ने कुराको अनुभूति सबैमा हुनुपर्ने बताउनुभएको छ ।
प्रदेश सरकारका सन्दर्भमा स्वतन्त्र निर्णय गर्ने सामथ्र्य प्रदेशको हुनुपर्ने उहाँले बताउनुभयो । संसद्मा विश्वासको मत लिनु अघिल्लो दिन शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी उहाँले भन्नुभयो, “नेपाल सरकारको छायाँ प्रदेश सरकारमा परेको छ, केन्द्रका पार्टीबीचको समस्याले प्रदेशमा पनि प्रभाव पर्नु गलत हो, यसले सङ्घीयता बलियो बनाउँदैन ।” मुख्यन्त्री अधिकारीले संविधानको पालनाका लागि जुनसुकै जोखिम उठाउनसमेत आफू तयार रहेको स्पष्ट पार्नुभयो । “हामीमा सत्तामोह छैन, मात्र अस्थिरता नहोस् भन्ने पक्षमा छौँ, संविधान आफ्नो अनुकूल ब्याख्या गर्ने विषय होइन पनि होइन, संविधानको पूर्ण पालनाको पक्षमा छु”, मुख्यमन्त्रीले भन्नुभयो । सरकारले छोटो समयमा पनि सुशासन, विकास तथा गण्डकी प्रदेशको समृद्धिका लागि महत्वपूर्ण कार्य गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशको औचित्यका बारेमा प्रश्न उठिरहेका बेला संविधानले परिकल्पना गरेअनुसार प्रदेशलाई समन्वयकारी र जनताको नजिक रहेर जनताको जनजीविकाको सवालमा बलियोरुपमा प्रस्तुत हुन ठोस कदम चालिएको छ ।”
नेकपा(एमाले) संसदीय दलका नेता मुख्यमन्त्री अधिकारी गत पुस २५ गते एमालेसहित, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
केन्द्रमा एमालेसहितको गठबन्धन परिर्वतन भएपछि गण्डकीमा समेत गठबन्धन परिवर्तन भएको हो । गण्डकी प्रदेशमा गत चैत १० गते नेकपा(माओवादी केन्द्र)ले मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारबाट हटेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री अधिकारीले शनिबार सदनमा विश्वासको मत लिन लाग्नुभएको हो । गण्डकीमा नेपाली कांग्रेसका २७, नेकपा(एमाले)का २२, माओवादी केन्द्रका सभामुखसहित आठ, राप्रपाका दुई र स्वतन्त्र एक सांसद छन् । मुख्यमन्त्री अधिकारीले संसद्बाट विश्वासको मत प्राप्त गर्न नसके उहाँको सरकार ढल्नेछ ।

प्रतिकृया दिनुहोस्